देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पाँच वर्षभित्र काठमाडौँमा सबै पूर्वाधार बन्ने : नवीन्द्रराज जोशी

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसले आगामी पाँच वर्षभित्र काठमाडौँमा आवश्यक सबै पूर्वाधार निर्माण गरिसक्ने दृढता प्रकट गरेको छ ।

आसन्न स्थानीय तह निर्वाचनमा पार्टीको तयारी बारे जानकारी दिन मंगलवार आयोजित पत्रकार भेटघाटमा काँग्रेस नेता नवीन्द्रराज जोशीले काठमाडौँका प्रत्येक वडामा उद्यान र सामुदायिक भवन निर्माण गर्ने र हराभरा काठमाडौँ सहर बनाउने प्रतिवद्धता व्यक्त गरे । सामुदायिक भवनलाई जनताका आवश्यक सूचना प्राप्त गर्ने सूचना बैंकका रुपमा विकसित गर्ने उनको कथन थियो ।

विगतमा काठमाडौँलाई काँग्रेसकै नेतृत्वमा महानगरपालिका घोषणा गरिएको जानकारी गराउँदै उनले भने, “काँँग्रेसले चुनाव जितेको भोलिपल्टै हनुमानढोका स्थित जिल्ला प्रहरी कार्यालय काठमाडौँ रहेको स्थानमा सम्पदा पार्क बनाउन काम थाल्नेछ ।”

काँग्रेसबाट काठमाडौँमा यहीँको माटोलाई बुझेका र खारिएका उम्मेदवारलाई चुनावी मैदानमा उतारेको प्रसङ्ग उल्लेख गर्दै उनले काठमाडौँ महानगरपालिकामा अन्य दलको गठबन्धनले आफ्नो पार्टीको विजयमा कुनै असर नपार्ने दाबी गरे ।

केही दलले संविधानमा उल्लेख भएको प्रमुख र उपप्रमुखमध्ये कुनै एक पदमा महिलाको प्रतिनिधित्व हुनुपर्ने अधिकार विपरीत गठबन्धन समेत गरेको बताउँदै नेता जोशीले काठमाडौँका जनता चेतनशील भएकाले त्यसको जवाफ निर्वाचनबाट दिने विश्वास व्यक्त गरे ।

काँग्रेसकै नेतृत्वमा मुलुकका सबै ठूला परिवर्तन सफल भएको उल्लेख गर्दै उनले भने, “स्थानीय तहको निर्वाचनमा पनि देशैभर काँग्रेसको लहर छ । पार्टी पहिलो हुने निश्चित छ ।” काँग्रेस कै नेतृत्वमा संविधानसभाबाट संविधान जारी हुन सकेको र त्यसको कार्यान्वयनका लागि पनि आफ्नै पार्टीको नेतृत्व अपरिहार्य भएको उनले बताए ।