देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कलाकारले जथाभावी गीत बनाउँदा नेपालीले गीत सुन्नै छाडे : गायिका मोक्तान

देशान्तर

नेपाली लोकशैलीलाई आधार बनाएर आधुनिक गीत गाउने गायिका हुन कुन्ती मोक्तान । उनका खुट्टा तान्दै गर, माथि माथि शैलुङ्गेमा, निष्ठुरी मायालुलगायतका गीत निकै नै मन पराइएका गीतहरू हुन् ।
भारतको दार्जिलिङमा जन्मिएकी उनी सन् १९८३ मा सांगीतिक क्षेत्रमा पाइला चाल्न नेपाल आइन् । उनका दजर्नौ गीत नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट सावित भएका छन् । अहिलेका गीतहरू केही दिन भाइरल हुने हराउने अवस्थामा हुँदा उनका धेरै गीतहरू अझै पनि उत्तिकै चलिरहेका छन् । पहिलाका गीत कालजयी बन्दा अहिलेका गीत केही दिनमै गुमनाम हुनुमा कलाकारको क्रियटिभिटीको कमी भएको उनको बुझाइ छ । यीलगायत नेपाली सांगीतिक क्षेत्रका विविध विषयमा देशान्तरका शालिक भट्टले उनीसँग गरेको संवादको सम्पादित अंश :

के गर्दै हुनुहुन्छ आजभोलि ?
कार्यक्रमको सिलसिलामा बाहिर गएका थियौं भर्खरै मात्र फर्किएका छौं । पुरानै बाँकी कामहरूमा नै व्यस्त छु ।

पहिलाका नेपाली गीतसंगीत कालजयी छन्, तर अहिलेका केही समय भाइरल हुन्छन् अनि गुमनाम भइरहेका छन् के पहिलाको जस्तो गीत बन्न छाडेका हुन ?
मलाई कस्तो लाग्छ भने पहिलाको अग्रजहरूले जति पनि गीत बनाउनुभयो त्यसलाई अहिलेको नयाँ शब्द भाइरलभन्दा टाढा रहेर बनाउनुभयो । उत्कृष्टभन्दा उत्कृष्ट, कसैसँग पनि टच नहुने, सुन्दा पनि मेरो हो भन्न सकिने खालको संगीत बनाउनहुन्थ्यो । गायक गायिकाले पनि त्यस्तै मेहनतका साथ काम गर्नुहुन्थ्यो । आजभोलि के भयो भने जसरी भए पनि भाइरल हुनुप¥यो भन्ने सोचका साथ गीत बनाउँछन् । उत्कृष्ट बनाऔँभन्दा पनि भोलि जे भए पनि आज चैँ प्रख्यात बन्नुपर्‍यो भन्ने हिसाबले गीत बनाउँछन् त्यो कारणले गर्दा अहिलेका गीत कालजयी बन्न सकेका छैनन् ।

पहिला पहिला एक टेकमै गीत रेकर्ड गर्नुपर्ने अवस्था थियो सीमित मात्रामा गीत बन्थे । रेकर्ड गर्न कि रेडियो नेपाल कि त भारत जानुपर्ने अवस्था थियो । तर अहिले जसले जहाँ चाह्यो त्यही गीत रेकर्ड गर्न सक्छ । स्वर राम्रो भए पनि नभए पनि गीत गाउन सक्छ । अटो ट्युन प्रयोग गरेर जस्तोसुकैलाई पनि राम्रो बनाउन पनि सकिन्छ । यसलाई कसरी हेर्नु भएको छ ?

