देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आज जसको स्मृति दिवस हो

निर्दलीय किल्ला त्यसरी ध्वस्त भयो


सर्वमान्य नेता गणेशमान सिंह, जसको आह्वान र नेतृत्वमा भएको २०४६ सालको ऐतिहासिक जनआन्दोलनले ३० वर्षदेखि जरा गाडेर बसेको निरंकुश पञ्चायत व्यवस्थाको अन्त्य र बहुदलीय संसदीय व्यवस्थाको पुनस्र्थापना सम्भव भएको थियो । आज नेपाल र नेपालीको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्था जे जस्तो छ, त्यसलाई यहाँसम्म ल्याइपुर्‍याउने ढोका, त्यही आन्दोलनको सफलताले खोलेको हो । नेपालका कम्युनिस्टले सर्वहारा वर्गको तानाशाहीको मान्यता त्याग्नु र बहुदलीय संसदीय व्यवस्था अपनाउनु पर्ने सर्शप्रति प्रतिबद्ध तुल्याउने मात्र होइन, नेपाली कांग्रेसले पनि कम्युनिस्टहरूलाई अस्पृश्य मान्न नहुने र सहयात्रीका रूपमा अपनाउनु पर्ने समझदारीका आधारमा त्यो जनआन्दोलनमा दुवैथरी होमिएका थिए । त्यसैले त्यो आन्दोलनले निर्दलीयताको किल्ला तोडेर बहुदलको झन्डा गाडेको थियो ।

गणेशमान सिंह, एक मात्र त्यस्तो विश्वसनीय नेता हुनुहुन्थ्यो, जसले विसं १९९७ को पहिलो जनविद्रोहदेखि २०४६ को जनआन्दोलनसम्मका सबै प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गर्नु भएको थियो । २००३ सालमा जब बीपी कोइराला, राष्ट्रिय कांग्रेस निर्माणको अन्तिम चरणमा हुनुहुन्थ्यो, तब उहाँले राणाको जेलको पर्खाल नाघेर भारतमा शरणार्थी बनिरहनु भएका क्रान्तिकारी नेता गणेशमान सिंहको सहयोगको खाँचो अनुभव गर्नुभयो र उहाँसँग भेट गराउन साथीहरू खटाउनु भयो । उहाँको धारणा थियो, पार्टी खोल्दैमा, त्यसले सहजै विश्वसनीयता हासिल गर्दैन, त्यसमा सिंहजस्ता त्याग र बलिदानको पृष्ठभूमि भएका प्रेरक नेताहरू सामेल भए भने मात्र त्यसले राष्ट्रिय पार्टीको मान्यता प्राप्त गर्न सक्छ । त्यही कारण उहाँ गणेशमान सिंहलाई भेट्नु उत्सुक मात्र होइन, आतुर पनि हुनुहुन्थ्यो । कलकत्तामा जब उहाँहरूको भेट भयो, त्यही दिनको कुराकानीबाट बीपी कोइराला र गणेशमान सिंहको यस्तो जोडी तयार भयो, जुन आस्था, निष्ठा र विश्वासको अद्भुत नमुना थियो, जसलाई कालान्तरमा अनेक देशी विदेशी षड्यन्त्रले पनि फुटाउन र तोड्न सकेनन् । नेपालको इतिहास, त्यसको साक्षी छ ।

बीपी कोइराला र गणेशमान सिंहको मेल र एकता, एक अर्काप्रतिको विश्वास र समर्पणमा आधारित भएको तथ्यलाई पुष्टि गर्न एउटा उदाहरण पर्याप्त हुन्छ । त्यो घटना हो, २०३५ सालको । २०३३ सालमा बीपी र जीएम दुवैजना, राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर भारतको आठ वर्ष लामो प्रवासकाल त्यागेर स्वदेश फर्केपछि जेलभित्र बसेर अनेक मुद्दाको सामना गर्नु पर्‍यो र अन्ततः ती सबैमा सफाइ पाएर जेलमुक्त भएपछि राजा र पञ्चायतसँग बडो विचित्रको राजनीतिक तथा मनोवैज्ञानिक संघर्ष सुरु भयो । त्यसबाट गणेशमान सिंह र राजाको व्यक्तिगत प्रतिष्ठा पनि गाँसिन पुगेकाले मामला गम्भीर तथा पेचिलो बन्न पुगेको थियो ।

