काठमाडाैं – पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराब रुपमा प्रभावित पारेको बताएका छन् ।
प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गरेका हुन् । उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेकाे प्राप्त समाचारमा जनाइएको छ ।
बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उनले आग्रह गरेका छन् ।
कैयौँ प्रान्तमा बाढीले गरेको क्षति न्युनीकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन ।
त्यसैले उनीहरुलाई राहात र पुनस्र्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तरराष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका हुन् ।
पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ । यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । एक हजार छ सय ३४ जना घाइते भई अस्पतालमा रहेका छन् । पाकिस्तानी अधिकारीका अनुसार यहाँका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी र त्यसपछि आएको पहिरोबाट बढी मात्रामा प्रभावित छन् ।
प्रतिक्रिया