काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । राष्ट्रपति भण्डारीले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ भर्ना गरिएका सांसद गिरिको स्वास्थ्यबारे जानकारी लिँदै उनको स्वास्थ्यलाभको कामना गरेकी छन् ।
बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति करिब एक घण्टासम्म अस्पतालमा रहेकी हुन्।
यसअघि आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रतिनिधिसभा सदस्य गिरि लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना अघि नेपाल फर्किएका थिए ।
नेपाल फर्किनासाथ निमोनिया देखिएपछि नेता गिरिलाई थप उपचारका लागि गत साउन नौ गते नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । डा पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्नछ ।
प्रतिक्रिया