कास्की – एथलेटिक्स डिस्कस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले स्वर्ण पदक जितेका छन् ।
आज सोमवार पोखरामा भएको खेलमा इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीकी संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् ।
वलीले ३८ दशमलव ४८ मिटर र अधिकारीले ३५ दशमलव १० मिटर थ्रो गर्दै स्वर्ण जितेका हुन् । पुरुषतर्फ नेपाल पुलिसका पुष्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले कास्य पदक जिते । खड्काले ३१ दशमलव ७५ मिटर र पालले ३१ दशमलव १० मिटर थ्रो गरे ।
महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महतोले रजत जितिन् । उनले ३३ दशमलव ६० मिटर थ्रो गरिन् ।
त्रिभुवन आर्मी क्लबकी मिलन बुढामगरले ३२ दशमलव ३५ मिटर थ्रो गर्दै कास्य पदक जितिन् ।
प्रतिक्रिया