देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

फुकोट–कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

देशान्तर

काठमाडौं –  फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो ।

प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिए । ‘स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन ।’ आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनाका सरकारले लगानी जुटाउने प्रयास गरिरहेको वाइबाले बताए ।

आयोजनास्थल कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्छ । आयोजनाका संरचना सो गाउँपालिकाको वडा नं १, २ र ३ मा बन्ने छन् । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको प्रमुख वाइबाले बताए । आयोजनाको अनुमानित लागत ९२ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

आयोजना निर्माण गर्दा एक हजार १४९ परिवार प्रभावित हुने बताइएको छ । आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको वाइबाले जानकारी दिए । हालसम्म ५० करोड रुपैयाँ भन्दा बढी रकम मुआब्जावापत वितरण गरिएको छ ।