देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साधारण आवरणमा असाधारण व्यक्तित्व


सुशील‘दा सँग मेरो पहिलो भेटघाट २०३५ सालमा उहाँहरू निर्वासनमै भएको बेला गिरिजाबाबुसँग भेट गर्न जाने क्रममा भएको हो । जनमत संग्रहको घोषणापछि २०३७ साल वैशाख १ गते आममाफी पाएर उहाँहरू फर्कनुभयो । त्यसबखत जनमत संग्रहको तयारी र त्यसपछिको राजनीतिका क्रममा उहाँसँग नियमित जस्तो भेटघाट हुन थाल्यो ।

त्यसताका काठमाडौँमा छँदा हामीहरू बीपी कोइरालाको निवास चाबहिलमा नियमित जान्थ्यौं । चाहबिलमा सान्दाजुको कुरा सुनेर अफ्ठ्यारा दिनमा पनि उत्साहका साथ फर्कन्थ्यौं । त्यो क्रम पछिसम्म रह्यो ।
सुरुका दिनमा मैले सुशील’दा सँग घनिष्ठ सम्बन्ध भएर काम गरेको होइन । २०३६ देखि २०३८ सालसम्म म नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष थिए । उहाँसँग नेविसंघबाहेक पार्टीको विषयमा पनि कुरा हुन्थ्यो । तर त्यतिखेर कामको कुरा र शिष्टाचार मात्र हुन्थ्यो ।

धेरै घनिष्ठ सम्बन्ध नभएको मानिससँग शिष्टाचार र कामको विषयमा मात्र कुरा गर्ने उहाँको स्वभाव थियो । कसैसँग रिस पनि देखाउनु हुन्नथ्यो । झण्डै ३० वर्ष जस्तो नै सुशील‘दासँगको सम्बन्ध औपचारिक जस्तो नै रह्यो । तर, उहाँ कार्यवाहक सभापति भएपछि मैले उहाँसँग नजिक भएर काम गर्ने अवसर पाएका हुँ ।

२०१७ साल पुस १ गते निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई राजा महेन्द्रले सेनाको बलमा हटाई अधिनायकवादी व्यवस्था लागू गरे । प्रजातन्त्रमाथि प्रहार भएको यस घटनापछि कोइराला परिवारका सदस्यहरू कोही जेल परे, कोही संघर्षरत नै रहे त कोही भारतमा प्रवास जीवन जिउन बाध्य भए । सुशील‘दा २२-२३ वर्षको कलिलो उमेरमा बनारसमा परिवारको अभिभावकको जिम्मेवारी बहन गर्न पुग्नु भयो । हलिउडमा सिनेमा खेल्छु भनेर आकांक्षा राखेको व्यक्ति सुशील‘दाको सादगी जीवन यसरी शुरु भयो ।

आम्दानीको कुनै स्रोत नभएको बेलामा उहाँले घण्टौ साइकलमा चडेर सामान्य जागिर गरेर कोइराला परिवारलाई भरणपोषण गर्नु भयो । ग्लामरको जिन्दगीको परिकल्पना बोकेको व्यक्ति त्यस राजनीतिक घटनाका कारण परिवार र मुलुकप्रतिको कर्तव्यले शालीन र सादगी जीवनमा रूपान्तरण भयो ।

हामीसँग कुरागर्दा उहाँ आफू जोगी हुँ भन्नुहुन्थ्यो । तर हामीहरू तपाईं कसरी जोगी हो ? नेपाली कांग्रेस तपाईं सभापति हो, तपाईं कसरी जोगी हुन सक्नु हुन्छ ? जोगीको त केही पनि हुँदैन भन्थ्यौ ।

