देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डोटीमा विकास निर्माणका कामले गति लिँदैछ : मुख्यमन्त्री भट्ट

देशान्तर

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समय डोटीमा सडक विकास तथा विस्तारले गतिलिन थालेको बताए। सिलगढी बग्लेक, झिग्राना सडक कालोपत्रको काम सम्पन्न भएपछि निरीक्षण तथा अनुगमनका लागि गएका मुख्यमन्त्री भट्टले डोटीमा सडक विस्तारदेखि अन्य विकासले तीव्रता पाएको बताए।

उनले भने, “डोटीमा पछिल्लो समय विकासका कामले तीव्रता पाएको छ, हाम्रो डोटी राम्रो डोटी भन्ने सपना सकार हुँदैछ।” अनुगमन तथा निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले जिल्लामा भइरहेका सडक कालोपत्रदेखि अन्य विकास निर्माणका काम गुणस्तरयोग्य हुनुपर्ने बताए। तोकिएको समयमा निर्माण कार्यसक्ने निर्माण व्यवसायीलाई पुरस्कृत गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी गराउँदै उनले भने, “आफूले लिएको काम कमसल खालको बनाउने र तोकिएका समयमा सम्पन्न नगर्नेलाई कारवाही गछौँ, राम्रो काम गर्नेलाई पुरस्कृत गर्छु ।”

प्रदेश सरकारको रु ३८ करोड लागतमा १५।६ किमी उक्त सडक निर्माण कालोपत्र सम्पन्न भएको छ। उक्त सडकको दुई प्याकेजमा ठेक्का सम्झौता भएको भौतिक पूर्वाधार विकास कार्यालय डडेल्धुराका इञ्जिनीयर हेमराज भट्टले जानकारी दिए। प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने उक्त सडक कालोपत्र भएसँगै आर्थिक समृद्धिको बाटो खुलेको र यसले पहाडी जिल्लाकै अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा लिइएको छ।

उक्त सडक कालोपत्र निर्माण कार्यको जिम्मा सिएबी कन्स्ट्रक्सनले लिएको थियो। उक्त सडक कालोपत्र सम्पन्न भएसँगै पूर्वीचौकी गाउँपालिकाका बग्लेक, झिग्राना, भार्तोली, वाडी, कुडासैन र सायल गाउँपालिकाका भल्मा, सपरा, बेटाराका नागरिकलाई सदरमुकाम सिलगढी आवतजावतमा सहज हुनाका साथै उनीहरुले उत्पादन गरेका चिज वस्तुले बजार पाउने भएको स्थानीयवासी धनबहादुर विष्टले बताए।

यसैगरी उक्त सडक निर्माणसँगै कालोपत्र सम्पन्न भएकाले अब खप्तड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको सङ्ख्यामा थप वृद्धि हुनुका साथै यस क्षेत्रका स्थानीयको दैनिकीमा परिवर्तन आउने खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिए।