देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तामाकोशी–५ आयोजनाको निर्माण कार्य शुरू

देशान्तर

काठमाडौं। दोलखा जिल्लामा ८७ मेगावाट क्षमताको तामाकोशी–५ जलविद्युत् आयोजनाको निर्माण कार्य शुरू भएको छ । नेपाल विद्युत प्राधिकरणले तामाकोशी जलविद्युत् कम्पनी खडा गरी केही हप्ताअघिबाट ८७ मेगावाट क्षमताको तामाकोशी–५ जलविद्युत् आयोजनाको निर्माण शुरू गरेको हो ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको विद्युत गृहमा प्रयोग भई टेलरेसबाट निस्केको पानीलाई लामाबगरको जगतबाट भूमिगत सुरुङ्गमार्फत सूरीदोभान नजिक अर्को भूमिगत विद्युत् गृह निर्माण गरी ८७ मेगावाट विद्युत उत्पादन गरिने आयोजना प्रमुख नसिव प्रधानले बताए ।
माथिल्लो तामाकोशीको मुख्य सिभिल ठेकेदार सिनो हाइड्रोले नै तामाकोशी–५ को पनि भूमिगत इन्टेक बनाउने कार्य शुरू गरिसकेको आयोजना प्रमुख प्रधानले जानकारी दिए । आजको अभियान दैनिकमा खबर छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको टेलरेसको पानीलाई ६४ दशमलब ८९ मिटर ट्रान्जिशनल टनेल तथा भूमिगत ‘इन्टर कनेक्सन’ इन्टेक बनाइ ५ दशमलव ६ मिटर व्यास भएको ८ दशमलव २ किलोमिटर लामो सुरुङ्ग निर्माण गरिने छ । यसको १ सय ६० मिटर हेडबाट ४ ओटा युनिटमा पानी खसाली विद्युत् उत्पादन गर्ने डिजाइन रहेको आयोजना प्रमुख प्रधानले बताए । विदेशी कन्सल्ट्याण्ट ल्हामेरले आयोजनामा परामर्श सेवा प्रदान गरिरहेको आयोजनाले बताएको छ ।

करीव १३ अर्ब रुपैयाको लागतमा निर्माण शुरू गरिएको तामाकोशी–५ जलविद्युत् आयोजना दोलखामा बन्ने अर्को सस्तो आयोजना भएको छ । प्रतियुनिट विद्युत् उत्पादन लागतको हिसाबले तामाकोशी–५ पनि सस्तो आयोजना हो । बाँध निर्माण नगरी तथा न्यून प्राकृतिक क्षति तथा आयोजनाको सम्पूर्ण संरचना भूमिगत निर्माण हुने भएकोले तामाकोशी–५ सस्तोमा निर्माण हुने आयोजना सम्वद्ध कर्मचारीहरु बताउँछन् । आयोजना विस्तृत प्रतिवेदन डीपीआर अनुसार २५ मेगावाट क्षमताको ४ ओटा युनिट जडान गरिने योजना रहेको छ ।

आयोजनाको प्रवद्र्धक तामाकोशी जलविद्युत् कम्पनीको प्रवन्धपत्र अनुसार दोलखालीले पाउने १० प्रतिशत शेयर सहित विपन्नलाई पनि २ प्रतिशत शेयर सुनिश्चित गरिएको आयोजना प्रमुख प्रधानले जानकारी दिए । साविकको गौरीशङ्कर, लामाबगर, लादुक, बुलुङ, खारे, ओराङ र सुरी गरी ७ गाविस आयोजनाबाट प्रभावित बन्नेछन् ।

आयोजनाबाट उत्पादित विद्युतलाई १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत माथिल्लो तामाकोशीको सबस्टेशनमा जोडिने छ ।