किनभने त्यो पार्टी, भोटका लागि योग्य छैन । २०७४ सालमा त्यसले इतिहासमै पहिलो पटक झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेर खड्गप्रसाद ओलीको नेतृत्वमा स्थिर सरकार गठन गरे पनि आफ्नै पार्टीभित्रको झगडाले पाँच वर्ष चलाउन सकेन । तीन वर्षमै सत्ता छाड्नुपर्यो । जसले मौका पाउँदा त्यो सरकार चलाउन सकेन, फेरि त्यसैलाई अवसर दिनु भनेको भोट लिने होइन, दिने मूर्ख सावित हुनु हो । मतदाताले कुनै बेला गलत निर्णय गर्न सक्छन् तर उनीहरू मूर्ख भने हुँदैनन् ।
झन्डै दुई तिहाइको सरकार, तब साँच्चैको दुई तिहाइ बहुमतमा परिणत भएको थियो, जब उपेन्द्र यादव, उपप्रधानमन्त्रीका रूपमा त्यो सरकारमा सामेल भएका थिए । जालझेल गरेरै सही, कम्युनिस्ट पार्टीको त्यो सरकारले २०१६ सालको नेपाली कांग्रेसको दुई तिहाइ बहुमत प्राप्त गरेको आँकडा छुन सफल भएको थियो । त्यसैले जनताको अपेक्षा पनि बढ्न पुगेको थियो । शान्ति, स्थिरता र सुशासन कायम हुने अपेक्षा जनताले गर्न थालेका थिए ।
शान्ति, स्थिरता र सुशासन भत्काउने र देशमा हत्या, हिंसा र आतंक मच्चाउने कम्युनिस्ट नै थिए । जब प्रशासन, प्रहरी र अदालतबाट न्याय प्राप्त हुन छाड्छ, तब चोरलाई ताल–साँचो सुम्पियो भने सञ्चोसित सुत्न पाइन्छ भन्ने नेपाली उखान त्यसबेला फेरि चरितार्थ भएको थियो, जत्तिबेला जनताले कम्युनिस्टलाई त्यस्तो प्रचण्ड बहुमत प्रदान गरेका थिए ।
कम्युनिस्टको त्यो सरकारले पाँच वर्षका लागि जनादेश पाएको तथ्य सर्वविदित छ । केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय तहमा पनि उनीहरूकै बहुमत थियो । चाहेको, जानेको र सकेको भए स्थिर सरकार चलाउन कुनै प्रकारको राजनीतिक बाधा विरोध थिएन । किनभने प्रतिपक्षमा थियो, कांग्रेस । संख्यामा त कम थियो नै, कांग्रेसको मनोबल पनि पाताल भासिएको थियो । त्यसैले उसले पाँचवर्ष, प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्ने लाचार निर्णय गरेको थियो । उसले यो पनि घोषणा गरेको थियो कि संसदीय व्यवस्थामा प्रतिपक्षको सकारात्मक भूमिका कस्तो हुन्छ, उसले त्यसको आदर्श नमुना प्रस्तुत गरेर देखाउनेछ ।
कांग्रेसले निर्वाचित सरकारलाई समर्थन र सहयोग गर्न पाँच वर्षसम्म शान्ति भंग हुने, स्थिरता खल्बलिने र सुशासनमा बाधा पर्ने कुनै प्रकारका नकारात्मक कार्यक्रम आयोजन नगर्ने, संघर्ष– तोडफोड, कुनै हालतमा नगर्ने दृढ संकल्पसमेत गरेको थियो । उसको त्यस्तो सहिष्णुतालाई धेरैले अयोग्यता र अकर्मण्यताको संज्ञा पनि दिएका थिए । तैपनि कांग्रेसले लाज र शरम मानेन । आफ्नो अडानबाट डेग चलेन ।
बिनाशकाले विपरीत बुद्धिका ओलीले सरकारको नेतृत्व सम्हाल्ने बित्तिकै घोषित गरेका थिए– अब नेपालमा ५० वर्षसम्म कम्युनिस्टले राज गर्छ । कांग्रेसले सरकार चलाउने र देश हाँक्ने दिन गए । उसलाई राष्ट्रिय राजनीतिमा फेला पार्न दिउँसै बत्ती बालेर खोज्नुपर्ने हुन्छ ।
