देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तनहुँको ऋषिङ गाउपालिकाका आठवटै वडामा काँग्रेस विजयी

देशान्तर

दमौली । स्थानीय तहको निर्वाचनमा ऋषिङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित आठवटै वडामा काँग्रेसको प्यानल भारी मतले विजयी भएको छ । ऋषिङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठले चार हजार ९४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूपाल थापा मगरले दुई हजार ४८९ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकै गिनुमाया थापामगरले चार हजार ९४९ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी मधुमाया श्रेष्ठले दुईहजार तीनसय ७७ मत प्राप्त गरेकी थिइन् । सो गाउँपालिका–१ देखि ८ सम्म वडाध्यक्षसहित सबै पदमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृत गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो । सो गाउँपालिकामा विजयी भएका काँग्रेस कार्यकर्ताले विजय जुलुस मनाउँदै गाउँको परिक्रमा गरेका छन् । त्यस्तै, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका गिरबहादुर थापा दुई हजार ५८९ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तबहादुर केसीले दुई हजार २४२ मत प्राप्त गरेका थिए ।

यसैगरी, उपाध्यक्षमा काँग्रेसकी पुष्पादेवी श्रेष्ठले दुई हजार २९७ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना अधिकारीले दुई हजार १६५ मत प्राप्त गरेकी थिइन् । त्यसरी नै बन्दिपुर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार पूर्णसिंह थापा र उपाध्यक्षमा माओवादी केन्द्रका करुणा गुरुङ विजयी भएका छन् ।