देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीरमा नक्कली कागजातवाला डाक्टरको मिर्गाैला काण्ड

देशान्तर

काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपालको सबैभन्दा पुरानो, ठूलो र ऐतिहासिक वीर अस्पतालमा नक्कली कागजात पेस गरी प्रमुख संवैधानिक अंगमध्येको एक लोकसेवा आयोगलाई समेत झुक्याएर बढुवा हुन खोज्ने एक चिकित्सकले मिर्गाैला बिरामीको शल्यक्रिया गर्दा गरेको त्रुटिबाट एकतर्फ उनको योग्यता त प्रमाणित भएकै छ भने अर्काेतर्फ मुलुककै जेठो अस्पतालको हुर्मत लिने कामसमेत गरिएको छ ।

सरकारले नियमन नगर्दा यस्ता घटनाहरू बेलाबेलामा सार्वजनिक भइरहेका हुन् । आम मानिसको स्वास्थ्यसँग गम्भीर खेलवाडका घटनाहरू भए पनि सरकारको मौनता र बिचौलियाको बिगबिगीका कारण कतिपय अवस्थामा मानिसहरूले निकै नै सास्ती व्यहोर्नु परेको छ । त्यहाँका केही चिकित्सकहरू दलीय राजनीतिको फाइदा र कीर्ते काम गरेर आफ्नो दुनो सोझाउनमा व्यस्त पनि भएको पाइएको छ । देशान्तर साप्ताहिकले केही समयअघि लोकसेवा आयोगलाई पनि झुक्याउन खोज्ने चिकित्सक भनेर प्रमाणित गरेका डा. अनिल श्रेष्ठ फेरि अर्को काण्डमा मुछिएका छन् । विगतमा योग्यता नपुगेरै ११औं तहको बढुवा हुन लागेका श्रेष्ठ अहिले फेरि बिरामीको मिर्गौला प्रत्यारोपणमा गम्भीर लापरवाही गरेको काण्डमा मुछिएका हुन् ।

नेपाल सरकार, स्वास्थ्य सेवामा प्रथम श्रेणी, एघारौं तहमा पुग्ने बाटोहरूमा कि त खुल्ला प्रतियोगिताबाट सिधै आउनुपर्छ होइन भने आन्तरिक प्रतियोगिता वा फाइल बढुवाको बाटो कुर्नुपर्ने हुन्छ । आन्तरिक प्रतियोगिताको परीक्षामा सामेल हुन कि त ५ वर्ष १० तहमा सेवा पुगी एक वर्ष अति दुर्गम वा २ वर्ष दुर्गममा सेवा गरेको हुनुपर्ने प्रावधान छ । होइन भने सुगम क्षेत्रमा ८ वर्ष काम गरेको हुनुपर्छ । कुनै कुनै विषयको सेवा अति दुर्गम वा दुर्गममा नभएकाले त्यस्ता चिकित्सकहरू (डाक्टर) तीन वर्ष सुगममा बसे पनि परीक्षामा सामेल हुन पाउने विशेष व्यवस्था पनि छ ।

यही व्यवस्थाको गलत व्याख्या गराई बठ्याई गर्न खोज्दा वीर अस्पतालका युरोलोजिस्ट डा. अनिल श्रेष्ठ आफू युरोसर्जन भएको र हाल कुनै पनि अति दुर्गम वा दुर्गममा युरो सर्जनको दरबन्दी नभएको भनेर स्वास्थ्य मन्त्रालयबाट चिठी बनाई लोकसेवामा पेस गरी ११औं तहको परीक्षामा सामेल भएका थिए । तर उनको बठ्याई लोकसेवाले थाहा पाएपछि पछि परेका थिए ।

विवादित डा. श्रेष्ठ अहिले युरोलोजिस्टहरूको छाता संगठनको महासचिव पनि हुन् । आफैंले युरोलोजिस्ट र युरोसर्जन भनेको फरक हुन् भनी जग हँसाएका छन् । यस्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा युरोलोजी विभागको संयोजक पनि डा. अनिल श्रेष्ठ नै हुन् । वीर अस्पतालमा सुरुदेखि नै श्रेष्ठ बिरामीलाई उनी कार्यरत बी एन्ड वी र इयामुरा अस्पताल दौडाउने डाक्टर भनेर चिनिन्छन् । अस्पतालमा रहँदा पनि बिरामी हेर्नभन्दा खरिद इकाइमा बसी कमिसनको सेटिङ मिलाउने श्रेष्ठको समाचारहरू धेरै मिडियामा आएका छन् भने अख्तियार र सम्पत्ति शुद्धीकरणमा उजुरी परेका छन् ।

केही नैतिक प्रश्न उठाई पहिले ग्रान्डी अस्पतालले पनि उनलाई निकालेको थियो । उनै श्रेष्ठ आईएस्सी पनि नगरी एसएलसीबाट सीधै मेडिसिन पढी अदालतको सहारामा काम गर्दै आइरहेका छन् । यस्तो गम्भीर गल्ती गर्दा पनि कुनै कारबाही नभोगेका श्रेष्ठ र उनीसँगै रहेका अर्का चिकित्सक पारसमणि श्रेष्ठको टिमले धादिङका दुई बिरामीमाथि गम्भीर लापरबाही गरेको पुष्टि भएको छ ।

बिरामीका आफन्तले अस्पतालले उपचारका लागि माग गरेअनुसार मिर्गौला प्रत्यारोपण गर्नका लागि दाता खोजेर ठिक्क पारेका थिए । चिकित्सकहरूले दाताको मिर्गौला निकालेर बिरामीमा प्रत्यारोपण गर्दा निकालिएको मिर्गौला खराब रहेको थाहा भएको थियो । जसका कारण बिरामी र दाता दुवैलाई हानि भएको छ । उपचारमा संलग्न डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठ संलग्न रहेकोमा उनीहरूले प्रत्यारोपण हुन नसक्ने कुरा पनि बिरामीका आफन्तलाई जानकारी नै नगराएर अप्रेसन कक्षबाट बाहिरिएका थिए ।

यस विषयमा बिरामीका आफन्तले आक्रोशित हुँदै अस्पताल प्रशासनलाई जानकारी गराएपछि कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) का निमित्त प्रमुख डा. भूपेन्द्रकुमार बस्नेतले डा. पारसमणि र डा. अनिल श्रेष्ठलाई अस्पतालमा बोलाएका थिए । बस्नेतले बोलाउँदा पनि दुवै जना चिकित्सकहरू आउन मानेनन् । बिरामीका आफन्तले आन्दोलन नै गरेपछि वीर अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ ।

पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालयमा निवेदन दिने र मन्त्रालयले वीर अस्पतालको छानबिन समितिको प्रतिवेदनको आधारमा कारबाही प्रक्रिया अघि बढाउने तीनबुँदे सहमति भएको अस्पतालका उपसचिव सागर मिश्रले जानकारी दिए ।

यस्तै, वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा लागेको उपचार खर्चको बिलभर्पाइ प्राप्त भएको खण्डमा अस्पतालले अहिलेसम्मको र अब लाग्ने उपचारको पनि सोधभर्ना गर्नेछ भने प्रत्यारोपण गर्न निकालिएको मिर्गौला अयोग्य भएपछि बिरामीका आफन्तलाई खबरै नगरी भागको डा. अनिल र पारसमणि घटनाको छानबिन गर्न समिति बनाउने तयारीमा वीर अस्पताल रहेको छ । सहमतिअनुसार आगामी दिनमा वीर अस्पतालमा बिरामीको मिर्गौलासम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गरिने सहमति भएको छ ।