त्यसको कारण थियो, गणेशमान सिंहको भेडासिङको घरमा कांग्रेसको कार्यालय खोल्ने निर्णय । जेलबाट छुटेपछि कांग्रेसका नेताहरू– गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, परशुनारायण चौधरी, वासु रिसाल, योगप्रसाद उपाध्यायलगायत विद्यार्थी नेताहरू बीपी कोइराला बस्दै आउनु भएको चाबेलको तारिणी निवासमा बिहान भेला हुने र १०।११ बजेसम्म गफ गरेर छुट्टिने नियमित दिनचर्या हुन पुगेको थियो । त्यसमा राष्ट्रिय राजनीतिका अतिरिक्त विश्वका प्रमुख घटनामाथि छलफल हुन्थ्यो । कांग्रेसका नेता तथा कार्यकर्ता त्यसैमा अभ्यस्त हुन थालेका थिए । त्यही कुरा कोइरालाजीलाई हजम भइरहेको थिएन । एक दिन गणेशमान सिंहलाई एक्लै बोलाएर उहाँले सोध्नुभयो– हामीले आफ्नो भूमिका कसरी प्रभावकारी बनाउने ? जसरी हाम्रो समय बितिरहेछ, त्यसले हामीलाई कहीँ पुर्‍याउँदैन । कांग्रेसलाई प्रभावशाली बनाउने हो भने पार्टीको पुनः संगठन अपरिहार्य छ । त्यसका निम्ति सबैभन्दा पहिले एउटा कार्यालय खोल्नु पर्छ । त्यहीबाट हाम्रो पुनः संगठनको अभियान सुरु हुन्छ ।

निर्दलीय पञ्चायत व्यवस्थामा कांग्रेसले राजधानीमा कार्यालय खोल्ने कुरा, सामान्य घटना थिएन । कोइरालाजी र गणेशमानजी दुवैले घर खोज्न मानिस लगाउनु भएको थियो । तर कसैले पनि घर दिन मानेनन् । उनीहरू जति परे पनि बरु, घर भाडा तिरिदिन तयार थिए । घर दिन मानेनन् । अन्त्यमा केही सिप नलागेपछि गणेशमान सिंहले आफ्नो भेडासिङको पाँचतले घरको तल्लो पसल कबल र त्यसदेखि माथिको तला गरेर दुई तलाबाहेक बाँकी तीन तला खाली गराएर सबैभन्दा माथिको तलामा आफू बस्ने, एक तलामा कांग्रेस अफिस र अर्को तला, नेविसंघलाई दिने निश्चय गर्नु भयो ।
त्यो एउटै निर्णय, राजदरवार र पञ्चायत संविधानका निम्ति ठूलो चुनौती थियो । स्वदेश तथा विदेशका पत्रकारहरू बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र परशुनारायण चौधरीलाई भेट्न कांग्रेस अफिस धाउन थाले । त्यसको प्रचार सबैतिर फैलियो । त्यो कार्यालय, राज्यभित्रको अर्को राज्य सावित भयो । सिंहदरबार मात्र होइन, नारायणहिटी दरबारसमेत निरीह बन्यो । त्यसलाई २०३५ सालको आन्दोलन र २०३६ सालको जनमतसंग्रहको घोषणाको पृष्ठभूमि त्यसै भनिएको थिएन । तिनै सब मिलेर गणेशमान सिंहलाई सर्वमान्य नेताको उचाइमा उचालेको थियो । उहाँको अमर आत्माप्रति शत शत नमन ।