तनहुँ– प्रथम मेयर कप फुटबलको उपाधि नवयुवा क्लब भादगाउँले जितेको छ। सदरमुकाम दमौलीमा बुधबार सम्पन्न फाइनल खेलमा न्यू बुद्ध युवा क्लब भानुलाई ३–० गोलअन्तरले पराजित गर्दै नवयुवाले उपाधि हात पारेको हो।
शान्तिदीप युवा क्लब शिशाघाटलाई २–१ गोलअन्तरले हराउँदै न्यु बुद्ध फाइनलमा पुगेको थियो भने गन्नी एफसी पोखरा कास्कीलाई २–० गोल अन्तरले पराजित गर्दै नवयुवाले फाइनलमा स्थान बनाएको थियो। विजेता नवयुवा क्लबले उपाधिसँगै रु दुई लाख दुई हजार दुई सय २२ तथा उपविजेता न्यु बुद्ध भानुले रु एक लाख एघार हजार एक सय ११ का साथै ट्रफी र मेडल प्राप्त गरेको छ ।
विजेता टोलीलाई कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले पुरस्कार प्रदान गरे। तीजको अवसरमा यही भदौ आठदेखि १४ गतेसम्म भएको प्रतियोगिताको फाइनल खेलका म्यान अफ दी म्याच नवयुवाका फोफोना घोषित भए।
यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी न्यु बुद्ध भानुका सन्दीप राना, सर्वाधिक गोलकर्ता नवयुवाका सन्तोष गुरूङ र उत्कृष्ट गोलरक्षक नवयुवाकै शिव पिया भए । उनीहरूलाई जनही रु सात हजार पाँच सय प्रदान गरिएको खेल संयोजक राजेश मल्लले जानकारी दिए। प्रतियोगितामा ४२ टोली सहभागी थिए ।
प्रतिक्रिया