माओवादी लडाकुको समायोजन व्यवस्थापन गर्ने महत्वपूर्ण काममा कांग्रेसको तर्फबाट डा. रामशरण महत र मलाई जिम्मेवारी दिइएको थियो । निकै कठिन काम भए पनि हामीले निकै होसियारपूर्वक मुलुक र लोकतन्त्रको पक्षमा त्यो काम गर्न सफल भयौ । यस बारेमा उहाँसँग बसेर गम्भीर छलफल हुन्थ्यो । उहाँ सधैं लोकतान्त्रिक मूल्य मान्यतामा दृढ अडान राख्नुहुन्थ्यो । उहाँ जहिले पनि तत्कालीन माओवादीलाई पहिले हतियार व्यवस्थापन गर्नुस् अनिमात्र संविधान निर्माण गर्ने कार्य अघि बढ्न सक्छ भन्नुहुन्थ्यो । उहाँ मसिनो स्वरमा कसैलाई हानी नपुर्‍याई आफ्ना कुरा दृढताका साथ प्रस्तुत गर्नुहुन्थ्यो । तत्कालीन अवस्थामा माओवादी ठूलो पार्टीको रूपमा रहेको भए पनि उहाँले बहुलवाद र लोकतन्त्रका आधारभूत मान्यतामा नै संविधान बन्नुपर्ने अडान कहिल्यै छोड्नु भएन ।

मुलुकमा पहिलो पटक भएको संविधानसभा विघटनपछि संविधानसभाबाट संविधान बनाउने सपना तुहिने हो कि भन्ने डर थियो उहाँमा । निर्वाचनको वातावरण बनाउन हामी मेहनतका साथ लागेका थियौं । दोस्रो संविधानसभाको निर्वाचनबाट कांग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी बन्यो र ठूलो पार्टीकोे प्रमुख नेताको हैसियतमा प्रधानमन्त्रीको हक आउँदा पनि उहाँले कसैसँग पनि आफू प्रधानमन्त्री बन्छु सहयोग गर्नुहोस् भनेर भन्नु भएन । व्यक्तिगत स्वार्थका लागि कसैसँग पनि सहयोगको याचना नमाग्ने उहाँको स्वभाव थियो ।

पहिलो संविधानसभाको विघटनपछि जनतामा निराशा छाएको थियो । विशेष परिस्थितिमा प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाई निर्वाचन गर्ने तयारी थालिएको थियो । जस्को व्यापक आलोचना भएको थियो । तथापि आम निर्वाचन गर्ने काम पूरा भयो । नेपाली कांग्रेस नेपाली जनताको प्रिय पार्टीका रूपमा फेरि स्थापित भयो । स्वाभाविक रूपले सभापतिका रूपमा यसको प्रथम श्रेयको अधिकारी उहाँ हुनुहुन्छ ।

तर फरकफरक विचारधाराका दललाई एक ठाउँमा उभ्याउनु कम चुनौती थिएन । त्यसैले एमालेसँगको सहकार्यमा सुशील‘दा को नतेृत्वमा झन्डै दुई तिहाइ बहुमतको सरकार बन्यो । यसले संविधान निर्माणका लागि उत्साहपूर्ण यात्रा प्रारम्भ गर्‍यो । तर एक वर्षमा संविधान बनाउने कार्य माओवादीलगायत मधेस केन्द्रित दलको असहमति र अवरोधले समयमै पुरा हुन पाएन । विपक्षीको ठूलो अवरोधको सामना गर्नुपर्‍यो । संसद्मा कहिल्यै  नघटेको घटना घट्यो ।

लोकतन्त्रवादीलाई एक ठाउँमा राखेर यथेष्ट दबाब सिर्जना गरी व्यापक सहमतिका आधारमा संविधान जारी गर्नु आवश्यक थियो । त्यतिखेर एमाले एकतर्फी रूपमा दुई तिहाइको बलमा संविधान जारी गरौं भन्ने पक्षमा थियो । तर सुशील‘दाले सकेसम्म सबैको सहमतिमा जारी हुनुपर्छ भनेर अडान लिनुभयो र सबैलाई मिलाउने प्रयासमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो ।

