देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाह्रौं आमनिर्वाचन र कांग्रेसको पहिलो घोषणापत्र 


निर्वाचनका सन्दर्भमा सबैभन्दा बढी चर्चामा आउने कुरा हो घोषणापत्र । आकार, प्रकार र विषयहरू फरक होलान् तर नागरिकका अभिमत लिन जाँदा जो कोहीबाट पनि आफ्ना घोषणाहरू प्रस्तुत गरिन्छ । दलीय हुन् कि स्वतन्त्र जो कोहीका निर्वाचनमा प्रतिस्पर्धा गर्ने सूत्र नै उनका घोषणा हुन् । देशमा जुन बेला वयस्क नागरिकले छान्नु भएका जनप्रतिनिधिबाट राज्य सञ्चालन हुने क्रम प्रारम्भ भयो गरी २०१५ सालमा आम चुनावको सुरुवात भयो । त्यहाँबाट आजसम्म आइपुग्दा स्थानीय र केन्द्र गरी यस्ता एघारवटा आमनिर्वाचन सम्पन्न भैसकेका छन् । आम निर्वाचनका हिसाबले आउँदो मंसिर ४ हो ।

कुनैपनि आम चुनाव भन्न्नासाथ घोषणापत्र जोडिएर आउँछ । चुनावमा घोषणापत्रको महत्व कति हुँदो रहेछ भन्ने २०१५ सालको त्यही आम चुनावको उदाहरण प्रस्तुत गरिन्छ । यो चुनावमा नेपाली कांंग्रेसले पहिलो घोषणापत्र जारी गरेको थियो जसका आधारमा यो दलले त्यसबेला दुई तिहाइको मत पायो । त्यसबेला कांग्रेस महामानव बीपी कोइरालाको नेतृत्वमा थियो । इतिहासमा लेखिएअनुसार यो आमचुनावका लागि कांंग्रेसले जारी गरेको यो घोषणापत्र कोइराला आफंैले लेख्नुभएको थियो । पछि उहाँकै नेतृत्वमा पहिलो जननिर्वाचित सरकार बन्यो ।

करिब ७० वर्ष पछि आमनिर्वाचन संघारमा नै आएको छ । त्यसबेला नयाँ संविधानअनुसारको पहिलो आमचुनाव थियो भने अहिले संविधानसभाले घोषणा गरेको संविधानअनुसारको दोस्रो आम निर्वाचन हुँदैछ । आउँदो मँंसिर ४ का लागि तय भएको निर्वाचनका प्रमुख पक्ष राजनीतिक दलहरू निर्वाचनको मुखमा पुुगिसकेका छन् । कतिपय क्षेत्रमा उम्मेदवारीको घोषणा पनि पनि भए र भैरहेका छन् । दलहरूले निर्वाचनमा जानका लागि आ–आफ्ना घोषणापत्र लेख्ने तयारी भैरहेको अवस्था छ । सबै दलले आफ्ना घोषणापत्र बनाउन थालेका छन् । यो त्यसबेलादेखि घोषणापत्र नै निर्वाचनका प्रमुख विषय मानिएका अवस्था कायम रहेको स्थिति हो । आउँदो निर्वाचन यो संविधानअनुसार दोस्रो भएको हुनाले अहिले मतदाता समक्ष विगतका घोषणापत्रको कार्यान्वयनको तुलना गर्ने अवसर छ । निर्दलीय व्यवस्थाबाहेक यो आम निर्वाचन बाह्रौंं हो भने नेपालमा घोषणापत्र लिएर निर्वाचनमा जाने क्रम पनि बाह्रौं पटक हो । व्यक्तिगत रूपमा प्रतिस्पर्धा गरिएका निर्दलीय व्यवस्थाअन्तर्गतका दुईवटा चुनाव (२०३८ –४२) का अनुभव पनि छन् ।
यी निर्वाचन पनि व्यक्तिगत भए पनि घोषणापत्रकै आधारमा प्रतिस्पर्धा भएका थिए । यसले २०१५ सालको निर्वाचनबाट सुरु भएको निर्वाचनमा घोषणापत्रको अभ्यास कुन तहमा पुगेको छ भन्ने देखाउँछ ।
नेपाली कांग्रेसका तत्कालीन सभापति कोइरालाले त्यसबेला आफ्नै हातले लेखेर चुनावका लागि अभिन्न अंग बनेको कांग्रेसको यो घोषणाको एउटा विशेषता यो जस्ताको तस्तै कार्यान्वयनमा आउनु हो । घोषणा गरेका कुरा राजनीतिक सामाजिक, आर्थिक सांस्कृतिक आदि पक्षबाट सामान्य थिएनन् । त्यो कार्यान्वयन हुँदा देशमा युगान्तकारी परिवर्तन हुन्थ्यो । त्यस्तो भयो पनि । जस्तो बिर्ताको राष्ट्रियकरण, .रजौटा प्रथाको समाप्ति, जमिनदारी प्रथाको समाप्ति, जमिनको अधिकतम सीमा निर्धारण एवम् हदबन्दीभन्दा माथिका जमिनको पुनर्वितरण । त्यसबेलाको समय र समाजका लागि यी सामान्य कुरा थिएनन् । इतिहासले नै बताउँछ यस्ता परिवर्तन रोक्न नै तत्कालीन राजाले यो पहिलो निर्वाचित सरकारलाई अपदस्थ गरिदिए । त्यसपछि देशमा निर्वाचित सरकार बन्न एउटा ठूलो जनआन्दोलन गर्न पर्‍यो, जनधनको हिसाबले ठूलो क्षति भयो र ३० वर्षसम्म परिवर्तनको महायात्रा रोकियो ।

