देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गणेशको पछि लाग्दा यता न उता

देशान्तर

काठमाडौं । ‘नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार’ नेपाली उखान यतिबेला नेपालको चर्चित खेल फुटबलमा चरितार्थ भएको छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फामा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गर्दै आएका पंकजविक्रम नेम्बाङको नियति त्यही उखानसँग मेल खान गएको छ ।

कर्मालाई पछार्न विभिन्न स्वार्थ समूहसँग अस्वाभाविक गठबन्धन गरेका पंकज अहिले ती स्वार्थ समूहले भनेअनुसार काम नगरिदिँदा नियमित तथा महत्वपूर्ण बैठक नै गर्न नसक्ने अवस्थामा पुगेका छन् । अहिलेसम्म दुई पटक एन्फाको कार्यसमितिको बैठक स्थगित भइसकेको छ भने अर्को बैठक साउन २६ गते बोलाइएको छ ।
एन्फा अध्यक्षमा निर्वाचित भएलगत्तै पंकजले किरण राईलाई महासचिव बनाएका थिए भने नेपाली मूलका तर विदेशी (जर्मन) नागरिक नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संयोजक बनाए ।

एन्फामा अहिले तीन वटा समूह सतहमा देखिएका छन् । एउटा उनको आफ्नै समूह छ भने निवर्तमान अध्यक्ष शेर्पा र अर्को समूह भनेको फिफाको प्रतिबन्धमा परेका गणेश थापा नेतृत्वको समूह । पंकजले काम अघि बढाउन खोज्दा शेर्पा समूहले गुण र दोषको आधारमा सहयोग गरेको देखिए पनि सबैभन्दा आक्रामक समूहको रूपमा थापाको समूह सक्रिय भएको छ ।

थापा आफ्ना छोरा गौरव थापालाई एन्फाको महासचिव वा सीईओ बनाउन चाहन्छन् । पहिलो बैठकबाट महासचिवमा किरण राईलाई महासचिव बनाएकाले यो च्याप्टर क्लोज भइसकेको छ तर थापाको दाउ अहिले पनि छोरालाई एन्फाको सीईओ बनाएर रजगज गर्नेछ । कर्मालाई पराजित गर्न नेम्बाङले नेपाली फुटबल विकासको सबैभन्दा ठूलो शत्रुको रूपमा शेर्पालाई ठानेका थिए ।

तर अहिले अवस्था फेरिएपछि एन्फाको पहिलो कार्यसमिति बैठकदेखि नै नेम्बाङ विपक्षीको नभई आफ्नै गुटका साथीहरूको घेराबन्दीमा पर्दा फुटबलको नै गति रोकिने अवस्थामा पुगेको छ । अहिले थापा पक्षले जसरी पनि नवीन पाण्डेलाई अन्तर्राष्ट्रिय विभाग प्रमुखबाट हटाउन अडान राख्दै आएको छ । पाण्डेलाई कर्माले पनि पहिले एन्फामा ल्याउँदा काम गर्न नसकेर बीचमै छाडेका थिए । सुरुमा कर्मालाई साथ दिएका नवीन पछि पंकजलाई बोकेर चुनावसम्म पुग्दा सफलता त दिलाए सँगसँगै आफूलाई पनि एन्फामा प्रवेश गराएका थिए । तर अहिले थापा पक्षका विराटकृष्ण शाहीलगायतले पाण्डेलाई नहटाएसम्म एन्फाका गतिविधिहरू अघि बढ्न नदिने एक सूत्रीय अडानमा रहेका छन् । उनीहरूले पाण्डेको नियुक्ति कानुनसम्मत नभएको भन्दै विभिन्न ठाउँमा उजुरी पनि दिएका छन् ।

नेम्बाङ १९ सदस्यीय एन्फा कार्यसमितिमा अल्पमत परेका छन् । गणेश थापा गुटका १० जनाले पंकजको साथ छाडेपछि अल्पमतमा परेका हुन् । अहिले एन्फाको विवाद फिफा र एएफसीसम्म पुगेकाले कुनै दिन राजनीतिक हस्तक्षेप गर्नुपर्ने अवस्थामा आएमा नेपाली फुटबल नै प्रतिबन्धमा पर्ने खतरा पनि उत्तिकै छ ।