देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रदीप गिरी अवस्था बदल्ने आन्दोलनका नेता र अभियन्ता


राजनीतिककर्मीहरूको विशेष ध्यान जाने विषय हो लोकतान्त्रिक पद्धतिको स्थापना । त्यसका लागि चाहिने जति उत्सर्ग कसबाट कसरी प्रकट भयो भन्ने जुनसुकै कालखण्डमा चर्चामा आइरहन्छ । सामान्यतया व्यवस्था परिवर्तनमा ठूलाठूला र कठोर प्रकृतिका भन्न मिल्ने योगदान गर्नुभएकाहरूको पनि अवस्थाको परिवर्तनमा ध्यान नगएको वा गए पनि त्यो स्थिर रूपले केन्द्र्रित हुन अर्थात् अर्जुन दृष्टि पुग्न नसकेको कुरामा पर्दो रहेछ । अवस्थाको परिवर्तनले मात्रै कुनै पनि जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत र जनजीवनको अंग बनाउँछ । प्रदीप गिरी त्यही अवस्था बदल्ने नेता र त्यसमा निरन्तर लागिरहने अभियन्ता हुनुहुन्थ्यो ।

खासगरी जुनबेला उहाँको भौतिक शरीर रहेन त्यसबेला मुलुकमा अवस्थाको परिवर्तन होस् भन्ने चाहना आमतहमा व्यापकरूपले प्रकट भइरहेको थियो । संविधानसभाबाट संविधानको घोषणा भएपछि लोकतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवनऊर्जा समर्पण गर्नुभएका नेताहरूको सामूहिक रूपमा एउटै भनाइ आइरहेको थियो अब राजनीतिक व्यवस्था परिवर्तनका लागि कसैले पनि आन्दोलन गर्न पर्दैन । यस्तो भनिइरहँदाकै समयमा दुईवटा स्थानीय र एउटा केन्द्र्रीय सभाका लागि आम निर्वाचन सम्पन्न भयो । अर्को आमनिर्वाचन सन्निकट छ । यसमा जस्तो जनसहभागिता रह्यो त्यो भनेको आमतहमा अवस्था परिवर्तनको उत्कट इच्छा हो । दोस्रो जनआन्दोलनले देशलाई गणतान्त्रिक बनायो, सोअनुसार संविधान पनि जारी भयो । उल्लेखित निर्वाचन त्यही संविधान अनुसारका हुन् । यो संविधाजन बनाउन पनि दुईवटा महानिर्वाचन सम्पन्न भएका थिए । निर्वाचन त्यस्तो आन्दोलन हो जसले विद्यमान अवस्थामा परिवर्तन खोज्छ ।

पदीप गिरीलाई चिन्ने चिनाउने ठाउँ पनि यही हुनुपर्छ । घोषणा त भएन होला तर धेरै प्रकारले गिरीबाट अवस्था बदल्ने त्यस्तो आन्दोलनको नेतृत्व भइरहेको थियो । संसद्मा उहाँको पछिल्लो अर्थात् अन्तिम अपिलका शब्दहरूले पनि त्यही बुझाउँछ । पहिलो जनआन्दोलन पछि पनि उहाँको अभियान त्यही अवस्था परिवर्तनका लागि थिए भन्ने बुझाउने धेरै उदाहरण छन् । जस्तो उहाँको जीवन सत्तामोहबाट सधैँ धेरै नै टाढा रहेको, सादगीका प्रतिमूिर्त, विद्वताका खानी र नेतृत्वलाई यसतर्फ निरन्तर घचघच्याइरहने काम कुरा आदि आदि । परिवर्तनपछि आफ्ना नेताबाट गरिने अपेक्षा केही भिन्न हुँदा रहेछन् भन्ने बेलाबखत विभिन्न रूपबाट प्रकट हुँदै आएका पाइन्छ । त्यसका उदाहरण धेरै छन् । उहाँको भौतिक अवशानप्रति देशभरि जस्तो शोक फैलियो, आमतहबाट नै जस्ता प्रकारले श्रद्धाञ्जली प्रकट भए त्यसले पनि धेरै कुरा बताउँछ । उहाँको जीवननै एक प्रकारले अवस्था परिवर्तन गर्नका लागि उत्सर्ग भएको थियो भन्ने आम बुझाइ अन्तिमसम्म नै कायम रह्यो । उहाँप्रतिको श्रद्धाञ्जलीमा प्रकट भएका र सबैभन्दा बढी उल्लेख भएका शब्द हुन्– ‘वैचारिक हिसाबले शुष्क र निष्प्रभ समकालीन नेपाली राजनीतिमा आशाको प्रकाश फ्याँक्ने अति सीमित व्यक्तिमध्ये एक थिए– प्रदीप गिरी ।’

