देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भाँड र गलगाँडको दिवास्वप्न !


हामी बाँचेको वर्तमान युग, साइबर युग हो, त्यसमा कसलाई शंका छ र ? त्यो पनि नयाँ पुस्ताको पेवा हो अरे । त्यसैले यो युगलाई हाँक्न पुराना पुस्ताका नेता काम लाग्दैनन् अरे । नयाँ पुस्तालाई समसामयिक विश्वमा चलेका हावा र ट्रेन अनुसारका फेसन तथा त्यही फेसनमा नाच्ने नटुवा तथा भँडुवा चाहिन्छ रे । त्यही कारण फेसबुकवाजहरूको पुस्तालाई शेरबहादुर देउवा र केपी शर्मा ओली चाहिँदैन अरे । उनीहरू आउटडेटेड भइसके रे । त्यत्तिमात्र होइन– कांग्रेस र कम्युनिस्ट पार्टी र तिनका हाँगाबिँगा पनि काम नलाग्ने भइसके अरे । त्यसैले उनीहरूलाई नयाँ पुस्ताको मागअनुसार गाइने र भाँडहरूलाई देशको नेतृत्व सुम्पनुप¥यो अरे । बुढो नेतृत्वले उनीहरूका निम्ति ठाउँ नछाडे जनतालाई जुरुक्क उचालेर उनीहरूलाई डाँडो कटाइदिने अरे ।

पहिले पनि यो देश र नेपाली समाज, लाहुरेबाट प्रभावित थियो । शहरमा पढेका लाहुरे र गाउँमा पल्टनियाँ लाहुरेले परिवर्तनका सन्देश फिँजाउँथे । उनीहरू नै डलर कमाएर ल्याउँथे र राम्रा घर बनाउँथे । नेपाली तरुणका रोलमोडेल उनीहरू नै थिए । लाहुरे भनेपछि गाउँका तरुनी भुतुक्कै हुन्थे । तन्नेरीहरू पनि उनीहरूकै पछि लाग्थे र लाहुर जाने उपाय जान्न खुरुन्धार गर्थे । विदेशमा दर्वानी गर्ने, ट्वाइलेट सफा गर्ने, भाँडा मोल्ने, इलेभेटर पुछ्नेमात्र होइनन्, मुर्दा गाड्ने खाल्डो खनेर आधुनिक युगका सभ्यता भोगेर स्वदेश फर्केका र लाहुरे कहलाएका व्यक्तिले नेतृत्व सम्हालेका खण्डमा देशले उन्नतिका दिशामा फड्को मार्न सक्ने उनीहरूको दावी छ । दावीमात्र होइन– ठोकुवा नै छ । देश अहिले लठ्ठिएर उनीहरूकै पछि लागेको छ । उनीहरूको आँट र जाँगर हौसिएर आकाश छुन पुगेको छ ।

गीत गाउदै हिँड्ने र त्यसैबाट रोजगारी चलाउनेलाई नेपाली समाजमा “गाइने” र त्यही गीतका ताल तथा सुरमा कम्मर लच्काएर नाँच्नेलाई “भाँड” भन्ने चलन थियो । कालान्तरमा संचारका प्रविधिको विकास र विस्तारले त्यो पेशालाई महिमामण्डित तुल्याउन अनेक नामले पुकारिन थाल्यो । पहिले तिनीहरू गाउँ÷गाउँमात्र होइन– घर-घर पुगेर गाउने र नाच्ने गर्दथे । त्यसैको कमाइ खान्थे, त्यसैमा रमाउँथे । अहिले युगले पल्टा खायो । टेलिभिजन र मोबाइल आयो । उनीहरूको पहुँच र आम्दानी दुवै बढ्यो । उनीहरू अब चोटा–कोठा चाहार्नेमात्र भएनन्, खुला तथा गोप्य सबैतिर पुग्न थाले । हिजो पो वाक् तथा प्रकाशन स्वतन्त्रता थिएन । ती सबै नियन्त्रित थिए । बोल्यो कि पोल्यो हुन्थ्यो । गर्दन जोगिए पनि झ्यालखाना जानबाट कोही जोगिन सक्तैनथे । कांग्रेस र कम्युनिस्टले त्यस बेला संघर्ष गरेर जेल, नेल तथा निर्वासन झेलेकाले अहिले स्वतन्त्र भनेर उभिने आँट गर्न पाएका हुन् । त्यत्तिमात्र होइन– कांग्रेस र कम्युनिस्टका ज्यानै लिने माग पनि गर्न पाएका छन् ।