दुई तिहाइको प्रयोग र दुरुपयोग 

निर्वाचनमा गरिएका वा गरिने वाचाहरूले नै कम्तीमा त्यो निर्वाचनमा मतदाताले दलहरूको हैसियत निर्धारण गर्दा रहेन भन्ने त्यो बेलादेखि यो बेलासम्म आइपुग्दा धेरै नै उदाहरण कायम भैसकेका छन् । जति पटक निर्वाचन भयो त्यसमा ठूला दल साना र साना दल ठूला भएका छन् । कुनै पनि दलका लागि यो आफूले गरेका घोषणाहरूको कार्यान्वयन अवस्थाको कठोरतम रूपले मूल्यांंकन गर्ने विषय हुनुपर्छ । सबभन्दा पछिल्लो कार्यकालको घोषणापत्रअनुसारका कार्यक्रमहरू सम्पन्न हुन नसकेका उदाहरण हामीसँग छन् । आफ्ना घोषणाका बारे यो बेलासम्मको सबैभन्दा पछिल्लो उदाहरण हो २०७४ को आमनिर्वाचन । यो निर्वाचनले ६५ वर्षअघिको निर्वाचनको परिणाम दोहो¥यायो । कुनै एउटा दलले दुई तिहाइको मत पायो । जसले विश्वासिलो रूपले स्थिरताको घोषणा गरे नागरिकले त्यसलाई स्थापित गराउन खोजेको अवस्था हो यो । तर त्यसपछि बनेको सरकारले यो मतको सम्मान गर्न सकेन । विकास निर्माणसँग सम्बन्धित अरु कुरा त परै रहोस् जननिर्वाचत त्यो दुई तिहाइको संसद्ले तेस्रो वर्ष पनि बिताउन पाएन । देशैभरि अस्थिरता उब्जियो । यसरी ऐतिहासिक उपलब्धि कम्तीमा यो कार्यकालका लागि धुलोमा मिल्यो । घोषणा त फेरि पनि त्यस्तै गरिएला तर नागरिकले कस्तो मूल्यांकन गर्लान् भन्ने कम्तीमा स्थानीय चुनावमा देखिसकिएको छ । आउँदो मंसिरको चुनावमा के होला भन्ने प्रतीक्षा पनि नजिकिँदैछ ।

