देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कर्णालीले विज्ञापन होइन, काम गर्छ : मुख्यमन्त्री शाही

देशान्तर

काठमाडौं – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीले विज्ञापन भन्दा काम बढी गर्दै आइरहेको बताएका छन् । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम’ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गरे ।

उनले समयको महत्व बुझ्दा हरेक समाज तथा व्यक्तिले क्षति व्यहोर्न नपर्ने जनाए। विपद्मा अर्काको समाचार लेख्ने पत्रकारले आफू सुरक्षित हुनुपर्नेमा उनले जोड दिए। उनले भने, “पत्रकारको लेखाइको मनोविज्ञान सकरात्मक र एकै अर्थ दिने शब्द हुनुपर्दछ । विपद्मा त्रासदी फैलाउने र हतोत्साहित नहुने खालको समाचार सम्प्रेषणले सम्वेदनशील पत्रकारिताको जिम्मेवारी पूरा हुन्छ ।”

आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले विपद् मानव जीवनको अजात शत्रु भएकाले यसबाट बच्न र बचाउन पत्रकारको ठूलो भूमिका रहेको बताए। उनले १७ लाख जनतालाई विपद्बाट बचाउन सत्य तथ्य सूचना र जानकारीको मुख्य जिम्मेवार पत्रकार नै भएको उल्लेख गरे।

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिका अध्यक्ष देवीराम देवकोटाले विपद्मा केन्द्रित रहेर काम गर्न र यसमा काम गर्ने पत्रकारको क्षमता अभिवृद्धिका लागि दुई दिनको प्रदेशस्तरीय क्षमता अभिवृद्धिको तालिम आयोजना गरिएको बताए । विपद्सँग सम्बन्धित उक्त कार्यक्रममा सात जिल्लाका ३० पत्रकारको सहभागिता रहेको थियो । उक्त तालिमको प्रशिक्षक भवानी बरालले गरेका हुन् ।