देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विमानस्थलमा अर्को सुन काण्ड, ४० तोला बोकेका प्रधिकरणका अधिकृत पक्राउ

देशान्तर

काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरणका आठौँ तहका अधिकृतसहित दुई जना ४० तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ परेका छन् ।

कतार एअरवेजको विमान हुँदै कतारको दोहाबाट काठमाडौँ आइपुगेका यात्रु मनिष रिमाल विमानस्थलबाट ओर्लिएलगत्तै प्राधिकरणका अधिकृत किशोरकुमार खत्रीले रिमालको सो सुन आफ्नो साथमा लिएका थिए ।

विमानस्थल भन्सारका प्रमुख नारायण सापकोटाले शङ्कास्पद गतिविधि देखिएपछि भन्सारका कर्मचारीले खत्रीलाई निगरानीमा राखी यात्रु जाँच कक्षमा पुगेपछि नियन्त्रणमा लिएको जानकारी दिए ।

विमानस्थलकै कर्मचारी भएकाले जाँच नहुने र सहजै सुन बाहिर निकाल्ने दाउमा खत्री रहेका थिए । सापकोटाले भने, “विमानस्थलको टावरमा ड्युटी रहेका खत्री विमानबाट यात्रु ओर्लिने ठाउँमा जानुले नै उनको गतिविधिमा शङ्का उत्पन्न भएको थियो ।” चार वर्षपछि कतारबाट आएका रिमालले १०÷१० तोलाको चार वटा बिस्कुट आकारमा सो सुन ल्याएका थिए ।

पक्राउ दुवै जनालाई थुनामा राखी अनुसन्धान भइरहेको छ । उनले भने, “आज बयान लिन भ्याइएन, आइतबार विस्तृत रुपमा बयान लिन्छौँ ।” खत्रीका साथमा विमानस्थलको सबै ठाउँमा जान मिल्नेगरी जारी गरिएको कार्ड भेटिएको छ ।