देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली कांग्रेस : क्षेत्राधिकारका समस्या संविधान सम्मत खोजिने

देशान्तर

काठमाडौँ । नेपाली कांग्रेसले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचका क्षेत्राधिकारमा देखिएका समस्यालाई संविधान सम्मत् समाधान खोजिने जनाएको छ ।

“नेकाले आफ्नो सम्पूर्ण ध्यान आसन्न स्थानीय तहको निर्वाचनमा लगाएको छ, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्ना सीमारेखा र मर्यादाभित्र बस्नुपर्छ, पछिल्लो समय यी निकायबीचका क्षेत्राधिकारमा देखिएका भनिएका विषयमा आफ्नो आधिकारिक धारणा निर्वाचनपछि सार्वजनिक गर्नेछ” केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिका संयोजक रमेश लेखकले भने ।

स्थानीय तहका निर्वाचनका पछिल्ला गतिविधिबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमवार आयोजित पत्रकार सम्मेलनमा संयोजक लेखकले नेकाले आफ्नो बल र ऊर्जा निर्वाचनमा लगाएको छ, निर्वाचनपछि मात्र ती तीन निकायका क्षेत्राधिकारमाथि देखिएका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताए।

“नेका आफ्नो स्थापनादेखि नै स्वतन्त्र, निष्पक्ष, मर्यादित न्यायपालिकाको पक्षमा रहेको छ, न्यायपालिकालाई उच्च सम्मान गर्छ, अदालतका आदेश एवम् काम स्वतन्त्र, निष्पक्ष र मर्यादित हुन्छ भन्ने विश्वासमा पार्टी रहेको छ” – उनले भने ।

संयोजक लेखकले संविधानलाई सर्वस्वीकार्य बनाउन संविधान संशोधन गर्न लागिएको र संविधान कार्यान्वयन गर्न स्थानीय तहको निर्वाचन हुन लागेको चर्चा गर्दै यी दुवै कार्य सरकारले एकसाथ अगाडि बढाएको उल्लेख गरे ।

तराई÷मधेस एवम् अन्य समुदायले उठान गरेका माग संविधान संशोधनमार्फत सम्बोधन हुने चर्चा गर्दै उनले छिट्टै संविधान संशोधनको प्रस्ताव पारित हुने विश्वाससमेत व्यक्त गरे ।

नेपाली कांग्रेस निष्पक्ष चुनाव चाहन्छ

संयोजक लेखकले चितवन, धादिङ लगायत केही जिल्लामा नेका चुनाव प्रसारप्रसारमा परिचालन भएका यातायात साधनमाथि तोडफोड एवम् आगजनी गरी पु¥याएको क्षतिको भत्र्सना गर्दै यस्तो कार्यले पार्टी विचलित नहुने पत्रकार सम्मेलनमा बताए।

“हामी निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा दुवै चरणका निर्वाचन सम्पन्न होस् भन्ने चाहन्छाँै, यसका लागि हामी अनुशासित, मर्यादित रुपमा लागिरहेका छौँ” – उनले भने ।

सञ्चारकर्मीको एक जिज्ञासामा संयोजक लेखकले स्थानीय आवश्यकताअनुसार नै केही जिल्लामा अन्य पार्टीसित चुनावी तालमेल भएको हो, तालमेल गरेका स्थान र जिल्लामा अब कुनै समस्या र द्विविधा नरहेको स्पष्टसमेत पारे ।

उनले आम मतदातालाई निर्धक्क रुपमा आफूले मन पराएका पार्टीका उम्मेदवारलाई अगामी वैशाख ३१ गते मत खसाल्न आग्रह गर्दै ती मतले नै लोकतन्त्रको जराका रुपमा स्थानीय सरकार उभिन्छ भने ।

संयोजक लेखकले आफ्नो पार्टीले मतदान गर्ने तरिकाका बारेमा आम मतदातामा मतदाता शिक्षा सञ्चालनसमेत गरिराखेको जानकारी दिए ।