देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राजनीतिमा तारुण्य


तरुण, युवा, तन्नेरी उमेरमा हुने र देखिने जोश, क्षमता र योग्यतालाई सायद तारुण्य भनिन्छ । जन्म र मरण प्रकृतिको नियमित चक्र हो । यसलाई शास्वत सत्य मानिन्छ । जन्मलाई विज्ञानले रोक्न थालेको धेरै भयो तर मृत्यु भने अझसम्म विज्ञानको नियन्त्रणमा आएको छैन । आजसम्म संसारमा अर्बाैं मानिसको जन्म र मृत्यु भइसक्यो र यो सिलसिला जारी छ । प्रकृति रहेसम्म यो क्रम नियमित चल्नेछ । हामीसँग अहिलेका लागि प्रकृतिलाई आत्मसात् गर्नुको बिकल्प छैन । यो विषय किन उठाइएको हो भने यति लामो चक्रमा सामेल सीमित व्यक्तिहरू बाहेक हामीसँग कसैको अभिलेख र आँकडा छैन । दुनियाँले सम्झेका तिनै सीमित व्यक्तिहरूमध्येका असाधारण व्यक्तित्वको नाम हो बीपी कोइराला, जसले लाखौं नेपालीलाई उत्प्रेरित गरे, नेपालको राजनीतिलाई अभूतपूर्व मोड दिए र आजसम्म हिँडिरहेको राजनीतिक मार्ग कोरे ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको देहावसान भएको ४० वर्ष भएछ अर्थात् २०३९ साल साउन ६ गते नेपालको राजनीतिलाई युगान्तकारी मोड दिने एउटा आदर्शवादी तथा क्रान्तिकारी राजनेताको भौतिक अवशान भएको थियो । यो हप्ता उहाँको विषयमा धेरै चर्चा भए, गरियो । उहाँकै नेतृत्वमा नेपालमा आजभन्दा झन्डै साढे सात दशकअघि प्रजातन्त्रको स्थापना भएको थियो । नियतिले उहाँलाई लामो आयु त दिएन तथापि नेपालको अस्तित्वलाई सुरक्षित गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न यथोचित समय र अभूतपूर्व अवसर प्रदान ग¥यो । नत्र नेपाल नैं रहन्थ्यो, रहन्थेन भन्न कठिन छ । उहाँमा लोकतन्त्र अर्थात् जनअधिकारको मात्र होइन, राष्ट्रिय अस्मिताप्रति गहिरो चिन्ता र सजगता थियो, जसका खातिर उहाँले जिन्दगीभर अथक प्रयत्न गरिरहनु भयो । जसबापत नेपाली शासक र विदेशी शक्तिबाट बारम्बार गोता खाइरहनु भो ।

अब प्रसंग तरुण, युवाको सुरु गरौं । उहाँ युवाहरूलाई तरुण भनेर सम्बोधन गर्नुहुन्थ्यो । तरुणहरूप्रति उहाँको ठूलो भरोसा थियो । क्रान्तिका अग्रदूत, परिवर्तनका संवाहक र चेतनाका पुञ्जको रूपमा तरुणहरूको चरित्र चित्रण गर्नुहुन्थ्यो । नेपालमा राणाशासन पल्टाउने २००७ सालको ऐतिहासिक जनक्रान्तिको नेतृत्व गर्दा उहाँ स्वयं ३५ वर्षको लक्का जवान हुनुहुन्थ्यो । परिवर्तनको लगत्तै नेपालको गृहमन्त्री बन्नु भो । विश्वमा यस्ता अनेकन दृष्टान्त छन् । सन् १९५९ मा पहिलोपल्ट ब्रिटिस औपनिवेशिक राज्य सिंगापुरको प्रधानमन्त्री हुँदा ली क्वान यू ३६ वर्षका थिए । बेनजिर भुट्टो ३५ वर्षको उमेरमा सम्पूर्ण मुस्लिम जगत्को पहिलो महिला प्रधानमन्त्रीको रूपमा पाकिस्तानकी प्रधानमन्त्री थिइन् । स्वामी विवेकानन्दले सनातन धर्म र पूर्वीय जीवन दर्शनका विषयमा संसारलाई बताएर ३९ वर्षमा देहत्याग गरे ।

