देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चितवन गोल्डकपको उपाधि आर्मीलाई

देशान्तर

काठमाडौं – त्रिभुवन आर्मी फुटबल क्लब चितवन गोल्डकपको उपाधि जितेको छ। नारायणगढको क्याम्पा चौरमा मंगलबार सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) एफसीलाई २–० गोलले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। आर्मीको जीतका लागि सुदील राईले दुवै गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको तेस्रो मिनेटमा सुदीलले गोल गर्दै आर्मीलाई अग्रता दिलाए। कप्तान जर्ज प्रिन्स कार्कीको पासमा उनले गोल गरे। खेल सकिन एक मिनेट बाँकी रहँदा सुदीलले नै व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जीत सुनिश्चित गरे। उनी खेलको ‘म्यान अफ दी म्याच’ भए । उनले नगद रु १० हजार प्राप्त गरेका छन् ।

विजेता आर्मीले नगद रु सात लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको एपिएफले तीन लाख ५० हजार प्राप्त गरेको छ। एपिएफका हरि कार्की गोल्डकपको सर्वोकृष्ट खेलाडी घोषित भएका छन्। प्रतियोगितामा भरतपुर फुटबल क्लबका राज भुसाल सर्वाधिक गोलकर्ता बने। उनले गोल्डकपभर सात गोल गरेका थिए।

यस्तै आर्मीका विश्वास चौधरी सर्वोकृष्ट गोलरक्षक घोषित भए। उनीहरुले जनही नगद २०–२० हजार प्राप्त गरे। भरतपुर फुटबल क्लबको आयोजनामा सम्पन्न गोल्डकपमा दुई ‘ए’ डिभिजन र दुई विदेशी गरी १० टोली सहभागी थिए।