२०१५ को निर्वाचनबाट खडा भएको बीपी कोइरालाको यो सरकार दुई तिहाइको थियो । आफ्नो घोषणापत्रको कार्यान्वयनका सन्दर्भमा यो सरकार अहिलेसम्मकै नमुना हुनुपर्छ । दुई तिहाइको यो सरकारको आयु डेढ वर्षको रह्यो । यति छोटो समयमा नै यो सरकार ढल्नुको कारण यसमाथि निरंकुशताको तरबार रहनु थियो । त्यही तरबार प्रहार गरेर राजाले १८ महिनामै कोइरालामाथि कू गरिदिए । त्यति ठूलो परिवर्तनपछिको यो डेढ वर्ष धेरै थोरै समय हो तर घोषणामा उल्लेख भएका महत्वपूर्ण र युगान्तकारी परिवर्तनका सबै कुरा यो छोटो समयमा नै कार्यान्वयनमा आए । यो कुनै अतिरञ्जनाको कुरा होइन । इतिहास नै साक्षी छन् । देशको परिस्थिति शासन सञ्चालनको समयभन्दा नेतृत्वको क्षमता र कुशलतामा भरपर्दो रहेछ भन्ने यो पनि एउटा अर्को उदाहरण हुनु पर्छ  ।
त्यसको तुलना गर्न २०७४ को आमनिर्वाचनबाट खडा भएको सरकार हामीसँग छ । जसले पनि दुई तिहाइको मत पाएको थियो । ६० वर्षको समय अन्तरपछि प्राप्त यो अवसरलाई यो सरकारले चलाउनै सकेन । यो सरकार माथि त्यस्तो बाधा केही थिएन । प्रधानमन्त्री नै देशको सर्वेसर्वा थिए । देशको शासनको शक्ति र स्रोत जनतानै रहेको भनी घोषित संविधान भखर जारी भएको थियो । त्यसअनुसारको यो पहिलो निर्वाचन थियो । मतदाताले आफूले भनेको कुरा कार्यान्वयन गर भन्ने बाहेक अरु अपेक्षा थिएनन् । कार्यकारीले असंवैधानिक काम गरेको खण्डमा त्यसलाई सच्याउने राष्ट्राध्यक्ष आफैंले नियुक्त गरेका र आफ्नै दलका पूर्वपदाधिकारीकै रूपमा चिनिएको अवस्था थियो ।

हरेक कुराबाट राज्य चलाउनका लागि र प्राप्त भएको मतको सम्मानका लागि तथा आफूले घोषणा गरेको कुरा पूरा गर्नका लागि यो सबैतिरबाट प्रायः सबैले नपाउने, दुर्लभ प्रकारको अनुकूलताको अवस्था हो । तर यस्तो अवस्थामा पनि सरकारले आफूलाई तीन वर्षभन्दा बढी टिकाउन सकेन । सरकार प्रमुखले असंवैधानिक भन्ने जान्दाजान्दै चार महिनाको अवधिमा आफूले पाएको दुई तिहाइको मत आफैंबाट विघटित गरियो । नेतृत्वको सरकारको कुरा हो । यसले न आफ्ना घोषणाको कार्यान्वयन ग¥यो न त्यसको प्रारम्भ नै । यसले घोषणा गरेका रेलमार्ग जलमार्ग आदि त्यसका उदाहरण हुन् ।
यो चुनावमा यो नेतृत्वले दुई तिहाइ मत पाएको कारणमा यसका घोषणा प्रमुख मानिएको थियो । चुनावमा स्थिरता दिने भन्ने यो नेतृत्वको प्रमुख नारा थियो । यस्तो घोषणा त कांग्रेसको पनि थियो तर मतदाताले यो पक्षलाई बढी विश्वास गरेको परिणामले देखाउँछ । तर त्यो परिणामअनुसार त्यस्तो हुन्थ्यो भने आउँदो निर्वाचनसम्म यही सरकार सत्तामा हुने थियो । भनियो स्थिरता दिने तर शासकीय अवस्था कसरी प्रकट भयो भने भने यो समय नै सबैभन्दा बढी अस्थिर रह्यो । यसको पृष्ठभूमि भने आफूले गरेका घोषणालाई सत्तामा पुगेपछि आफैंले लत्याउनु ।
त्यसकारण पनि यतिबेला चुनावमा होमिएका दलहरूले आजभन्दा ६ दशकअघि बीपीले जारी गर्नुभएको त्यो घोषणापत्रको सम्झना गर्नुपर्छ भनिएको हो । आधा दशकअघिका विषयवस्तुमा केही फेरबदल आउँछन् तर निर्वाचनमा बोलिएका कुरा पूरा गर्नुपर्छ भन्ने सन्दर्भमा बीपीको त्यो घोषणा र आफ्नो कार्यकालको छोटो समयमा नै तिनको कार्यान्वयनका अवस्थाका बारे जो कोहीले पनि अध्यन, मनन् र कार्यान्वयनका सन्दर्भमा अनुकरणीय नै छन् ।