अलेक्जेन्डर सिकन्दरको ३३ वर्षमा देहान्त हुँदा उनीसँग ‘महान् सिकन्दर’ या विश्व विजेताको ताज थियो । जिसस क्राइस्ट ३३ वर्षमा मान्छेबाट ‘भगवान्’ भए । ३२ वर्षमा आदिगुरु शंकराचार्यको भौतिक अवशान हुँदा सनातन हिन्दू सम्प्रदायको ‘प्राण प्रतिष्ठा’ भइसकेको थियो । बुद्धले ‘सम्बोधी’ प्राप्त गर्दा ३५ वर्षका थिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान २० वर्षकै उमेरमा सुरु गरे । बीपी कोइरालाले निरंकुशतन्त्रको अन्त्य गरी ३६ वर्षको उमेरमा गृहमन्त्री बने । यूएईमा २५ वर्षमुनिका युवाका लागि मन्त्री पद आरक्षित छ । युरोप, अमेरिकाको संसद्मा प्रशस्तै युवा सांसद छन् । क्यानाडा, फिनल्यान्ड र न्युजिल्यान्डमा कार्यकारी प्रमुख युवा छन् । जहाँजहाँ युवा छन्, समाज, देशले राम्रोसँग प्रगति गरेका छन्, अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएका छन् । रुढीबादी समाजको परिपक्व हुन उमेर पुग्नुपर्छ भन्ने मान्यतालाई खण्डित गरेका छन् । समाजको सबै उमेरसमूहको विश्वास जितेर प्रौढता प्रदर्शन गरेका छन् । यसले के सन्देश दिन्छ त ? नेपाल र नेपाल जस्तै पछौटे समाज भएका देशहरूमा युवाहरूको अवस्था के छ त ? यस विषयमा थोरै बहस गर्नु उपयुक्त हुनेछ ।

धेरै पल्ट चर्चा भइसक्यो कि जीवनको कार्यसूची नभएको संस्था वा व्यक्तिको जन्म निरर्थक हुन्छ । संसारमा थोरै मान्छेहरू सफल भए र हुन्छन्, जोसँग जीवनका प्राथमिकता थिए र कार्यसूची पनि । यस्तै मानिसलाई समाजले पत्यायो र पत्याउँछ पनि । तर सफलताको मानक भनेको राजकीय ओहोदा चाहिँ होइन । गान्धीसँग कुनैं राजकीय दर्जा थिएन । व्यक्तिको कर्म र समर्पण, योगदान र कीर्ति नैं उसको पहिचान हो । संसारको सबै भूगोलमा यसबारेमा लगभग समान धारणा छ । आफ्ना सुखका निम्ति मरिहत्ते गर्ने राजनीतिज्ञ, पद प्राप्तिका निम्ति सदैव चिन्तित राजनीतिकर्मीले पाएका अवसरहरू जिन्दगीका सफलता होइनन् । त्यहाँ पुगेर उसले के ग¥यो, त्यो महत्वपूर्ण हो । तर दुःखका साथ भन्नुपर्छ, हाम्रो राजनीति येनकेन प्रकारेण दर्जा प्राप्तिको बाटोमा मग्न छ । साथै चरम मूल्य स्खलनको विडम्बना झेलिरहेको छ ।

अब चर्चा गरौं युवा पुस्ताको । एक प्रकारले सोच्ने हो भने नेपालमा युवापुस्ता नैं छैन । यहाँ किशोरकिशोरीहरू तरुण नबनिकनैं वृद्धावस्थामा प्रवेश गर्दछन् । किनभने नेपालमा सीमित संख्याबाहेक सबै बालबालिकाको शिक्षाको गुणस्तरीय जग बस्न पाउँदैन । यसको कारण मुलुकको शिक्षानीति हो । नेपालले आजसम्म राष्ट्रका निम्ति पर्याप्त जनशक्ति उत्पादन गरी विदेशमा समेत निर्यात गर्ने नीतिको प्रभावकारी कार्यान्वयन गरेन । परिणामस्वरूप विश्वविद्यालयहरूले नेपालको श्रम बजारमा बर्सेनि अकुशल अर्थात् अदक्ष जनशक्तिको आपूर्ति गर्ने गर्दछन् । यस्तो जनशक्ति विश्वबजारमा खपत हुँदैन ।

र खाडी मुलुकमा श्रमिक बनेर जान्छ र बलको काम गर्न बाध्य हुन्छ । कहालीलाग्दो यथार्थ त के छ भने बर्सेनि ठूलो संख्यामा खाडी क्षेत्र र मलेसियामा कार्यरत श्रमिकहरूको विभिन्न दुर्घटनामा मृत्यु हुन्छ । परिवारको गुजाराका लागि बिदेसिन बाध्य नेपाली युवाको मुग्लानमा मृत्यु हुनु जस्तो दर्दनाक घटना अरू हुन सक्तैन । यो सबै राजनीतिक प्रणालीको असफलता हो । राज्यले लगातार अदक्ष मजदुर उत्पादन गर्ने र विदेशमा गएर मर्नु पर्ने ! शिक्षाको राम्रो जग नबसेका किशोरकिशोरी उच्च आत्मविश्वास भएको युवा बन्न नपाउनु जस्तो विडम्बना अरू के हुन सक्छ ? आफ्नो भविष्य र परिवारको लालनपालनको चिन्ताले ग्रस्त राज्यद्वारा उपेक्षित युवा कसरी तरुण बन्न सक्छ त ? जिन्दगीको पीरले उसलाई एकैचोटी बुढ्यौली लाग्छ । अर्कातिर दक्षता भएको कुशल युवासमेत राम्रो अवसरबाट वञ्चित भएर निराश बन्छ र आफ्नो भविष्य खोज्न विदेश पलायन हुन्छ । अनि मुलुक पराश्रित वृद्धवृद्धाको अखडा बन्न पुग्छ । देशमा केही छट्टु र स्वार्थी राजनीतिज्ञहरूको बोलावाला चलुञ्जेल हुने यही हो । अनि देश कसरी बन्छ ?

