देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विरोध प्रदर्शनका क्रममा झडप

देशान्तर

काठमाडौँ । निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदण्डभन्दा बढी शुल्क लिएको बिरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा शुक्रवार झडप भएको छ ।

विद्यार्थी भर्ना गर्दा निजी विद्यालयले मापदण्डभन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै ताहचलमा गरिएको प्रदर्शनमा झडप हुँदा केही विद्यार्थी नेता सामान्य घाइते भएका छन् ।

ललितपुर र भक्तपुरका शिक्षा कार्यालयमा तालाबन्दी समेत गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । उनले निजी शैक्षिक संस्थाले सरकारको मार्गनिर्देशनको उल्लङ्घन गरी जथाभावी शुल्क निर्धारण गर्नु कानुन विपरीत रहेको भन्दै यसविरुद्ध सशक्त आन्दोलनका कार्यक्रम गरिने जानकारी दिए ।

सरकारले वार्ताका लागि बोलाएको भए पनि शुल्क फिर्ताको क्रम सुरु नहुँदासम्म वार्ता नबस्ने विद्यार्थी सङ्गठनले जनाएको छ । ती सङ्गठनको अघिल्लो दिन बसेको बैठकले माग पूरा गर्न दबाब दिने उद्देश्यले देशभर विरोध प्रदर्शन तथा शुल्क लिने विद्यालय सञ्चालकलगायतलाई बहिष्कार गर्ने जस्ता निर्णय पनि गरेको थियो ।

निजी विद्यालय सञ्चालकले शुल्क फिर्ता नगर्दासम्म उनीहरूलाई सामाजिक बहिष्कार गर्ने सङ्गठनले जनाएको छ । संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, राप्रविसं लगायत आठ सङ्गठन आवद्ध छन् ।