दसैं, तिहार, छठ जस्ता मुख्य चाडपर्व लक्षित सहुलियत पसल आजदेखि सञ्चालनमा आएका छन् ।
आजदेखि खुलेका सहुलियत पसल आगामी १५ कार्तिकसम्म चल्नेछन् ।
देशका विभिन्न ठाउँमा सहुलियत पसल डेढ महिना सञ्चालन हुनेछन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार यी सुपथ पसलमा चिनी र घिउबाहेक खाद्यान्न तथा दूधजन्य वस्तुको बिक्रीवितरण हुनेछ ।
कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थान (डीडीसी) बाट एकीकृत रुपमा सुपथ पसल सञ्चालन गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यकामा कम्पनीका शाखा रामशाहपथ, थापाथली, सूर्यविनायक र नख्खुमा सहुलियत उपलब्ध हुनेछ ।
काठमाडौं उपत्यकाबाहिर खाद्यसामग्री वितरण केन्द्रमा छुट उपलब्ध हुनेछ । त्यस्तै साल्ट ट्रेडिङ र डीडीसीले आ–आफ्ना शाखा तथा क्षेत्रमा पनि उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउनेछन् ।
काठमाडौं उपत्यका, पोखरा र सुर्खेतमा अनलाइन सेवा पनि उपलब्ध हुनेछ । अनलाइन सेवा भएका ठाउँमा उपभोक्ताको माग अनुसार घरमै सहुलियतमा सामग्री पुर्याइनेछ ।
सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुट हुनेछ । चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडीलगायतमा प्रतिकिलो ७ रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ ।
साल्ट ट्रेडिङले नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिनेछ ।
साल्टले काठमाडौं उपत्यकाभित्र सतुङ्गल, कालीमाटी, जावलाखेल, जडीबुटी र भक्तपुरबाट छुट दिइनेछ ।
त्यस्तै दुग्ध विकास संस्थान (डीडीसी) ले दसैं तिहार, छठमा घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिने डीडीसीले जनाएको छ ।
कम्पनीले दसैंका लागि झण्डै तीन हजार खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी पनि गरेको छ ।
प्रतिक्रिया