काठमाडौं – पाकिस्तानलाई हराउँदै श्रीलंकाले आठ वर्षपछि एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । १ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाएपछि एसिया कपको उपाधि श्रीलंकाले हात पारेको हो ।
श्रीलंकाका लागि भानुका राजपाक्षेले अविजित रहँदै ७१ रनको अर्धशतकीय इनिङ खेले। चामिका करुनारत्नेले अविजित १४ रन बनाउँदा वानिन्दु हसरंगा डी सिल्भाले ३६ तथा धनन्जय डी सिल्भाले २८ रन बनाए ।
पाकिस्तानका हरिस राउफले ३ विकेट लिए । निशम शाह, शादब खान र इफ्तिखर अहमेदले १र१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रनको अर्धशतकीय इनिङ खेलेपनि जित दिलाउन भने सकेनन् । पाकिस्तानका लागि इफ्तिखर अहमेदले ३२ तथा हरिस राउफले १३ रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।
श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिँदा चामिका करुनारत्नेले २ विकेट लिए ।
६ टोलीको सहभागिता रहेको प्रतियोगिता जितेसँगै श्रीलंका छैटौं पटक एसिया कपको उपाधि हात पार्न सफल भएको छ ।
यसअघि सन् २०१४ मा बंगलादेशमा भएको एसिया कपमा श्रीलंकाले पाकिस्तानलाई नै हराएर उपाधि जितेको थियो ।
प्रतिक्रिया