देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दोस्रो चरणको निर्वाचन : ३४ जिल्लाका २८३ तहमा आज उम्मेदवारी

देशान्तर

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको मनोनयनपत्र दर्ता गरिने भएको छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार प्रदेश नम्बर ३, ४ र ६ का स्थानीय तहमा निर्वाचनमा उठ्ने उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्नुपर्नेछ । तीन प्रदेशमा पहिलो चरणको निर्वाचन ३१ वैशाखमा हुँदै छ । सो दिन ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार उम्मेदवारको मनोनयन गर्ने कार्यक्रम भए पनि प्रमुख राजनीतिक दलहरूले उम्मेदवारको टुंगो भने लगाउन सकेका छैनन् । निर्वाचन आयोगले मंगलबार बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ । सोही दिन साँझ ५ बजे नै उम्मेदवारको सूची प्रकाशन गरिने कार्यक्रम छ । उम्मेदवारले नगरपालिका र गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतकोे कार्यालयमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । २० वैशाखमै उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने सोही दिन नै मनोनयनपत्र जाँच गर्ने कार्यक्रम छ ।

२१ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र २२ वैशाखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । निर्वाचन आयोगले २२ वैशाखमै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

मुख्य सहरमा मुख्य दलका उम्मेदवार

काठमाडौं महानगर

कांग्रेस : सोमबार रातिसम्म पनि टुंगो लागेको छैन । मेयरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीको चर्चा छ । त्यस्तै, प्रगति रन्जित र तीर्थराम डंगोलको सम्भावना छ । उपमेयरमा प्रतिमा गौतम र कल्याणी रिजालको नाम सिफारिस भएको छ ।

एमाले : मंगलबार बिहान मात्रै टुंगो लाग्ने भएको छ । जीवनराम श्रेष्ठ, सावित्रा भुसाल र विद्यासुन्दर शाक्यको नाम प्रदेश कमिटीले सिफारिस गरेको छ । तर, स्थायी कमिटीमा केशव स्थापित र गौरी प्रधानको नाममा पनि छलफल भयो । उपमेयरमा शान्ति अधिकारी, इन्दिरा पन्त र रत्ना गुरुङको नाममा छलफल भइरहेको छ ।

माओवादी केन्द्र : मेयरमा सर्वोत्तममान डंगोल र उपमेयरमा सुशीला पौडेललाई उम्मेदवार बनाएको छ । सबै वडामा माओवादी उम्मेदवार घोषित भइसकेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

ललितपुर महानगर

कांग्रेस : मेयर चिरिबाबु महर्जन, उपमेयर गीता सत्याल ।

एमाले : मेयर हरिकृष्ण व्यञ्जनकार, उपमेयर टुंगो लाग्न बाँकी ।
माओवादी केन्द्र : दुवै टुंगो लाग्न बाँकी ।

पोखरा महानगर

कांग्रेस : मेयर नरेशशंकर पालिखे, उपमेयर चन्द्रावती पौडेल ।

एमाले : मेयर मानबहादुर जिसी, उपमेयर मञ्जु गुरुङ ।

माओवादी केन्द्र : दुवै टुंगो लाग्न बाँकी ।

राप्रपा : मेयर गीता गुरुङ, उपमेयर रमेशबहादुर खत्री ।

भरतपुर महानगर

कांग्रेस : टुंगो लाग्न बाँकी

एमाले : मेयर देवी ज्ञवाली, उपमेयर विद्या बज्राचार्य ।

माओवादी केन्द्र : मेयर रेणु दाहाल, उपमेयर सुरेन्द्र गुरुङ ।

हेटौँडा उपमहानगर

कांग्रेस : मेयर आनन्दराम पराजुली, उपमेयर लक्ष्मी श्रेष्ठ ।

एमाले : मेयर हरिबोल महत, उपमेयर टुंगो लाग्न बाँकी ।

माओवादी केन्द्र : मेयर बलराम बल, उपमेयर कमला पौडेल ।

राप्रपा : मेयर मधु अधिकारी, उपमेयर टुंगो लाग्न बाँकी ।