कोइरालाका घोषणा 

लोकतान्त्रिक पद्धतिको भनेको निर्वाचन हो र निर्वाचनको पनि प्राण भनेको आ–आफ्ना घोषणापत्र । यसले नै निर्वाचनमा सहभागीहरूको पहिचान गराउँछ । त्यो घोषणाले सम्बोधन गर्ने विषय कस्ता हुनुपर्छ र त्यसलाई नागरिकले अनुमोदन गरेपछि त्यसको कार्यान्वयन कसरी गर्ने ? बीपीको त्यो घोषणापत्रबाट सिकौं । यसरी सुरुभएको थियो त्यो घोषणापत्र –
‘देशमा पहिलो पटक हुन लागेको आमचुनावको महान् अवसरमा नेपाली कांग्रेस देशका सम्पूर्ण बासिन्दालाई अभिवादन गर्दछ । खेतमा काम गर्ने किसान र खेताला, कारखानामा लागेका मजदुर, उद्योगधन्दामा लागेका व्यापारी, विभिन्न कारोबार र पेसामा लागेका अन्य नागरिक, जंगी या निजामतीतर्फका विभिन्न सरकारी कर्मचारी, आईमाई, तरुण, विद्यार्थी, शिक्षित समुदाय, जमिनदार, सन्त महन्त, सुब्बा, राई थरी मुखिया जिम्मावाल धनी, गरिब, सबैका समीपमा नेपाली कांग्रेस चुनावको आफ्नो सन्देश यसै पत्रमार्फत पठाउँदैछ ।’
यसपछि त्यो घोषणापत्रमा नेपाली जनताले गरेको २००७ सालको क्रान्तिको कुरा छ र त्यस क्रान्तिको नेतृत्व नेपाली कांग्रेसले गरेको कुरा उल्लेख छ । त्यस क्रान्तिको महान् लक्ष्य केही आधारभूत राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तन गर्नु रहेको थियो भनिएको छ । करिब पच्चिस सय शब्दमा समेटिएको त्यो घोषणापत्रको ‘गाउँ, किसान र जग्गा’ शीर्षकमा लेखिएको–बोलिएको कुरालाई आफ्नो शासनको डेढ वर्षमै उहाँले कार्यान्वयनमा ल्याउनु भएको पाइन्छ ।
बिर्ताको राष्ट्रियकरण, रजौटा प्रथाको समाप्ति र जमिनदारी प्रथाको अन्त्य त्यो जमानामा लरतरो प्रयासबाट सम्पन्न हुने कुरा होइन । तर आप्mनो नेतृत्वमा सरकार बनेको डेढ वर्षमा नै यी काम सम्पन्न गर्नु भएछ । कोइरालाको नेतृत्वलाई जनताले पाँच वर्षका लागि छानेका अवस्था हो । तर यसले डेढ वर्ष पनि कट्न पाएन । जति समय पायो त्यसमा घोषणाका आधाभन्दा बढी काम सम्पन्न भैसकेका भन्ने देखिन्छ । उहाँले एउटा आवधिक पूरा गर्न पाउनुभएको थियो भने र त्यहीअनुसार काम गर्न दिइएको भए त्यो घोषणामा लेखिएअनुसार पूरा हुन थोपो बरावर पनि बाँकी रहने रहेनछन् भन्ने यो छोटो समयमा नै बिर्ताको राष्ट्रियकरण, रजौटा प्रथाको अन्त्य जमिनदारी प्रथाको समाप्ति आदिले देखाउँछन् । कम्तीमा आफ्ना घोषणापत्र कार्यान्वयनका सन्दर्भमा उहाँबाट अनुकरण गर्नुपर्ने भनिएका ठाउँ पनि यही हो ।

