देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीर्थको डिजाइनमा कलाकारलाई अन्याय

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई फेरि विवादमा पारेका छन् ।

पटकपटक आर्थिक अनियमितताको आरोप लाग्दै आएका थापाले यस पटक पनि केही कलाकारलाई पैसा लिएर प्रधानमन्त्रीबाट सम्मान गराएको आरोप लागेको छ ।

गत स्थानीय तहको निर्वाचनका बेला सहयोग गरेका कलाकारलाई सम्मान गर्ने नाममा थापाले चुनावमा सहयोग गरेका भन्दा आफूलाई आर्थिक सहयोग गरेकालाई बोलाएर सम्मान गरेको संघकै पदाधिकारीहरूले दाबी गरेका छन् ।
निर्वाचनमा सहयोग गरेका कलाकारलाई सम्मान गर्ने बारेमा संघभित्र कुनै छलफल नगरी, कार्यक्रमका बारेमा कुनै जानकारी नै नदिई एकलौटी गरेको भन्दै अधिकांश पदाधिकारीले आपत्ति जनाएका छन् ।

संघका वरिष्ठ उपसभापति जनार्दन आचार्यले विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष थापाले एकलौटी गरेको, संस्थाको दुरुपयोग गरेको र योगदान गरेका कलाकारलाई अन्याय गरेको दाबी गरेका छन् ।

‘निर्वाचनका बेला धेरै कलाकारले सहयोग गर्नु भएको छ, उहाँहरूलाई कुनै मतलव नगरी निर्वाचनमा कुनै भूमिका नखेलेका र संघको सदस्य पनि नरहेका व्यक्तिहरूलाई सम्मान गरिएको सामाजिक सञ्जाल मार्फत थाहा पाउँदा आश्चर्यमा परेका छौँ,’ उनले भने ।
सामाजिक सञ्जालबाट प्राप्त जानकारीअनुसार २७, २८ जनालाई सम्मान गरिएकोमा १०, १२ जना मात्रै सम्मान गर्न लायक रहेको र अरू धेरै छुटेको उनको भनाइ छ ।

पार्टीले गठन गरेको संघमा आधिकारिक रूपमा पाँच जनामात्रै पदाधिकारी रहेकोमा वरिष्ठ उपाध्यक्ष आचार्यसहित महामन्त्रीद्वय दुर्गा रायमाझी र रोशनी केसीलाई जानकारी नै नदिई थापाले एकलौटी कार्यक्रम गरेपछि संघभित्र थप असन्तुष्टि बढेको छ ।

थापाले यसअघि पनि अवैधानिक तरिकाले एकलौटी रूपमा सय भन्दा बढी केन्द्रीय पदाधिकारी तथा सदस्यहरू नियुक्त गरेको भन्दै विरोध भएको थियो । उनले अधिकांशलाई रकम लिएर नियुक्त गरेको आरोप धेरैले लगाएका छन् ।
थापाले संघको सदस्य नै नरहेका व्यक्तिलाई पनि रकम लिएर तीज कार्यक्रमका लागि क्यानडा जान सिफारिस गरेको वरिष्ठ उपाध्यक्ष आचार्यले दाबी गर्नुभयो ।

उहाँले संघको लेटरप्याड दुरुपयोग गरेर अध्यक्ष थापाले मानव तस्करी गरेको गम्भीर आरोप पनि लगाउनु भएको छ । त्यसैगरी हालै मात्रै कांग्रेस प्रवेश गरेको घोषणा गरेका कलाकार भुवन केसीलाई पनि एकाएक संघको केन्द्रीय सदस्य बनाएर चलचित्र विकास वोर्डको अध्यक्ष नियुक्त गराउन पनि थापाले आर्थिक चलखेल गरेको आचार्यको आरोप छ ।