काठमाडौँ – नेपाल साफ यू १७ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
श्रीलंकाको राजधानी कोलम्बोमा घरेलु टोलीमाथि ६–० गोल अन्तरको जीत दर्ता गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
नेपालका लागि प्रशान्त लिम्बू, हरिश राज भट्ट, सुवास बम, निरोज कार्की, उनेश बुढाथोकी र सिजल राईले एक एक गोल गरेका थिए । नेपालले २२ औं मिनेटमा अग्रता लिएको थियो ।
श्रीलंकन खेलाडीले फल गरेपछि नेपालले पाएको पेनाल्टीलाई प्रशान्त लिम्बूले गोलमा परिणत गरेका थिए । त्यसको १ मिनेटमै नेपालले अग्रता दोब्बर बनाएको थियो । हरिशले गोल गरेका थिए ।
लगातार श्रीलंकामाथि दवाव बनाएको नेपालले ३१ औं मिनेटमा तेस्रो गोल थपेको थियो । सुवास बमले टिमका लागि तेस्रो गोल गरेका थिए । ३८ औं मिनेटमा निरोज कार्कीले नेपालका लागि चौथो गोल गरे ।
पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल थप गरेको थियो । ५१ औं मिनेटमा उनेश बुढाथोकीले पाँचौं गोल गर्दा ९० औं मिनेटमा सिजल राईले नेपालका लागि छैटौं गोल गर्दै ६–० को जीत पक्का गराए । नेपालले यू १७ को उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने छ ।
बुधबार हुने फाइनलका लागि भारतले सेमिफाइनलमा बंगलादेशमाथि २–१ गोलको जीत दर्ता गर्दै स्थान सुरक्षित गरिसकेको छ ।
प्रतिक्रिया