पहिलाको जमानामा हामीले रेकर्ड गर्दा पूरै लाइभ हुन्थ्यो । त्यही भएर एउटा एउटा लाइन, सानो सानो ठाउँमा विशेष ध्यान दिएर गीत बनाइन्थ्यो । तर अहिले एक पटक गीत रेकर्ड गरेपछि अटो ट्युन गर्दिने, कपी पेस्ट गर्दिने गर्दा गीतको मर्म बिग्रेको छ । कतिपय लाइभ कार्यक्रममा ती कलाकारले प्रस्तुति दिँदा थाहा हुन्छ उनीहरूले कतिको अटो ट्युन गरे भनेर । यसले गर्दा कलाकारमा मेहनत गर्ने बानी नै हट्यो । नयाँ केही गरौं भन्ने भावना हरायो । स्थायी, अन्तरा आदिलाई कसरी मिठो बनाउने भन्ने सोचेर गीत गाउने शैली हराइरहेको छ । त्यसले गर्दा उत्कृष्ट गीत बन्न सकिरहेको छैन् । तर, प्रविधिले सकारात्मक काम पनि गरेको छ । तै पनि कलाकारको क्रियटिभिटी चैँ मरेर गएको छ ।

अहिलेका कतिपय नेपालीहरू आफूलाई नेपाली गीत मन नै नपर्ने र सुन्दै नसुन्ने बताउँछन् । नेपाली गीत सुन्न लायक नबनेका हुन कि उनीहरूलाई बानी नपरेको हो ?

संगीतको कु्नै पनि भाषा हुँदैन भन्छन् । संगीत आफैँमा एउटा छुट्टै भाषा हो । हरेक किसिमको संगीतलाई जसले पनि सुन्न सक्छ । हामी पनि अन्य भाषाका गीत सुनिरहेका हुन्छौं । त्यसको मतलव नेपाली गीत नै राम्रो छैन्, नेपाली गीत मिठो छैन भन्ने होइन नि । कसैले त्यसो भन्छ भने त्यो त हामीले आफूले आफैँलाई हेला गरेको, म नेपाली नै होइन भन्ने खालको जमात तयार भएको महसुस हुन्छ ।

तर, त्यहीअनुसारका नबनेका पनि त हुन सक्छन् नि त ?

सबै त्यस्ता गीत नबनेका भन्ने होइन नि । मेहनत गर्ने कलाकार पनि त छन् नि । मिडियाले पनि यसमा भूमिका खेलेको हुन्छ । अहिलेका आरजे भिजेहरूले गीत बुझेर जस्तो पायो त्यस्तो गीत नबाउने । यो गीत राम्रो यो नराम्रो हो भन्ने छुट्ट्याउन सक्ने हुनुपर्‍यो । मिडियाले पनि मेरो साथीको गीत भन्दै जस्तो पायो त्यस्तै गीत बजाउँछन् । त्यसले गर्दा पनि नेपाली गीत सुन्ने श्रोताले सुन्न छाडेका हुन्छन् । कलाकारहरू प्रसिद्धीको भोगी हुन्छन् । कसरी हुन्छ आफ्नो गीत चले हुन्थ्यो भन्ने ठान्छन् । जस्तो पायो त्यस्तै गीत रेकर्ड गर्छन् । तर त्यसलाई भाइरल बनाउने काम मिडियाले गरिरहेका हुन्छन् । मिडियाले बिचार पुर्‍याउने हो भने धेरै मात्रामा यो कम हुन्छ ।

अहिलेका कतिपय गीतका शब्दहरू अश्लील छन् । सबैजना बसेर सुन्न नसकिने खालका छन् । यसलाई सेन्सर गर्ने कुनै निकाय छैन ?

हामी हाम्रा अग्रजका गीत किन गुनगुनाउँछौं त ? हामीलाई अझै पनि किन नारायणगोपाल दाइको गीत, बच्चु कैलाश दाइका गीत, तारादेवी दिदी, अरुणा लामा दिदीको गीत सुन्नेबित्तिकै उहाँहरूले गाउनु भएको भन्ने थाहा हुन्छ नि त किनभन्दा ती गीत सुन्दा एक प्रकारको मनमा शान्ति हुने । त्यो गीत उहाँहरूको होइन मेरो हो जस्तो लाग्ने हु्न्छन् । त्यही भएर अहिलेसम्म पनि गुनगुनाउँछौं नि त । तर अहिलेका भाइबहिनीले बनाएका गीत सुनिनसक्नु शब्द प्रयोग गरेर एकैछिनको मनोरञ्जनका लागि बनाउँछन् । त्यही गीत पछि सुन्दा रिस उठ्छ । उनीहरूले गीतको मर्म नबुझेको जस्तो लाग्छ ।

