देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विपक्षी गठबन्धनलाई काउन्टर जवाफ दिन नेपालकाे निर्देशन

देशान्तर

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको स्थायीत्व र संविधान जोगाउन वर्तमान गठबन्धन बनेको प्रष्ट पारेका छन्।

ललितपुरमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चनेका विरुद्ध गठबन्धन बनेको बताए।

‘दुईदुई पटक संसद् विघटन गरेर संविधान कुल्चने काम भयो, मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिस भयो’, उनले भने, ‘त्यसको विपक्षमा हामी उभियौँ, संविधान र लोकतन्त्र पनि जोगायौँ।’

संविधानको आफूखुसी व्याख्या गर्दै मुलुकलाई तानाशाही व्यवस्थामा लैजाने प्रवृत्तिलाई आफूले असफल पारेको उनको भनाइ थियो । ‘गणतन्त्र मास्ने अभियान शुरु हुन खोज्दै थियो’, पूर्वप्रधानमन्त्री नेपालले भने, ‘हामीले देशलाई अस्थिरताबाट जोगाएर स्थिरतातर्फ लिएर गयौँ ।’

जनताको बलमा प्राप्त उपलब्धिलाई जोगाउँदै मुलुकलाई स्थिरतातर्फ लैजाने पवित्र उद्देश्यका साथ वाम र लोकतान्त्रिक पार्टीबीचको गठबन्धन बनाइएको उनको भनाइ थियो ।

‘वाम र लोकतान्त्रिक शक्ति एकताबद्ध भएको लामो परम्परा छ’, अध्यक्ष नेपालले भने, ‘विगतमा वाम र लोकतान्त्रिक शक्ति मिलेर राणा शासन, पञ्चायत र राजसंस्थाको अन्त्य गरियो।’

संविधानको रक्षा गर्न बनेको गठबन्धनलाई लक्षित गर्दै विपक्षीले लगाएको आरोपको सबै मिलेर खण्डन गर्नुपर्नेमा जोड दिँदै उनले विपक्षी गठबन्धनलाई काउन्टर जवाफ दिन निर्देशन दिए।

तथ्य अगाडि सारेर तर्कपूर्ण ढङ्गले गलत कुरालाई खण्डन गर्नुपर्ने उनको भनाइ थियो। ‘हाम्रो सहकार्य जति सशक्त हुँदै जाने छ। जति समन्वय गर्दै जाने छौँ’, उनले भने, ‘जति जनताको माझमा पुग्ने छौँ। त्यति विजय सुनिश्चित हुने छ।’