यत्ति त सबैले बुझेका छन् कि कांग्रेसले प्रजातन्त्रका लागि २००७ सालमा नलडेको भए यो देशमा प्रजातन्त्र आउने थिएन । २०१७ सालमा राजा महेन्द्रले पनि प्रजातन्त्र खोस्न र पाउने थिएनन् । त्यसरी राजाले खोसेको प्रजातन्त्र पुनःस्थापना गर्न कांग्रेसले निरन्तर संघर्ष जारी राखेर २०४६ सालमा निर्णायक जनआन्दोलन नगरेको भए र त्यो आन्दोलन सफल नभएको भए अहिले दुलाबाट फुत्त निक्लेर शेरबहादुर देउवाको विरोध गर्न कहाँ पाउँथे ? शेरबहादुरले पञ्चायतविरुद्ध लडाइँ लडिदिएका थिए, त्यसैले उनीहरूलाई उनको विरोध गर्ने अधिकार प्राप्त भयो । नत्र स्वतन्त्र मर्नमात्र पाउँथे, राजनीति गर्न पाउँदैनथे । त्यो हेक्का उनीहरूले मात्र होइन– उनीहरूलाई उचालेर दलका नेतालाई थचा¥यौं भनेर आत्मरतिमा रमाउनेले पनि राख्नै पर्छ ।

प्रजातन्त्रको सार भनेको जनताले आवधिक निर्वाचनका माध्यमबाट चुनेका प्रतिनिधिको सरकार, विधिको शासन र जनताप्रति उत्तरदायी प्रशासन हो । स्वतन्त्रले चाहेजस्तो अराजक तथा कसैप्रति जिम्मेदार हुनु नपर्ने स्वतन्त्र जनप्रतिनिधि भनेका राजनीतिक दलका विरोधी वा शत्रु हुन् । आदर्श, सिद्धान्त र विचारमा आधारित दलले मात्र जनताको प्रतिनिधित्व गरेर देशलाई समुन्नति र प्रगतिको दिशामा अघि बढाउन सक्छ । जोसंँग विचारमा आधारित संगठन छैन– त्यस्तो स्वतन्त्र भनेको नाङ्गोबुङ्गो हो । त्यसले गीत र संगीतको तालमा निराशा र कुण्ठाग्रस्त मानिसको भीडलाई भ्रान्त धारणा छरेर एकै क्षण उत्तेजित त तुल्याउन सक्ला तर समाज र देशलाई प्रगतिपथमा डो¥याउने दिशाबोध गराउन सक्तैन । त्यो किन भनिरहनै पर्दैन । स्वतन्त्रको न अगाडि कोही हुन्छ न पछाडि !

आजको प्रजातान्त्रिक विश्वमा कम्युनिस्ट जस्ता एकदलीय अधिनायकवादीले त प्रजातान्त्रिक पद्धतिको सामना गर्न सकेका छैनन्, वा उनीहरू प्रतिरक्षात्मक अवस्थामा पुगेका छन् । रुस, चीन, उत्तर कोरिया र क्युबालाई छाडेर सम्पूर्ण विश्व बहुदलीय प्रजातन्त्रको चौडा राजमार्गमा लम्किरहेका छन् । उनीहरूसमेत माक्र्सवाद छाडेर उदारवादतिर ढल्किरहेका छन् । त्यस्तो विश्व परिवेशमा नेपालमा स्वतन्त्र अथवा निर्दलीयताको झिल्कोले देशै जलाउन खोज्नु दिवास्वप्नसिवाय केही हुन सक्तैन । कहिलेकाहिँ फुर्सद पाउँदा दिउसो निदाउनु र सपना देख्नु अनौठो एवं अस्वास्थ्यकर होइन, तर त्यस्तो अवस्थामा देखेको सपनाका पछाडि दगुर्नुचाहिँ स्वास्थ्यकर पनि होइन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यसै लेखेका थिएनन नि !–

“स्वस्थ कल्पनाले कवि बन्छ,
अस्वस्थ कल्पनाले पागल !”