हामी परिवारमा छौं । समाजमा छौं भन्ने भोलिको समाजले पनि हाम्रो गीत सुन्छ भन्ने बुझेनन् । यस्तो अवस्थामा एउटा निकायले छान्ने, सेन्सर गर्ने लगायतका काम गर्नुपर्छ । पहिले रेडियो नेपालमा रेकर्ड गर्दा पनि सुन्दिने अग्रज व्यक्ति राख्नुपथ्र्यो । उहाँले पास गरेपछि मात्र गीत पास हुने हुन्थ्यो । त्यसैले पनि ती गीतहरू कालजयी छन् । तर, अहिले त्यस्तो छैन् जोसँग पैसा छ उसले गीत बनाउन सक्ने भयो । यसले गर्दा पनि जस्तो पायो त्यस्तै गीत निस्किरहेका छन् । यसलाई नियमन गर्ने एउटा निकाय भएदेखि राम्रो हुन्थ्यो तर अहिलेसम्म यसका लागि कसैले पनि पहल चालेका छैनन् । हामी विरोध मात्र गर्छौै । तर निकाय बनाउन सकिरहेका छैनौं । लाइभ कार्यक्रममा पनि आजभोलिका भाइबहिनीहरू स्टेजमा जाँदा लठ्ठ भएर जाने जस्तो पायो त्यस्तै गीत गाउने प्रवृत्ति बढिरहेको छ ।

यसको नियमनमा तपाईंहरू जस्तो अग्रज कलाकारको चासो देखिँदैन नि ?

हामीले यसो गर उसो गर भन्दा नयाँ कलाकारलाई ब्रेक गरेको जस्तो फिल गर्नुहुन्छ । उहाँहरूले आफूलाई सर्वश्रेष्ठ ठान्नुहुन्छ । आफूले मात्र सही गरें भन्ने सोच्छन् । हामीले ब्रेक गर्न खोजेको होइन नि ।

यस्तो अवस्थामा नेपाली गीतलाई अझै माथि उकास्नका लागि कसले के गर्नुपर्छ ?

पहिले त कलाकार नै सचेत हुनुपर्‍यो । एउटा कलाकारले अहिलेलाई मात्र होइन पछिसम्म पनि अगाडि बढ्नुपर्छ म पछि पनि अरू मानिसहरू छन् भनेर सोच्नुपर्छ । आफूलाई मात्र सन्तुष्टि भएर भएन सबै सन्तुष्ट हुनुपर्छ भनेर सोच्नुप¥यो । आफ्नो दायित्व पूरा गर्नुपर्छ । पछिल्लो समय मर्कामा परेको लोकसंगीत हो । यसलाई यसरी प्रस्तुत गराइयो कि लोकगीत गाउने व्यक्ति भन्नेबित्तिकै छाडा हो भन्ने बनाइयो छ ।

यसरी लोक संगीतलाई छाडा हो भन्ने मानसिकता पैदा गराउनुमा दोषी को हो त ?

दोषी त कलाकार नै हो । कलाकारले जस्तो पायो त्यस्तै शब्द प्रयोग गरेर गीत निकालिरहेका छन् । जस्तो पायो त्यस्तै लय हुन्छ । एउटालाई अर्कोसँग टाँसेर बनाउनु हुन्छ । गीत पनि कुनसँग मिलेको जस्तो भान हुने खालको बनाइरहेका छन् । शब्द पनि सुनिनसक्ने खालका हुन्छन् । जुन शब्द गाली गर्दा पनि प्रयोग हुँदैन त्यस्ता शब्द प्रयोग भइरहेको छ । लोकगीत छ र हामी छौं । म त्यति धेरै सम्मान गर्छु । हामी आधुनिक गीत गाउने मान्छे । हामीलाई पनि चिनाउने भने हाम्रो लोकभाका हो । त्यसलाई बिगारेपछि त हामी कलाकार नै बिग्रियौं नि त । त्यसैले म कलाकारलाई नै दोष दिन्छु ।