देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भावी प्रधानसेनापतिमा थापा निश्चित

देशान्तर

काठमाडौं । नेपाली सेनाको भावी नेतृत्वलाई लिएर हुने गरेको विभिन्न अड्कलवाजीहरू अब रोकिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका दुई रथी पूर्णचन्द्र थापा र बलदेवराज महतको एक/एक वर्ष म्याद थपेपछि यस्तो अड्कबाजीहरूमा पूर्णविराम लागेको हो । रथीमा एक वर्षको म्याद थपिएपछि पूर्णचन्द्र थापालाई भावी प्रधानसेनापति बन्न बाटो खुला भएको छ ।

वर्तमान प्रधानसेनापति राजेन्द्र क्षत्री थापालाई आफूपछि प्रधानसेनापति भएको हेर्न चाहन्थे । त्यसैले उनले दुई रथीको म्याद थप्ने प्रस्ताव रक्षा मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाए । उनको प्रस्तावलाई सरकारले पनि स्वीकार गर्‍यो । प्रधानसेनापति क्षत्री २०७५ भदौ २४ गते अवकाश हुँदैछन् । उनको अवकाशपछि थापा प्रधानसेनापति हुनेछन् । सैनिक ऐन २०६३ मा रथीको म्याद दुई वर्ष र उमेरको हद ५८ वर्ष हुने व्यवस्था छ । तर ५८ वर्ष पूरा नहुँदै दुईवर्षे कार्यकाल सकिएमा सेनालाई आवश्यक भएको मनासिव आधार र कारण खोली प्रधानसेनापतिले सरकारसमक्ष सिफारिस पठाएमा एक वर्ष थपिने व्यवस्था छ ।

दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी महतको २०७४ साउन ७ मा सकिने दुईवर्षे कार्यकालमा एकवर्षे म्याद थप मन्त्रिपरिषद्बाट स्वीकृत भए पनि कात्तिक १७ गते ५८ वर्ष पुगेसँगै उनले अवकाश पाउनेछन् । एकवर्षे थप अवधि सुरु भएको तीन महिनामै उनले सेवा छाडनुपर्नेछ । यसपछि तेस्रो वरीयतामा रहेका थापा दोस्रो वरीयतामा पुग्नेछन् र भावी प्रधानसेनापतिका रूपमा रहनेछन् ।

बलाध्यक्ष रथी थापाको दुईवर्षे कार्यकाल २०७४ असोज १५ मा सकिँदै छ । थापा २०७५ भदौ २५ मा ५८ वर्ष पुग्नेछन् । प्रधानसेनापति क्षत्रीले २०७५ भदौ २४ मा आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी अवकाश पाउनेछन् । एक दिनको संयोगले थापा प्रधानसेनापति बन्नेछन् र तीन वर्ष नेपाली सेनाको नेतृत्व गर्नेछन् । सरकारले एक महिनाअघि नै नयाँ प्रधानसेनापतिको घोषणा गर्ने र १५ दिनअघि बहालवाला प्रधानसेनापति बिदामा बस्ने प्रचलन छ । कात्तिकमा महतले अवकाश पाएपछि उपरथी हेमन्त कुँवर रथीमा बढुवा हुनेछन् । र, थापा सेनाका दोस्रो वरीयतामा पुग्नेछन् ।