उद्योगधन्दा एवं कल कारखाना
राष्ट्रको सम्पन्नता उद्योगधन्दाको विस्तारमा नै निर्भर गर्छ । यसपटकको चुनावमा नेपाली कांग्रेसले भूमिसुधार भूमिको उत्पादनमा वृद्धि र ग्रामीण सुधारलाई प्राथमिकता दिएको छ तापनि व्यापार र उद्योगधन्दापट्टि पनि नेपाली कांग्रेसले ध्यान दिएको छ । आजसम्मको अनिश्चित सरकारी नीति र विरोधी कारबाहीका कारणले उद्योगधन्दालाई ठूलो नोक्सान पुगेको छ । व्यापारी र उद्योगपति दुइटैलाई कुनै प्रकारको सहयोग र उत्साहित गर्ने प्रेरणा आजसम्मका सरकारले दिएका छैनन् । नेपाली कांग्रेसलाई दृढ विश्वास छ कि सरकार बनाउन पाएमा यसमा भएका त्रुटिपूर्ण कारबाहीमा सुधार ल्याएर नेपाली कांग्रेसले शीघ्रातिशीघ्र उद्योगधन्दा र व्यापारका विकासका लागि आवश्यक वातावरणको सृष्टि गर्नेछ ।

प्रशासन
वर्तमान प्रशासनयन्त्र अत्यन्त ढिलो र अवैज्ञानिक छ । सरकारी कामहरूमा यसै कारणले बाधा उत्पन्न भएको अनुभव सबैले गरेका छन् । जनताको परेशानी बढेको छ । अतएव जुन उद्देश्य र कार्यक्रमलाई लिएर नेपाली कांग्रेसले सरकार बनाउनेछ, त्यसलाई कार्यान्वित गर्न सकिने लायकको सुधार प्रशासनयन्त्रमा नेपाली कांग्रेसले ल्याउनेछ ।
धर्म
धर्मको सम्बन्धमा हाम्रो नीति स्पष्ट छ । देशमा धेरै थरी धर्म मान्ने मानिस छन् । नेका  यिनको साझा सरकार हुनेछ । अतः सरकारले प्रत्येक धर्म मान्नेलाई आफ्नो अन्तरात्माको विश्वासको धर्म एवम् विधि विधान मान्ने र त्यसअनुसार उपासना गर्न पूर्ण स्वतन्त्रता दिनु पर्छ ।
सबै धर्मावलम्बीहरूलाई आफ्नो अन्तरात्माको विश्वासको धर्मको विधि विधान मान्ने र त्यसमा हिँड्न दिने ग्यारेन्टी नेपाली कांग्रेस दिन्छ । कसैले कसैको धर्ममा बाधा दिन खोज्छ भने सुरक्षाका निम्ति पार्टीले आफ्नो सम्पूर्ण शक्ति लगाउने विश्वास दिलाउँछ । नेपाली कांग्रेसलाई आफ्नो संस्कृति प्यारो छ, र हाम्रो महान् संस्कृतिको आधारशिलामा नै आधुनिक नयाँ प्रगतिशील समाजको निर्माण गर्न हामी चाहन्छौ ।