देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

करोडौं खर्च गरिएको जानकी मन्दिरको विद्युतीकरण काम आएन

देशान्तर

जनकपुरधाममा रहेको जानकी मन्दिरमा विद्यूतीकरणको नाममा करोडाैं रुपैया लगानी गरेर विद्युतीकरण गरिएपनि लक्ष्मीपूजाको दिन मन्दिरमा बत्ती नबलेपछि अहिले फेरि वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको आलोचना भएको छ ।

मधेस प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमा करिब पौने ११ करोडको लागतमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा विद्युतीकरण गरिएको थियो । तर नेपालीहरुले मनाउने उज्यालो पर्वको रुपमा रहेको तिहारको लक्ष्मीपूजाको दिन मन्दिर परिसर भने विरानो देखियो ।

वरिपरिका निजी भवनहरु झकिझकाउ देखिँदा मन्दिर परिसर भने विरानो देखिएको थियो । विगतदेखि नै अड्डा अदालतको लफडाका कारण चर्चामा रहेको उत्त विद्युतीकरण फेरि त्यहाँका स्थानीयलाई बहसको विषय बनेको छ । समाजसेवी समाजसेवी मुन्ञ्जय राउतले ठूलो रकम खर्च गर्दा पनि यस्तो हविगत देखिनु समग्र जनकपुरवासीको दुर्भाग्य रहेको बताए । यस विषयमा सम्बन्धीत निकायले जवाफ दिनुपर्ने उनको भनाई छ ।

बृहत्तर जनकपुर विकास परिषदका पुर्ब अध्यक्ष बलराम ठाकुरले भने ७ करोड मात्रै लगानी भएको र प्रदेश सरकारको बजेट खर्च गरिएको बताए । आफूहरुले विद्युतीकरण गरे पनि विजुली बाल्ने काम आफूहरुको नभएको ठाकुरको भनाई छ ।

बत्ति बाल्नेकाम मन्दिर विकास समितिको रहेको उनले बताए । सरकारले आर्थिक वर्ष २०७६÷०७७ मा वृहत्तर जनकपुर क्षेत्र विकस परिषदलाई विभिन्न मन्दिरमा बती जडान गर्न बजेट उपलब्ध गराएको थियो ।

सो बजेटमा जानकी मन्दिर, लक्ष्मण मन्दिर, विवाह मण्डप, राम मन्दिर, गंगा सागर पोखरी, स्वर्गद्वारी र बारास्थित गढीमाई मन्दिरमा विद्युतीकरण गर्न भनिएको थियो ।
तर बजेट अपुग भएको भन्दै जानकी मन्दिर, लक्ष्मण मन्दिर र विवाह मण्डपमा मात्र विद्युतीकरण गरिएको थियो । तर त्यो पनि जानकी मन्दिरमाथि एक करोड रुपैयाँभन्दा बढी रकम बक्यौता कारण सञ्चालनमा आउन सकेन ।