यसक्रममा उहाँले एमालेसँगको ७ बुँदे सहमति गरी एमाले र कांग्रेसलाई संविधान निर्माणका क्रममा एक ठाउँमा राख्नुभयो । यो बीचमासरकार ढाल्नेसम्मका कुरा आउँदा पनि विचलित नभइकन सहमतिको प्रयासलाई उहाँले जारी राख्नु भयो । सरकार ढाल्ने कुरामा सघन प्रयत्न पनि भएको थियो । तर, त्यो हराएर गयो । उहाँको एकोहोरो रूपमा संविधान बनाउने प्रयत्न मात्र अघि बढी रह्यो । त्यसपछि १६ बुँदे मार्फत एमाओवादी र विजय गच्छदारको दल पनि संविधान निर्माणको कामलाई अगाडि बढाउनका लागि आए । तर, विभिन्न कारणले गच्छदार पनि यो प्रक्रियाबाट बाहिरिए । त्यसपछि संविधान निर्माणका क्रममा संशोधन प्रस्ताव दर्ता भए ।

त्यतिबेला सुशील‘दालाई दुइवटा बाटोमध्ये एक रोज्नु पर्ने थियो । पहिलो, संशोधनका प्रस्तावलाई सम्बोधन गर्ने, मधेस केन्द्रित दलहरूलाई सहमतिमा ल्याउने अनि संविधान जारी गर्ने, दोस्रो विकल्प थियो, संविधान जारी गरी असन्तुष्टिलाई त्यसपछि सम्बोधन गर्ने ।

उहाँले दोस्रो विकल्प रोज्नु भयो । उहाँले धेरै सुझबुझका साथ दोस्रो विकल्प रोज्नु भएको ठान्छु मैले । संविधानसभाबाट संविधान बनाउन ६५ वर्ष लागेको छ । पहिलो संविधानसभा संविधान नबनाई विघटन भएको पृष्ठभूमिमा संविधान निर्माणको कामलाई संवेदनशील भई अगाडि बढाउनु पर्ने थियो । दार्शनिक रूपमा फरक पृष्ठभूमि भएका तथा सशस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा आएको एमाओवादी र कांग्रेससँग सिधा प्रतिस्पर्धा ठान्ने एमालेलगायतका दलहरूलाई मिलाएर बल्लबल्ल तयार गरेको सहमतिको वातावरणमा पनि संविधान जारी गर्न ढिलाइ भए त्यो बिथोलिने र संविधानसभा फेरि सरकार बनाउने र ढलाउने कुरामा मात्र रुमलिएर संविधान बनाउने कुरा लथालिङ्ग हुने अबस्था आउथ्यो । यो डरले नै उहाँले दोस्रो बाटो रोज्नु भएको होला ।

हुन त, असन्तुष्टिहरू सम्बोधन गरेर मात्र संविधान जारी गर्नुपर्छ भन्ने सुझाव छिमेकबाट पनि आएको हो । यस प्रसंंगमा थप कुरा अलि पछि गरौंला । त्यसैले उहाँले आफ्नो पार्टीका र अरु पार्टीका संशोधन दार्ता गर्ने सभासद्हरू समक्षप्रमुख तीन दलका नेताहरूका तर्फबाट संविधानसभाको सबैभन्दा ठूलो नेता तथा प्रधानमन्त्रीको हैसियतमा उचित असन्तुष्टिहरूलाई सम्बोधन गर्नका लागि संविधान जारी भएपछि संशोधनको प्रक्रिया सुरु गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँको यो प्रतिबद्धतापछि उहाँप्रति विश्वास गर्दै संशोधन प्रस्तावहरू फिर्ता भए । कोइरालाको राजनीतिक इमान्दारितका कारण उहाँको प्रतिबद्धतामाथि सहजै सबैले बिश्वास गरे । सायद ‘संविधान जारी भयो, सँगसँगै संविधान संशोधन प्रक्रिया प्रारम्भ भयो’ भन्ने मनोभावबाट यो काम सफलतापूर्वक टुङ्ग्याउनु भयो ।

असन्तुष्टिहरूलाई सम्बोधन गर्ने प्रतिबद्धता उहाँले संविधान बनेपछिको टुँडिखेलको सभामा दोहोर्‍याउनु भयो । तत्काल तीन दलको कार्यदल बन्यो र मधेस केन्द्रित दलहरूसँग वार्ता सुरु भयो । चारवटा विषयमा केन्द्रित वार्तामा दुइर्वटा विषयमा लगभग सहमति बन्यो । त्यसै आधारमा समानुपातिक समावेशी हक र निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी संशोधन दर्ता भयो । नागरिकता र प्रदेशको सीमांकनको विषयमा वार्ता जारी रह्यो ।