युवा निराशाले बहुआयामिक दुष्प्रभावहरू जन्माउँछन् । यसको चर्चा आज यहाँ गरिँदैन । अपवाद बाहेक दुनियाँका कुनै पनि आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक क्रान्तिहरू वृद्धहरूको नेतृत्वमा सम्भव छैन । २००७ सालको जनक्रान्तिको नेतृत्व तरुण बीपी, सुवर्ण, गणेशमानहरूले गरेका थिए । त्यसैले जुन पुस्ताले समाजको बागडोर थामेर राष्ट्र निर्माणका निम्ति अहोरात्र पसिना बगाउनुपर्ने हो, त्यही पुस्ता उपेक्षित र निराश भएर बिदेसिएपछि देशको कस्तो दुर्दशा होला ! अर्कोकुरा, राज्यबाट उपेक्षित युवामा राष्ट्रियताको भावनासमेत टाक्सिँदै जान्छ, राम्रोसँग फस्टाउन पाउँदैन । जुन राष्ट्रले आफ्ना नागरिककाप्रतिको आधारभूत कर्तव्य र जिम्मेदारी पूरा गर्दैन, जहाँका राजनीतिकर्मीहरू वैयक्तिक स्वार्थमा लिप्त रहन्छन्, कालान्तरमा त्यहाँको समाज शक्तिशाली राष्ट्रको गुलाम बन्न पुग्छ र अन्ततः बिसर्जन हुन्छ अर्थात् त्यस्तो देश विघटित हुन्छ ।

अघिल्लो पुस्ताका जापानीहरूले आफ्नो देश बनाए र अहिले आफैं सुखभोग गर्दैछन् । निकै छोटो समयमा जापानले ठूलो आर्थिक प्रगति गर्‍यो । सन् १९४५ को अगस्तसम्ममा लगभग ध्वस्त जापान सन् १९६८ सम्म पुग्दा नपुग्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक बनिसकेको थियो । दोस्रो विश्वयुद्धको भयंकर क्षतिलाई उनीहरूले तत्कालीन प्रधानमन्त्री योसिदा र उनको ‘योसिदा डक्ट्रिन’का मार्फत परिपूर्ति गरिसकेका थिए । छोटो समयमा जापानले अटोमोबाइल अर्थात् गाडी र इलेक्ट्रोनिक सामानको सबैभन्दा ठूलो उत्पादक र निर्यातक राष्ट्रका रूपमा आफूलाई स्थापित गरिसकेको थियो ।

सन् १९९० सम्ममा त जापान विश्वका सर्वाधिक विकसित राष्ट्रको श्रेणीमा उक्लिसकेको थियो । अर्को महत्वपूर्ण कुरा, असाध्य खराब सम्बन्ध भएको अमेरिकासँग तत्काल शान्ति र मैत्री सन्धि गरेर उसले हरेक क्षेत्रमा साझेदारी गर्‍यो भने सोभियत युनियनसँको सम्बन्धलाई समेत सुधार ग¥यो । जापानका लागि यो कदम धेरै ठूलो बुद्धिमत्ता र दूरदर्शिता साबित भयो । जापानलाई अघि बढाएर माथि उठाउनमा त्यहाँका युवा सम्राट् हिरोहितोको ठूलो भूमिका छ भन्दा अतिशयोक्ति नहोला । साथै जापानी युवाहरूको पौरख र पसिनाको जगमा जापानको समृद्धि ठडिएको छ ।

हामी के गर्दैछौं त ? नयाँ पुस्तालाई निराश बनाएर विदेश धपाउँदैछौं । किशोर वयबाट तरुण हुनैं नदिई बुढा बनाउँदैछौं । अनि थाकेको रोगी पुस्तालाई राज्यको बागडोर सुम्पेर समृद्धिको आश गर्दैछौं । यस मार्गचित्रबाट देश बन्दै बन्दैन । हामीले मार्गचित्र बदल्नुपर्छ र किशोरकिशोरीलाई तरुण हुन दिनुपर्छ । देश विकासको प्रमुख सर्त यही हो । यस विषयमा नेपाली समाजले सघन विमर्श गर्न जरुरी छ ।