काठमाडौं – राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक साताको अन्तरमा दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा छानिएका छन् ।
आगामी अगष्ट अन्तिमदेखि सुरु हुने क्यारेवियन प्रिमियर लिग सीपीएलका लागि सन्दीपलाई जमैका तल्लावाजले अनुबन्ध गरेको हो । सन्दीपले सन् २०२० को संस्करण पनि तल्लावाजबाटै खेलेका थिए ।
सो प्रतियोगितामा उनले ११ खेलमा १२ विकेट लिएका थिए । जमैकाले पाँच विदेशी खेलाडीको कोटामा सन्दीपलाई ड्राफ्टअघि नै अनुबन्ध गरेको हो ।
सन्दीपसँगै पाकिस्तानका तीव्र बलर मोहम्मद आमीरले पनि जमैकासँग सम्झौता गरेका छन् । उसले तीन जनालाइ रिटेन गरेको छ भने २ जना स्थानीय खेलाडी र ५ जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको हो ।
जमैकाले नेपाली समयअनुसार बिहीबार साँझ पौने ७ बजे हुने ड्राफ्टमार्फत बाँकी सात जना खेलाडी अनुबन्ध गर्नेछ । सन्दीपले सन् २०१८ को सिजनदेखि क्यारेवियन प्रिमियर लिग खेल्न थालेका हुन् ।
आफ्नो पहिलो सहभागितामा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्ससँग ५ हजार अमेरिकी डलरमा सम्झौता गरेका उनलाई सन् २०१९ मा बार्बाडोज ट्राइडेन्ट्सले ७० हजार डलरमा भित्र्याएको थियो । यसपल्ट उनको क्याटागोरी र मूल्य सार्वजनिक गरिएको छैन ।
यसअघि मंगलबार श्रीलंकाको लंका प्रिमियर लिगमा सन्दीपलाई डाम्बुल्ला जायन्ट्सले ४० हजार डलर खर्चिएको थियो । सन्दीपले भारतको आईपीएल, अस्ट्रेलियाको बिग बास लिगलगायत विश्वभरका प्रायः चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।
प्रतिक्रिया