जो कोही सामाजिक र राजनीतिक अभियन्ताका लागि उहाँको जीवन अध्ययन र अनुकरणीय नै बन्यो । समाजमा लोकतन्त्रलाई जीवन पद्धतिसँग जोड्नु नै अवस्थाको परिवर्तन हो । उहाँले आफ्नै जीवनलाई त्यसको पाठशाला बनाउनु भएको थियो भन्ने सबैको बुझाइ हो जुन कुराले उहाँलाई साधारण व्यक्तिसमक्ष आशाको प्रकाश फ्याँक्ने अति सीमित व्यक्तिमध्येकै एक बनायो ।

देशमा धेरै ठूला र ऐतिहासिक जनआन्दोलनहरू सम्पन्न भए । २००७ को जनक्रान्तिबाहेक बाँकी सबै आन्दोनमा गिरीको संलग्नता थियो । यी सबै आन्दोलन नेपाली कांग्रेसका आदरणीय नेताहरूको नेतृत्वमा सम्पन्न भएका हुन् । त्यो छत्तिसको जनमत संग्रह होस् कि २०४६ सालको । गणतन्त्र ल्याउने आन्दोलन पनि कांगे्रसकै नेतृत्वमा भएको हो । त्यसकारण पनि अवस्थामा परिवर्तनको खोजी बढी रूपमा कांग्रेसबाटै खोजिनु अस्वाभाविक होइन । गिरीले आफ्नो जीवनकालमा विभिन्न प्रकारले यस कुरालाई उठाउँदै नै आउनु भएको पाइन्छ ।

उहाँको जीवनको अन्तिम क्षण गणतान्त्रिक नेपालको सांसदका रूपमा बित्यो । २०५१ बाट उहाँको संसद् प्रवेश भएको थियो । त्यसपछि २०५६ को निर्वाचनमा बाहेक उहाँ सधैं निर्वाचित हुँदै आउनु भयो । महानिर्वाचन पनि एउटा आन्दोलननै हो । जनआन्दोलन र निर्वाचन आन्दोलनले कस्तो बिहानी ल्यायो ? परिवर्तनका लागि सम्पन्न भएका यति धेरै अभ्यासहरूमा साधारण व्यक्तिको जीवनसँग जोडिने गरी त्यस्तो परिवर्तन आएन भन्ने उहाँको बुझाइ रहेको पाइन्छ । उहाँ आफैँ चाहि त्यस्तो परिवर्तन ल्याउने ठाउँमा जानु भएन । त्यो किन होला भन्ने सवाल उहाँसंँग जोडिएको निजी हुन सक्तछ ।

तर उहाँले आफ्नो अन्तिम साससम्म गरिरहुन भएका प्रश्नहरू सबैका लागि शाश्वत छन् । खासगरी राज्यको हर्ताकर्ता भएर भूमिका निर्वाह गर्नु भैरहेकाहरूले त यसको उत्तर खोज्न झनै जरुरी छ । एउटा जनक्रान्ति, तीन वटा जनआन्दोलन र संसदीय पद्धति अन्तगर्तका स्थानीय समेत गर्दा १२ वटा महानिर्वाचनका सन्दर्भमा गरिले अवस्थामा परिवर्तनको सन्दर्भ खोज्नु भएको अवस्था छ ।

अवस्था परिवर्तन गर्न अन्तिम अपिल

उहाँले आफ्नो जीवनको अन्तिम नै होला संसद्मा दिनुभएको वक्तव्यको अंश हेरौं । उहाँको यो वक्तव्य २०७८ साउन १५ को हो । यो दिनसम्म आइपुग्दा नयाँ संविधान घोषणा भएको आठौं वर्ष र दोस्रो जनआन्दोलनको सत्रौं वर्ष चलिरहेको थियो । यो दिन उहाँँले संसद्मा एउटा गम्भीर प्रश्न छाड्नुभएको छ जो परिवर्तनका अभियन्ता हामी जो कोहीले पनि यसको मनन् गर्नुपर्छ । उहाँको प्रश्न हो अवस्थामा परिवर्तन आयो त ? त्यसदिन गिरीले दिनुभएको वक्तव्यका उहाँकै शव्दमा केही अंश –
‘म उभिएको कारण के थियो भने प्रधानमन्त्री शेरबहादुरजीलाई शुभकामना र बधाई पनि दिन । सँगसँगै उहाँलाई सम्झना गराउन । सानो कुरा सम्झना गर्नुहोला– दोस्रो जनआन्दोलनको उपलब्धि, जनादेशका बेलामा हाम्रा तात्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँकै नेतृत्वमा ०६३ को अन्तरिम संविधान बन्यो । त्यो अन्तरिम संविधानका संवाहक, परिचालक को को थिए, ती सबै अनुहार अहिलेको सरकारमा सहभागी छन् । सशस्त्र जनसंघर्ष थालेर १२ बुँदे सम्झौतामा पुग्नुभएका नेकपा माओवादीका नेता, सभामुखसमेत, मधेस आन्दोलनका नाममा अन्तरिम संविधानलाई चुनौती दिने अर्का नेता– एमालेकै सहयात्री थियो । तर, एमालेको त्यस समयको नेतृत्व कदाचित अहिले पनि कार्यकर्ता पंक्तिमा टाउको गन्दा सांसदभन्दा बढी हैसियत राख्ने वर्तमान यस गठबन्धनका सहयोगी कमरेड माधव नेपाल । दलको तानाशाहीभन्दा माथि उठेर विवेक प्रयोग गर्ने कतिपय स्वतन्त्र सांसद पनि यो सरकारमा आबद्ध हुनुहुन्छ ।