अत्यन्त प्रबल मतका साथ संविधान जारी भयो । यसलाई स्वीकार्य बनाउने काम बाँकी थियो । संविधान जारी भैसकेपछि संविधानको कार्यान्वयनको क्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, समामुखलगायतका पदहरूमा निर्वाचन शुरु भयो । एउटा बिचार थियो तीन दलले यी पदहरूमा भागबन्डा गरी सँगै जानु पर्दछ । यसो गर्दा मधेस केन्द्रीत दलहरूलाई तीन ठूला दलहरूले उनीहरूका बिरुद्धमा मोर्चाबन्दी गरे झै लाग्ने र त्यसले असन्तुष्टिहरूलाई सम्बोधन गर्ने वातावरण बिथोलिने परिस्थिति थियो । अर्कोतर्फ, संविधान जारी गर्ने क्रममा छिमेकी राष्ट्र भारतसँगको सम्बन्ध चिसिएको थियो ।

सुशील‘दाले सदैव सहमति, सहकार्य, एकता र मेलमिलापको कुरा गर्नुभयो । उहाँले धेरै व्याख्या नगरी यो कुरा दोहोर्‍याई रहँदा अरू दलका नेताले उहाँको खिसी पनि गरे । अलि चर्को, अलि कडा, अरूलाई होच्याउने शैलीमा उहाँ प्रस्तुत हुने गरेको भए सहमति निर्माणका लागि आवश्यक वातावरण बन्ने थिएन । उहाँको साधारण आवरणले संविधान निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्यो ।

असन्तुष्टिहरूलाई सम्बोधन गर्ने ठोस आधार नभए भारतसँगको सम्बन्ध सुधार गर्न अझै कठिनाइ हुने थियो । सुशील’दालाई डर थियो, पछिल्लो समयमा सिमामा नाकाहरू बन्द भएपछि आपूर्ति निकै असहज भएको थियो, मधेसलगायत सम्पूर्ण मुलुक अत्यावश्यक सामग्रीको चरम अभाव र मूल्य वृद्धिबाट पीडित थिए । वर्षको शुरुमा गएको महाभूकम्पबाट थिलथिलो परेका भूकम्पपीडित नागरिकलाई राहत दिने र पुनर्निर्माण गर्ने काम झन्डै दुस्कर झै हुन पुगेको थियो । उहाँको मनमा प्रधानमन्त्री हटिसकेपछि पनि ती नागरिकहरूलाई सामान्य जीवनमा फर्काउने कुरा एक प्रमुख प्राथमिकताको विषय थियो ।

उहाँले मधेस केन्द्रित दलहरूसँग वार्ताको प्रक्रिया प्रारम्भ गर्नुभयो । प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा उहाँले थालेको यो प्रयासले सरकारमा रहेका दलहरूको सम्झौता नगर्ने दृष्टिकोण र आफूले भनेको कुरा सबै नपाएमा आन्दोलन परित्याग नगर्ने मधेसी दलहरूको अडाको बीचमा एउटा मध्यमार्गी बाटो खुल्यो । उहाँकै प्रयत्नको प्रतिफलस्वरूप सरकारमा रहेका दलहरू र मधेस केन्द्रित दलहरूलाई फेरि वार्तामा जोड्न सकियो ।

