देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बूढेसकालमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै

देशान्तर

पाल्पा । सेतीमाया कुमाल उमेरले ७५ वर्ष पुग्यो । तर उनको जोसजाँगर युवा अवस्थाको जस्तै छ ।

यो उमेरमा पनि उनी कालीगण्डकी नदीको रामपुर नगरपालिकाको रामघाटस्थित किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्छिन् । बिहान खाना खाएपछि रात नपरुन्जेलसम्म नदी किनारमा दिनमा ६ बोरा जति गिट्टी कुट्ने गरेको कुमालले बताईन।

प्रतिबोरा रु ६० मा नदी किनारबाटै बिक्री भइरहेको छ । अर्की वृद्वा ७७ वर्षीया मती कुमाललाई पनि गिट्टी नकुटेसम्म जीवनगुजारा गर्न सहज छैन । उमेर ढल्कँदै गरेकी मती कुमालले दिनभरि गिट्टी कुटेको आम्दानीबाट घरखर्च चलाउन सहज भएको बताउछिन् ।

नदी किनारमा घनले गिट्टी कुट्दै गर्नुभएकी कुमाल भन्छिन, “गिट्टी कुटेर एक महिनामा रु १० हजार देखि १२ हजार सम्म कमाई गर्छु”—“छोरा बुहारीसँग दुईचार पैसा माग्दा कहिले दिन्छन्, कहिले दिँदैनन्, आफँैले काम गरेपछि अरूसँग परनिर्भर हुनु परेको छैन”, उनले बताईन् ।

साढे दुई वर्षको छोरा काखमा च्यापेर कुबिजा कुमालले पनि गिट्टी कुटेर घरायसी खर्च पु¥याउँदै आएकी छिन । एक छोरालाई पढाइ खर्च र साँझ–बिहानको गुजारा, औषधी उपचार खर्च जुटाउन गाह्रो नभएको उनले बताईन् ।

“दिनमा १० बोरासम्म गिट्टी कुटेर एक महिनामा रु १५ हजार जति आम्दानी हुन्छ”—“साँझ–बिहानको काम सकेर दिनभर गिट्टी कुट्यो, साँभm पैसा बुझ्यो, घर गयो”, उनले भनिन् । आफुले गिट्टी कुट्न थालेपछि श्रीमान्ले भारतमा कमाएको पैसा बचत गरेको उनले बताईन ।

तिलकपुर डल्ले चौतारी क्षेत्रमा पनि घरघरमै नदी खोलाबाट ढुङ्गा बोकेर गिट्टी कुट्नेको लहरै देखिन्छ । यस क्षेत्रमा झन्डै ४० देखि ५० को हाराहारीमा घरमै बसी बसी गिट्टी कुटेर एक महिनामा रु २० हजार बराबरको आम्दानी लिने गरेको टोपनारायण ढकालले बताए ।

गाउँघरमा मेलापात गरेर दिनमा रु २०० देखि ३०० बुझ्दै आएका यहाँका महिलाले गिट्टी कुटेर रु ५०० देखि रु एक हजारसम्म आम्दानी गर्न सफल भएका छन् । यस व्यवसायमा यहाँ आधाभन्दा धेरै महिला संलग्न रहेको स्थानीयवासी हलिमा खातुनले वताईन ।

रामघाट नदी किनारमा झन्डै १५० भन्दा बढीले व्यावसायिक रुपमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आइरहेका छन् । रामपुर क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, अस्पताल, ठूलाठूला घर तथा भवन निर्माण गर्ने क्रम बढ्दै गएपछि नदी किनारमा व्यावसायिक रुपमा गिट्टी कुट्नेको सङ्ख्या बढ्दै गएको स्थानीयवासी ओमप्रकाश रेग्मीले बताए ।