काठमाडौं – नेप्सेमा पुनः गिरावट आएको छ । अघिल्लो दिन सात दशमलव ७२ अंकले घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) पुनः सात दशमलव ३८ अंकले घटेर दुई हजार ५३ दशमलव १६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ४७ अंकले घटेर तीन सय ९७ दशमलव ११ अंकमा झरेको छ ।
दुई सय २२ कम्पनीको ३१ हजार सात सय ९५ पटकको कारोबारमा ५२ लाख ३० हजार सात सय ६३ कित्ता सेयर खरिद–बिक्री भएको छ । जसकारण सोमबार कुल कारोबार रकम एक अर्ब ७२ करोड ६२ लाख ८७ हजार चार सय ३० रुपैयाँ पुगेको छ ।
नेप्सेमा सोमबार १३ समूहको कारोबार हुँदा सामूहिक लगानी कोष समूहको सूचक झिनो अंकले बढेर बाँकी समूहको घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव ४८ अंकले घटेर १३ सय ५६ दशमलव ४९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक २२ दशमलव ७६ अंकले घटेर तीन हजार सात सय ५२ दशमलव ६४ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक पनि १६ दशमलव ७३ अंकले घटेर दुई हजार चार सय ५२ दशमलव ५३ अंंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक ४७ दशमलव ३३ अंकले घटेर आठ हजार दुई सय १९ दशमलव ८९ अंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक पनि दुई दशमलव ९५ अंकले घटेर नौ हजार चार सय नौ दशमलव ३८ अंकमा झरेको छ । यसैगरी फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज अपरहेवाखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर दुई सय ७३ रुपैयाँ ९० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईबीएल समृद्धि फन्ड २ को प्रतियुनिट सेयर मूल्य ६ दशमलव ७५ प्रतिशतले घटेर सात रुपैयाँ ७४ पैसा अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ।
यसैगरी सोमबार हिमाल दोलखा हाइड्रो पावर कम्पनीको प्रतिकित्ता दुई सय ३५ रुपैयाँ अन्तिम मूल्यमा २८ करोड १८ लाख ७१ हजार तीन सय २६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया