देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

झुक्काउन खोज्दैमा अब कोही पनि झुक्किदैनन्


पाँचमध्ये चार सत्ता गठबन्धन दल नेताहरूको भनाइलाई आत्मसात् गर्ने हो भने गठबन्धन केवल नेपाली कांग्रेस (नेका) लाई मात्र चाहिएको हो । प्रमुख घटक नेता प्रचण्ड, माधव नेपाल तथा झलनाथ खनालले बारम्बार कांग्रेसले स्थानीय निर्वाचनमा धोखा दिएको आरोप लगाउँदै आएका छन् । अपरिभाषित ‘सम्मानजनक एवं मर्यादित साझेदारी’को माग गर्दै छन् ।

उनीहरूको कथनलाई विश्वास गर्ने हो भने नेका सभापतिसँगको अलिखित सम्झौता नै भएको छ । आसन्न निर्वाचनपछिका दिनमा उनीहरूले पाउने विभिन्न स्तरको सरकार सञ्चालन जिम्मेवारी पदीय भागबन्डा भइसकेको आभास पाइन्छ । यावत् कारणहरूले गर्दा मात्र उनीहरू गठबन्धनलाई निरन्तरता दिन तयार भएका छन् । गठबन्धनभित्र सानो आकारकै किन नहोस ‘वाम एकता’ निर्माणमा पनि जुटेकै छन् । त्यसो त अवसर मिले ‘कम्युनिस्ट एकता’ प्रयासलाई रोकेका छैनन् । नेका उपर जतिसुकै गुनासो, सिकायत तथा आरोप लगाए पनि नलुकेको वास्तविकता उनीहरूको राजनैतिक अस्तित्वको जगेर्ना हो । कांग्रेसको छहारीबिना त्यो जोगिन कठिन छ । स्थानीय स्तरका जनभावनालाई विश्वास गर्ने हो भने कांग्रेसको फेरो नसमाती उनीहरूका निमित्त अभिसान्न निर्वाचनमा निर्वाचित हुने सम्भावना शून्यको हाराहारीमा छ । कांग्रेस गठबन्धन बेगर सत्तामोह साकार हुने अवस्था त उनीहरूका निमित्त छँदै छैन । यति हुँदाहँुदै पनि किन तिनै नेता नेकालाई बदनाम गर्न अभ्यस्त छन् ? शत्रुतर्फ आंैला सोझ्याउने उनीहरूको जन्मसिद्ध आदत हो । नेका उनीहरूका निमित्त शत्रु थियो, अझै छ र भोलिका दिनमा पनि भइनै रहनेछ ।

नेका नेता कार्यकर्ता सबै आफूलाई विश्वेश्वरप्रसाद कोइराला (बीपी) का अनुयायी कहलाउन रुचाउँछन् । बीपी जतिसुकै भौतिकवादी भए पनि तिनका ‘कट्टर अनुयाह’ देवत्तोकरण गर्दैछन् तिनलाई । ‘महामानव’ पदवी पहिराउने भक्तजनको वर्चस्व छ नेका नेतृत्व पंक्तिमा । व्यवहारमा उनीहरूको कार्य १८० डिग्री फरक छ । बीपीले लिएका ३ अटल अडान कांग्रेसजनले बिर्सेको धेरै भइसकेको छ । माक्र्सवादी विचारक बीपीको कम्युनिस्टसँग कुनै किसिमको साँठगाँठ विरोधी हुनुहुन्नथ्यो। बीपीलाई अवसर पाउँदा साथै कम्युनिस्टले धोखा दिन्छन् भन्ने थियो । कम्युनिस्टहरूको लक्ष्य सत्ता प्राप्ति भएको हुनाले जुनसुकै हतकण्डा अपनाएर उनीहरू सत्तामा कब्जा जमाउन हरहमेसा तयार हुन्छन् । लक्ष्य प्राप्ति पछि उनीहरूले आफ्ना सहयात्री तथा सहयोगीलाई धोखा दिन्छन् भन्नेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो ।

दोस्रो बीपीका निमित्त सत्ता प्राप्तिलाई आफैंमा गन्तव्य थिएन । उहाँका लागि सत्ता साधन वा माध्यम थियो । लोकतान्त्रिक समाजवादी आदर्श अनुरूपको गतिशील समाज स्थापनाका निमित्त सत्तासीन हुनु आवश्यक ठान्नु भएको थियो । सत्ता प्राप्तिले विपन्न नागरिकको सशक्तीकरण गरेर सम्पन्न तुल्याउने नीति कार्यान्वयन गर्न सकिन्छ भन्ने विश्वास थियो । तेस्रो बीपी लोकतान्त्रवादी थिए । लोकतान्त्रिक मूल्य मान्यतालाई प्रतिकूल असर पार्ने कुनै पनि कार्य उहाँका लागि स्वीकार्य थिएन । आलोकतान्त्रिक सौदाबाजी उहाँका निमित्त अकल्पनीय थिए ।
मंसिर ४ नजिकिँदै गर्दा बीपीको भजनमण्डली ‘कांग्रेसले गठबन्धन गरेन भने अन्य दलले गरिहाल्छ’ भन्न थालेका छन् । अन्तर्निहित कारण बिना गठबन्धन कांग्रेसले सत्ता प्राप्त गर्न सक्दैन भन्ने हो । सत्ता अवसर गुमाउँदा देशमा गर्दै आएको रजगजले निरन्तरता पाउँदैन । कम्युनिस्टले मोर्चाबन्दी गरी हाले भने नेका अल्पमतमा पर्छ । कम्युनिस्टले बहुमत कायम गरेपछि सत्ताप्राप्तिको लक्ष्य चकनाचुर हुन्छ । यस्तो निरीह स्विच राख्ने पात्रले कांग्रेस किन यति बिघ्न कमजोर भयो ? भन्ने विषयको उठानसम्म पनि गर्दैनन् । गर्वशाली इतिहासको लामो बखान गर्ने नेता नेका यति बिघ्न निर्दो हुनुको पछाडिको कारण खुल्ला भन्नेमा त्रासित छन् । दललाई आफ्नो पकडमा जकड़ाउने नेताले यस्ता विषयमा आन्तरिक अन्तरक्रिया वा छलफल हुन दिँदैनन् । त्यसो गर्दा उनीहरूको स्वार्थ बाझिन्छ । किनकि विगत ३३ वर्षदेखि दलमा राजगज त आखिर यिनै नेताहरू हुन् । नेकाको लोकप्रियतालाई पिँधमा पुर्‍याउने जिम्मेवार त यिनै पात्र उहाँहरू सामूहिक जिम्मेवार छन् ।
जजस्ले नेका दललाई वर्तमान अवस्थामा पु¥याए उनीहरूको स्वार्थ गठबन्धनको निरन्तरतासँग गाँसिएको छ । बेगर गठबन्धन उनीहरूका निमित्त पनि संसद् हुने अवसर न्यून छ । त्यसका साथै सत्तासीन हुने सपना चकनाचुर हुन्छ । त्यति मात्र होइन सत्ताच्युत भएपछि ‘संस्थापन इतरपक्ष गुट नेता’ पदबी गुम्ने तथा दलमा चलाउँदै आएको हैकम शून्यमा झर्ने जोखिम । बीपीले चाहेको सत्ताको आवश्यकता सैद्धान्तिक तथा आदर्शवादी ठहर गरेका छन् तिनका व्यावहारिक भक्तजनले ।
नेपाल कम्युनिस्ट दलको संस्थापक नेता निःसन्देह पुष्पलाल हुन् । तर नेपाली कम्युनिस्टलाई वर्तमान अवस्थामा पुर्‍याउन योगदान कम्युनिस्ट नेतालेभन्दा बढी अन्यले गरेका हुन् । कम्युनिस्ट शक्तिलाई मौलाउने अपूर्व अवसर पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य तथा राजा महेन्द्रले दिएका हुन् । नेकालाई दबाउन टंकप्रसाद तथा राजा महेन्द्रले भूमिगत अवस्थाको कम्युनिस्टलाई मलजल उपलब्ध नगरी दिएको भए संगठन विस्तार हुने थिएन । छरिएका कम्युनिस्टलाई एकीकृत गर्ने योगदान सर्वमान्य नेता गणेशमान सिंहले गरे । लगत्तै अर्थात् संसदीय व्यवस्थाको पुनस्र्थापनापश्चात्को प्रथम संसदीय निर्वाचन (२०४६) मा सहभागी हुन माधवकुमार नेपालको माग अनुरूपको आर्थिक स्रोत सन्त नेता कृष्णप्रसाद भट्टराईले जुटाई दिए । गिरिजाप्रसादले माओवादीलाई जंगलबाट सहर, गाउँमा स्थापित हुने अवसर सुनको थालमा दिए । कम्युनिस्टले गुणको पंैचो कसरी ति¥यो ? ताजा संस्मरणमा रहेको विषय खोतल्नु आवश्यक ठान्दिनँ ।

