देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

२८३ स्थानीय तहमा कांग्रेसबाट ११९ उमेदवार जनजाति, मधेसी तथा दलित समुदायबाट

देशान्तर

काठमाडौं । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले प्रमुख तथा उपप्रमुखमा महिला र जनजाति उल्लेख्य रूपमा उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि दिएको उम्मेदवारीमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षमा एक सय नौ जना जनजाति, मधेसी तथा दलित समुदायबाट उम्मेदवारी बनाएको छ भने नगरपालिका र गाउँपालिका गरी ७ स्थानीय तहमा महिलालाई प्रमुखमा उम्मेदवार बनाएको छ ।

कांग्रेसले सिन्धुलीको दुधौली नगरपालिकामा गंगा दाहाल, जुम्लाको चन्दननाथ नगरपालिकामा कान्तिका सैजुवाल र मकवानपुरको थाहा नगरपालिकामा पवित्रा महत विष्टलाई उम्मेदवार बनाएको छ । यस्तै, चितवनको इच्छाकामना गाउँपालिकामा गीता गुरुङ, तनहुँको म्याग्दे गाउँपालिकामा माया राना, लमजुङको दूधपोखरी गाउँपालिकामा छुपीमाया गुरुङ र नवलपरासीको हुम्सेकोट गाउँपालिकामा लक्ष्मी पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाएको नेपाली कांग्रेसले जनाएको छ ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिका प्रमुख तथा अध्यक्षमा १ सय ९ जना जनजाति, मधेसी तथा दलित समुदायबाट उम्मेदवारी बनाएको छ । त्यसैगरी नगर उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षमा ९७ जनाको जनजाति , दलित तथा मधेसी समुदायबाट उम्मेदवारी परेको पाइएको छ ।

नगरपालिका प्रमुखमा दुईजना तथा गाउँपालिका अध्यक्षमा चारजना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै नगरपालिका प्रमुखमा जनजाति समुदायबाट २४ जनाको उम्मेदवारी परेको छ भने उपप्रमुखमा एक पुरुषसमेत ३० जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको पाइएको छ । जसमध्ये चारजना दलित तथा एकजना मधेसी समुदायबाट उम्मेदवारी परेको छ । त्यसैगरी गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिनेमा तीनजना महिलासमेत ८५ जनाको जनजाति समुदायबाट उम्मेदवारी परेको छ ।

त्यसैगरी गाउँपालिका उपाध्यक्षमा उम्मेदवारी दिनेमा ६७ जना जनजाति समुदायको परेको छ । जसमध्ये दुई जना पुरुष, चार जना दलित तथा एक मधेसी समुदायबाट उम्मेदवारी परेको पाइएको छ । वैशाख ३१ गते हुने स्थानीय निकायको पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ का ४ महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिका तथा एक सय ८६ गाउँपालिका गरी दुई सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।