ओलीले बकवास मात्र गरेका थिएनन् । त्यो उनको विश्वास पनि थियो । एक सच्चा कम्युनिस्टले सत्ता हत्याएपछि गर्ने त्यही हो, जे उनले भनेका थिए । रुसमा लेनिनले, चीनमा माउत्से तुङले, भियतनाममा होची मिन्हले, उत्तर कोरियामा किम इलसुङले, क्युवामा फिडल क्यास्त्रोले त्यही गरेका थिए, जे ओलीले बोलेका थिए । फरक कति भने उनीहरू सबैले आफ्नो मुलुकमा सत्ता हत्याउन लालसेना प्रयोग गरेका थिए । त्यो सेनाका माध्यमबाट बलात् सत्ता खोसेकाले त्यसैका बलमा टिकाएका पनि थिए । एमाले नामको कम्युनिस्ट पार्टी, यथार्थमा कम्युनिस्ट पार्टी नै होइन । त्यो त कम्युनिस्टको मुखुण्डो लगाएको घोर प्रतिक्रियावादी पार्टी हो, जसले एउटाको नाम जपेर अर्काको काम गर्ने एजेन्सी पाएको छ ।
माथि उल्लेखित कम्युनिस्ट नेताले आफ्नो देशमा संविधानसभाको चुनाव कहिलै गराएनन् । संविधान पनि कम्युनिस्ट पार्टी र लालसेनाले मिलेर बनाएका थिए ।
त्यसैले प्रजातन्त्र र आवधिक चुनावलाई उनीहरूले चिन्दै चिनेनन् । कम्युनिस्टले बनाएको त्यो बाटोबाट आउन छाडेर १२ बुँदे दिल्ली सम्झौता गरेर लोकतन्त्रको क्यामाफ्लजमा काठमाडौं भित्रिएका ओली र प्रचण्डले रुस र चीनका कम्युनिस्टको जस्तो सत्ता होइन, लोकतन्त्रको जडौरी भिरेर कम्युनिस्ट शासन कुनै हालतमा आउँदैन भन्ने हेक्का राखेनन् । त्यही होस् नपुर्याउँदा प्रचण्डले प्रधानमन्त्री भएको नौ महिना पूरा गर्न नपाउँदै सेनाका सिपाही र पशुपतिका भट्ट हटाउन खोज्दा आफैं सत्ताबाट खुर्मुरिनु परेको थियो । त्यही इतिहास याद नगरेर ओलीले प्याच्च बोल्दा लुडो खेलको सर्पको टाउकामा गोटी चाल्दा जे हुन्छ, त्यही हुन पुगेका थिए । अब उनीहरूलाई कम्युनिस्ट भन्ने कि ‘फुलिस’ भन्ने त्यसको छ्यानब्यान गर्ने जिम्मा जनतालाई छाडिदिनु पर्छ ।
कम्युनिस्ट नाम धारण गर्दैमा साँच्चै कम्युनिस्ट हुन्थे भने उनीहरू पनि क्रान्तिकारी कम्युनिस्ट हुन्थे र नेपालमा कम्युनिस्ट क्रान्ति गर्थे, अर्काको एजेन्डा बोक्ने भरिया बन्ने थिएनन् । उनीहरूको समस्या नै के हो भने जे छन् त्यो भन्न सक्तैनन्, जे हौ भनिरहेका छन्, त्यो उनीहरू हुँदै होइनन् । उनीहरू, न माओवादी कम्युनिस्ट हुन्, न माक्र्सवादी नै हुन् ! जे होइनन्, त्यही हौ भन्ने दावी गर्छन्, जे हुन् त्यो हौं भन्ने आँट चाहिँ गर्न सक्तैनन् ।
सोझो र सरल तरीकाले उनीहरूको परीक्षण गरेर हेर्ने काम, अहिलेसम्म कतैबाट भएको छैन, त्यसैले उनीहरू कम्युनिस्ट कहलाएका छन्, तर काम भने कमाराको गरिरहेका छन् । प्रजातन्त्र, अथवा लोकतन्त्र जप्नेहरू कम्युनिस्ट हुनै सक्तैनन् । जो कम्युनिस्ट हुन, तिनले प्रजातन्त्र पचाउन सक्तैनन्, जो प्रजातन्त्रवादी हुन्, ती कुनै हालतमा कम्युनिस्ट हुन सक्तैनन् । त्यो कसीमा घोटेर जाँच्यो भने उनीहरू कम्युनिस्ट हुन् कि पाखण्डी हुन् आफैं प्रष्ट हुनेछ ।
त्यस्तै, कम्युनिस्ट कहिलै राष्ट्रवादी हुँदैनन्, राष्ट्रवादी कम्युनिस्ट हुन सक्तैनन् । कम्युनिस्ट पार्टी भनेको मजदूर वर्गको पार्टी हो । मजदूरको कुनै देश हुँदैन, जात र धर्म हुँदैन । त्यसैले माक्र्सले भनेका थिए– संसारभरिका मजदूर एक होउ ।
नेपालका कम्युनिस्ट, पार्टीको नाम माओवादी राख्ने, काम भारतको एजेन्डा बोक्ने गरेको कसले देखेको छैन ? तैपनि, उनीहरू राष्ट्रवादी रे ! चीनको चाकरी र दिल्लीको दलाली गर्ने कसरी राष्ट्रवादी हुन्छन् ? त्यसैले प्रश्न गर्नु परेको हो– यसपालि एमालेलाई भोट नदिने किन ?
प्रतिक्रिया