बीपीका कर्मठ अनुयायी तथा कान्छो भाइ गिरिजाप्रसाद, सहयात्री सहयोगी कृष्णप्रसाद, अनन्य अनुयायी अनुज सुशील कोइराला तथा अनुयायी शेरबहादुर देउवालाई प्रधानमन्त्री पद मिल्यो पटकपटक । उक्त पद दोहो¥याउन चुकेका अपवाद केवल सुशील कोइराला मात्र हुन् । उहाँहरू सबैलाई दल सभापति हुने अवसर पनि सँगसँगै मिल्यो । राष्ट्र सञ्चालन तथा व्यवस्थापन अभिभारा सम्हाले पछि सबैले पदीय जिम्मेवारीलाई आत्मासात् गरिदिएको भए देशको अवस्था फरक हुने थियो । उनीहरूका निमित्त पद प्राप्ति लक्ष्यमै सीमित रह्यो । पदीय मर्यादा अनुरूपको जवाफदेही शासन प्रणाली सञ्चालन गर्नुभन्दा पटके प्रधानमन्त्री हुने रहर उनीहरूमा हाबी भयो । उक्त लक्ष्य प्राप्तिमा उनीहरू सफल रहे दल तथा मुलुक भने असफल ।

प्रतिस्पर्धा लोकतान्त्रिक प्रणालीको मुटु हो । राजनैतिक प्रतिस्पर्धालाई तगारो वा अवरोध गर्ने सबै कार्य अलोकतान्त्रिक हुन् । गठबन्धन परिभाषाले नै प्रतिस्पर्धालाई निषेध गर्ने अभ्यास हो । स्थापित नेताजानले सत्ता कब्जा गर्ने हेतुले गरिएको गठबन्धन अलोकतान्त्रिक मात्र होइन राष्ट्र हित विपरीत छ । नेकाको आदर्श, मूल्य मान्यताविपरीत धु्रवका राजनैतिक शक्ति तथा पात्रहरूसँगको गठबन्धनले दलका नेता तथा कार्यकर्ताहरूमा के, कस्तो प्रभाव पारेको छ त्यसको बेली विस्तार आवश्यक छैन । हँसिया हथौडामा छाप लगाउन बाध्य कार्यकर्ताको मनोदशा उल्लेख गर्नसमेत आवश्यक हुँदैन । सरकार गठन, पूर्णता तथा उसले गरेको गतिविधि देशहित बर्खिलाफ कति छ त्यसको वर्णनसमेत आवश्यक छैन । किनकि विगत एक वर्षभन्दा लामो अवधिदेखी सर्वसाधारणले भोग्दै आएका छन् । अधिकांश नरनारीका निमित्त खड्गप्रसादको बहिर्गमन तथा शेरबहादुरको सत्ता सञ्चालन आगोमा तातेको तावाबाट आगोमा हामफाले बराबरी सिद्ध भएको छ ।

धरातलीय वास्तविकतालाई लुकाउँदै धम्भ अथवा घमण्डकै आधारमा बहुमत कायम गर्ने गफ जतिसुकै चुटे पनि अधिकांश शीर्ष नेताहरूको अवस्था अत्यन्त नाजुक छ । लोकप्रियताको स्थलगत अध्येताहरूअनुसार पूर्व तथा वर्तमान प्रधानमन्त्री कुनै पनि विगतका तिनका निर्वाचन क्षेत्रमा सुरक्षित छैनन् । झापा, इलाम, रौतहट, गोर्खा, चितवन तथा डँडेलधुरा निर्वाचन क्षेत्रमा निष्पक्ष मतदान तथा धाँधलीरहित मतगणना भयो भने उनीहरूले आगामी संसद् सदस्य हुन पाउने सम्भावना न्यून छ । वर्तमान तथा निवर्तमान प्रधानमन्त्रीको हकमा निर्वाचित हुन गठबन्धनको सहारा मात्र अपुग हुने अवस्था छ । खड्गप्रसाद र शेरबहादुरबीच एकआपसमा एकले अर्कोलाई भरमग्दुर सहयोग (षड्यन्त्र) गरेनन भने दुवै आ—आफ्नो निर्वाचन क्षेत्रमा पराजय भोग्नुपर्ने प्रबल सम्भावना प्रचुर छ ।

