काठमाडौं – फिलिपिन्समा वार्षिक मृत्यु दर ४३ प्रतिशतको दरले वृद्धि भएको पाइएको छ ।
गत सन् २०२१ मा आठ लाख ७९ हजार ४२९ जनाको मृत्यु भएको विवरण सरकारी अधिकारीहरूले बुधबार सार्वजनिक गरेका छन् । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि उनीहरूको दावी छ ।
अघिल्ला वर्षहरूको तुलनामा सन् २०२१ मा यति धेरै मानिसको मृत्यु हुनुमा कोरोना भाइरसको महामारी नै मुख्य कारण रहेको अधिकारीहरूले जनाएका छन् ।
फिलिपिन्सको तथ्याङ्क प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार सामान्यतयाः अन्य वर्षहरूमा एकदेखि पाँच प्रतिशतसम्म मृत्युदर वृद्धि हुने गरेको थियो ।
यसअघि सन् २०१९ मा छ लाख २० हजार ४१४ जनाको मृत्यु भएको थियो। त्यसका आधारमा दैनिक औसतमा एक हजार सात सयको मृत्यु हुने गरेको देखिएको थियो । त्यो दैनिक औसत सङ्ख्या सन् २०२१ मा भने दुई हजार चार सयभन्दा बढी देखिएको छ ।
मृत्युको मुख्य कारण कोरोना भाइरस नै भएपनि अन्य रोगहरुका कारणले मृत्यु हुनेहरुको सङ्ख्या पनि धेरै देखिएको छ। दोस्रो धेरैमा हृदयघात देखिएको छ भने मस्तिष्कघात, मधुमेह, मानसिक तनाव लगायतका कारणले पनि धेरैको मृत्यु हुने गरेको पाइएको छ।
प्रतिक्रिया