वार्तामा फेरि सीमांकनका विषयमा टुंगो लाग्न सकेन । अरु विषयमा सहमतिको नजिक पुग्यो । संविधान जारी गर्नु पूर्व सांसदहरूसँग गर्नु भएको प्रतिबद्धता अनुरूप सहमति भैसकेको विषयहरूमा संविधान संशोधन गर्नु आवश्यक भइसकेको थियो । साथै नमिलेका विषयहरूमा वार्ताको क्रम जारी राख्नु थियो । संशोधनको प्रक्रिया अगाडि बढाउँदा वार्ताको वातावरण पनि थप सहज हुने थियो । त्यसै अनुरूप आफैंले दर्ता गरेको संशोधन विधेयकमा थप संशोधन र परिमार्जनसहित संविधान संशोधन गर्न एमाले माओवादीलगायतका दलहरूलाई उहाँले साथ लिनु भयो । समानुपातिक समावेशी हक र निर्वाचन क्षेत्र निर्बाचनको कुरा टुंगियो । बाँकी विषयमा सहमति गर्न उहाँ आफ्नो जीवनको अन्तिम क्षणसम्म लागिराख्नु भयो । संविधानलाई सर्वमान्य बनाउने काम पूरा गर्न थप सहज वातावरण बनेको छ । अब उहाँको उत्तराधिकारीका रूपमा हामी सबैले यो काम सम्पन्न गर्नुछ ।

उहाँको जीवनका अन्तिम दिनहरूमा वीरगन्ज नाकासमेत खुलिसकेको थियो । मोर्चाले आन्दोलनको स्वरूप पनि परिवर्तन गर्‍यो । प्रधानमन्त्री हटी सकेपछि पनि उहाँले भारतका नेताहरूसँग भन्ने गर्नु हुन्थ्यो, ‘सीमा नाकाहरू खोल्नुस्, नाका बन्द हुँदा नेपाली जनताले धेरै दुःख पाए । भूकम्प पीडितको जीवन दुस्कर भएको छ, स्कुले केटाकेटी स्कुल जान पाएका छैनन्, अस्पतालहरू सामान्य सेवा दिन सकिरहेका छैनन्, नेपाली जनताको जीवनको हरेक क्षत्र प्रभावित छ । यो अवस्था कायम रह्यो भने दुई देशको सम्बन्धलाई दूरगामी रूपमा दुष्प्रभावित गर्नेछ । यसले हामी दुवै देशको दीर्घकालीन अहित गर्दछ ।’ सायद उहाँले जीवनको अन्तिम क्षणमा पाएको सबैभन्दा खुसीको खबर वीरगन्ज नाकासमेत खुलेर मोर्चाले आन्दोलनको स्वरूप पनि परिवर्तन गरेको कुरा नै हो । भूकम्प पीडित जनतालाई पुनर्निर्माणमा अब सहयोग पुर्‍याउन सकिन्छ भन्ने लागे होला उहाँलाई ।

संविधान निर्माणको कुरा गर्दा अर्को एउटा विषय उल्लेख गर्न आवश्यक ठान्छु । नेपाली कांग्रेस ठूलो दल हुनु, एमालेलगायतका दलहरूलाई झन्डै दुई तिहाइ मत हुनु, कांग्रेस र माओवादीका बीच शान्तिप्रक्रियादेखि सुरु भएको एक हदसम्मको विश्वासको वातावरण महत्वपूर्ण आधार थिए । तर यो काम सम्पन्न गर्नका लागि सुशील‘दाको नेतृत्व शैली निकै महत्वपूर्ण भूमिकाका रूपमा रह्यो ।

शान्ति प्रक्रियादेखि संविधान निर्माणको क्रममा उहाँले सदैव सहमति, सहकार्य, एकता र मेलमिलापको कुरा गर्नुभयो । उहाँले धेरै व्याख्या नगरी यो कुरा दोहोर्‍याइरहँदा अरू दलका नेताले उहाँको खिसी पनि गरे । अलि चर्को, अलि कडा, अरूलाई होच्याउने शैलीमा उहाँ प्रस्तुत हुने गरेको भए सहमति निर्माणका लागि आवश्यक वातावरण बन्ने थिएन । कोइरालाको साधारण आवरणले संविधान निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्यो । उहाँको नेतृत्वमा मुलुकले संविधान सभाबाट संविधान पायो । २००६ सालमा बीपी कोइरालाले जनतासँग गर्नुभएको वाचा पूरा भयो । यसै हेर्दा साधारण देखिने सुशील‘दाले असाधारण कार्य सम्पन्न गर्न नेतृत्व प्रदान गर्नुभयो । यसैकारण मैले सुशील कोइरालालाई ‘साधारण आवरणमा रहेको असाधारण व्यक्तित्व’ भन्दछु ।