देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काठमाडौं महानगर कांग्रेसको घोषणा पत्र सार्वजानिक, यस्तो छ राजुराजको काठमाडौं बनाउने योजना

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरका उमेदवारले आफ्नो घोषणा पत्र सार्वजानिक गरेका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एंव पूवउपप्रधानमन्त्री प्रकाशमान सिंहले घोषणा पत्र सार्वजानिक गरे । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्व सन्ध्यामा जनताको मन जितेर मतदाता आफ्नो पक्षमा पार्न काँग्रेसले विकासको योजनालाई अगाडि सारेको हो । सवै महानगरबासीको इच्छा शिक्षा, स्वास्थ्य र सुरक्षा तथा सफा, समृद्ध, सुन्दर र उज्यालो काठमाडौँ हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ काठमाडौँ महानगर काँग्रेसले आफ्नो मुख्य मुद्धा अगाडि सारेको छ ।

विकासको योजना बनाउँदा पहिलो समयदेखि नै जनसमूदायलाई सङ्लग्न गराई महानगरको कुनै पनि विकासको खाका कोर्ने, पूर्वाधारहरुको निर्माण गर्ने र यसको संरक्षण गर्ने कार्यहरुका साथै सोको अनुगमन समेत समुदायले नै गर्ने व्यवस्था मिलाउने काँग्रेस महानगरको घोषणापत्रमा उल्लेख छ । घोषणापत्रको सार्वजनिक गर्दे नेपाली काँग्रेसका नेता एवम् पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंह ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्व बोकेको काठमाडौँलाई विश्वकै नमूना सहर बनाउनका लागि काँग्रेसलाई जिताउनुपर्ने बताए ।

नेता सिंह काँग्रेसले राजनीतिक रुपमा परिक्षण भइसकेको व्यक्तिलाई उम्मेद्वार दिएको बताउँदै महानगरको विकासका लागि मेयरका उम्मेद्वार राजुराज जोशी योग्य उम्मेद्वार भएको स्पष्ट पारे । काठमाडौँ महानगर काँग्रेसले फ्लाई ओभर निर्माण, अन्तर्राष्ट्रिय स्तरको खेलकुँद रङ्गशाला निर्माण, सडक बत्ती र ट्राफिक बत्तीको उचित व्यवस्था, सडकमा सिसिटिभीको जडान, प्रदुषण नियन्त्रण, सडक विस्तार, खानेपानी पाइप जडान, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकतामा राखेको छ । काँग्रेस काठमाडौँ महानगरपालिका मेयरका उम्मेद्वार जोशी पाँच वर्षभित्र महानगरपालिकाभित्र मेट्रोरेल निर्माण गर्नेदेखि महानगरमा निशुल्क वाइफाइको व्यवस्था मिलाउने बताए । उनले भने–‘म बोल्नेभन्दा काम गरेर देखाउने मान्छे हो मैले जितेपछि काठमाडौँ महानगरपालिकाको प्रत्येक जनताको समस्याको समाधानका लागि लाग्नेछु ।’

यस्तै आधुनिक सडक पेटीको निर्माण, सुलभ पार्किङ स्थलको व्यवस्था, प्रमुख पर्यटकीय र व्यवसायिक क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्र तोकि निशुल्क महानगरीय सवारी साधनको व्यवस्था गर्ने, सडक पेटीमा रुख रोप्ने, काठमाडौँका ३२ वटै वडामा नमूना पार्क निर्माण गर्ने जनाएको छ । काँग्रेस काठमाडौँ महानगरपालिका उपमेयरकी उम्मेद्वार हरीप्रभा खड्गी श्रेष्ठ महानगरभित्र रहेका महिला दिदिबहिनीको हक अधिकारका रक्षाका लागि आफ्नो उम्मेद्वारी भएको बताइन् ।

काँग्रेसले महानगरभित्रको फोहोरमैला व्यवस्थापन, घुम्ति शौचालयको व्यवस्था, विपद् व्यवस्थापनबारे जनचेतनामूलक कार्यक्रम, विपद्को समयमा अस्थायी वासस्थानको निर्माण, विद्युतीय सूचना प्रविधि केन्द्र, अनवरत रुपमा विद्युत उपलब्ध गराउने कुरालाई घोषणापत्रमा समेटेको छ । विभिन्न पर्यटकीय स्थानहरुमा महानगरीय पर्यटक सूचना केन्द्रहरु स्थापना गर्ने, सडक मार्ग गल्लीहरुको नाम पहिचान हुनेगरी बोर्ड राख्ने, मोवाइल एप्समार्फत मुख्य, मुख्य पर्यटकीय तथा व्यवसायिक स्थलहरुको जानकारी तथा सूचना प्रदान गर्नेलगायतका विकासका मुद्धालाई काठमाडौँ महानगरपालिका काँग्रेसले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।