यो गठबन्धन किन ? पञ्चायतकालमा मिल्थ्यो बाँडीचुँडी खान ? हैन भने यो गठबन्धनका प्रत्येक सदस्यले छातीमा हात राखेर सम्झिनु पर्‍यो । गणतन्त्र घोषणापछि अथवा संविधान जारी भएपछि पनि आम जनतालाई किन लागेन कि बल्ल हाम्रो पालो आएछ । लाखौँ रूपमा चप्पल लगाएर सडकमा उत्रिएका नेपाली जनतालाई किन लागेन ? ए अब त नेपाली जनताको शासन आएछ । यस मोर्चाका सबै संगठकले खासगरी अध्यक्ष प्रचण्डले, नेता बाबुराम भट्टराईले, उपेन्द्र यादवले, माधव नेपालजीले सबैले सोच्नुप¥यो– वास्तवमा विगत १० वर्ष कसरी गएछ त ? के सपनै सपनामा गयो, के भएको थियो त ?

मैले यो व्यंग्यात्मक शैलीमा भनिरहेको छैन । स्वप्नद्रष्टामध्ये एक म पनि हो । मुख्य कुरा के थियो माग ? उर्दुमा एउटा राम्रो कविता छ पाकिस्तानको समस्याका विषयमा कवि खयद अहमदले लेखेको–
जुन बिहान होला भनेर हिँडेथ्यौँ हामी, त्यो बिहान त यो रहेनछ अर्कै पो समय आएछ ।

आम जनतामा जुन असन्तोष आएको छ, नागरिक समाजको आन्दोलन तात्दै हिँडेको छ, यसलाई बिर्सिएर सर्वोच्च अदालतका पछिल्ला दुई फैसलामा रमाउने काम नगर्नुस् ।
कोभिडका बारेमा खोप खोप खोप भनेर वर्तमान प्रधानमन्त्रीले भन्नुभएको छ, त्यसका लागि धन्यवाद । तर, साथीहरूमा जुन असन्तोष र निराशा सत्ताधारी पंक्तिबाट आइरहेको छ, त्यसलाई उहाँले ध्यान दिनुहोस् । हो खोप अन्त्यन्त आवश्यक कुरा हो । त्यति मात्रै होइन, त्यत्तिकै महत्वको विषय हो सुशासन ।

एकातिर नेपाली कांग्रेसले सिक्नु परेको छ– लोकतन्त्रको जडसूूत्रीय मान्यताबाट मात्र चल्दो रहेनछ लोकतन्त्र । लोकतन्त्र भनेका पाँच वर्षको चुनाव मात्र होइन । लेख्ने कुराको स्वतन्त्रता मात्र पनि होइन । मैले यहीँबाट चेतावनी दिएर भनेको थिएँ केपी ओलीलाई, लोकतन्त्र भनेको संख्यातन्त्र पनि होइन । मैले राजीव गान्धी र इन्दिरा गान्धीको उदाहरण दिएर भनेको थिएँ, लोकतन्त्र भनेको संख्यातन्त्र होइन । ओलीजीले बुझ्नुभयो । अब यो सरकारले बुझ्नुपरेको छ । लोकतन्त्रको मर्यादा राख्दै लोकतन्त्रको मर्ममा पुग्दै, लोकतन्त्रलाई बढीभन्दा बढी ¥याडिकल (जनमुखी) कसरी बनाउने ? लोकतन्त्रको जडसूत्रीय परिभाषाबाट माथि उठ्नु परेको छ ।