त्यसो त विगत ३३ वर्षदेखि हाबी भएका नेतालाई उनीहरूकै दलबाट उम्मेद्ववारी प्राप्त गर्न समेत कठिन हुँदैछ । अन्तरदलीय उम्मेद्ववार चयन प्रणाली ‘टिके प्रथा’को विकल्पमा आन्तरिक प्रतिस्पर्धा भैदिएको भए अधिकांशले उम्मेदवारी (टिकट) दिने अवसर पाउँदैनन् । अधिकांश दल सदस्य तथा मतदाताका निमित्त कुन नेताले पञ्चायतको विरुद्ध के कस्ता त्याग गरे त्यो इतिहासमा परिणत भइसकेको छ । दलको नेतृत्व सम्हालेपछिका दिनमा दलको गरिमालाई कुन दिशातर्फ उन्मुख तुल्याए उनीहरूको मूल्यांकन गर्ने आधार भएको छ । दल कार्यकर्ताको हकमा नेताको नभएर दलको भविष्य उनीहरूको चिन्ताको विषय हुन पुगेको छ ।

त्यसैगरी विगत केही वर्षदेखि सर्वसाधारणका निमित्त ‘संविधानको संरक्षण तथा परिवर्तनको संस्थागत’जस्ता सुगा रटाइ औचित्यहीन हुँदैछ । देशमा आएको परिवर्तनले सर्वसाधारणको दैनिकीमा के कस्तो असर परेको छ त्यसले महत्व राख्दछ । सर्वसाधारण नागरिकको जीवन कति उन्नतिशील, सुखद र सुरक्षित रह्यो चासो त्यसमा छ । गाँस, बास, रोजगारी तथा सार्वजनिक सुविधा (जस्तै धारामा आउने पिउने पानी, शिक्षा तथा स्वस्थ्य सेवामा पहुँच, फोहोर महिला व्यवस्थापन तथा सडक)मा के कस्ता परिवर्तन आयो त्यसले महत्व राख्छ । देशमा आफ्ना सन्ततिलाई गरी खाने वातावरण निर्माण भएको छ वा छैन त्यस विषयमा सर्वसाधारणको सरोकारको विषय भएको छ । पञ्चायतकालीन नेपालमा ‘प्रजातन्त्रको पुनस्र्थापना’ का निमित्त कुन नेताले के कस्ता योगदान पुर्‍याएका थिए । अथवा कुन नेताले ‘जनबवाद स्थापना’ लक्ष हासिल गर्न निहत्या ‘जमिन्दार तथा शोषक’ सफाया अभियोग सञ्चालन तथा तिनले जेल सजाय भोगेको महत्व इतिहासमा सीमित भइसकेको छ ।

देशले पाँच वर्षको अवधि खेर फाल्यो भन्ने छाप खड्गप्रसाद ओली तथा शेरबहादुरले छोडेका छन् । खड्गप्रसादले आफ्नो साढे तीन वर्ष लामो शासनकालमा भए गरेका काण्डहरूलाई जतिसुकै जुठा प्रचारले ढाक्न खोजे पनि ढाकिँदैन । त्यसैगरी तिनको जस्तो भ्रष्ट अहंकारी अलोकतान्त्रिक शासन व्यवस्थाको विकल्प गठबन्धन सरकार भनेर जति ढोल पिटे पनि अब सर्वसाधारणले पत्याउँदैन । मतदाताका सामुन्ने खडा भएको यक्ष प्रश्न भनेको घरीघरी परिचित पात्रलाई शासकीय जिम्मेवारी सुम्पेर आफ्नो तथा सन्ततिको भविष्य अन्धकार तुल्याउने अथवा तिनलाई निर्वाचनमा परस्त गरेर नयाँ आयामको सुरुवात गर्ने हो । आजका मतदाता झुक्याउनेबाट थकित भइसकेका छन् । अब झुक्किनेवाला छैनन् ।