देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेम्वाङको पहिलो निर्णय नै विवादमा

देशान्तर

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । बालुवाटारको साथ सहयोग पाएका पंकजले ८४ प्रतिनिधिमध्ये ४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले ३९ मतमा सीमित बन्न पुगेका छन् । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट भएकै कारण एन्फा वरिष्ठ उपाध्यक्ष हुँदा पंकज कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत नेतृत्वको युवा तथा खेलकुद समितिमा सदस्य रहेका थिए । कांग्रेस नेता नरेन्द्रविक्रम नेम्बाङका छोरा पंकजको बालुवाटारसँग सम्बन्ध सुमधुर रहेको छ ।

कांग्रेस नेतृत्व सरकार र सत्ताको दुरुपयोग गरेका उनले मण्डलेहरूको पनि साथ समर्थनमा उम्मेदवारी दिएका थिए । कांग्रेस नेता प्रकाशमान सिंहको उम्मेदवारका रूपमा शेर्पा मैदानमा खडा भएका थिए । नेम्वाङले बालुवाटारको आडमा नेम्वाङले तीन वटा विभाग (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना)का प्रतिनिधिलाई प्रभावमा पारेर चुनाव जितेको जानकारहरू बताउँछन् ।

एन्फा अध्यक्षको पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो बैठकमा कार्यसमितिले महासचिव, कोषाध्यक्ष र अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संयोजक नियुक्त गर्नुका साथै यसअघि क्याम्प छाडेका खेलाडीहरूलाई ससम्मान फिर्ता बोलाउने निर्णय गरेको छ । यसैगरी सुन्दर नरसिंह जोशीलाई साफको उपाध्यक्षमा उम्मेदवार गराउने निर्णय पनि गरिएको छ भने प्रदेश कार्यसमिति लगायतका निर्णयहरू रहेका छन् । जुन विषय विवादमा परेको छ । त्यसका साथै एन्फाले खेलाडी फिर्ता बोलाउने निर्णय गर्दै गर्दा मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सम्झौता के गर्ने भन्ने विषयमा पनि अपूरो र अस्पष्ट निर्णय गरेको छ । अल्मुताइरी कतार फुटबल संघको सहयोगमा नेपाल आएर काम गरिरहेका व्यक्ति हुन् भने नेपाली फुटबल खेलाडीमा केही परिवर्तन पनि ल्याएको श्रेय जान्छ । तर पंकजसँग सुरुदेखि नै टसलमा रहेका अल्मुताइरीलाई बिदा गर्ने तयारीमा यो कार्यसमिति रहे पनि कतारसँगको सम्बन्धलाई कसरी अघि बढाउने भन्ने विषयमा उनलाई केही अप्ठेरो भने पक्कै हुनेछ । यदि उनले हटाई हालेमा कतारले आगामी दिनमा नेपाली फुटबललाई गर्ने सहयोग कस्तो हुन्छ त्यो पनि चासोको विषय रहेको छ ।

यसैगरी एन्फाको महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई मनोनीत गरिएको छ । महासचिव र कोषाध्यक्ष मनोनीतको विषयमा त्यति धेरै असन्तुष्टि बाहिर नआए पनि चुनावका बेला पंकजलाई सघाएकाहरू नै अहिले असन्तुष्ट बनेका छन् ।

अर्को विवादास्पद निर्णय विदेशी नागरिकलाई पंकज अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रूपमा नवीन पाण्डेलाई नियुक्त गरेका छन् । काठमाडौं धुम्बाराहीमा बस्ने पाण्डेलाई यसअघि पनि कर्मा अध्यक्ष हुँदा सोही पदमा नियुक्त गरिएको थियो । त्यतिबेला पनि उनी विदेशी नागरिक भएको भन्दै चर्को आलोचना भएपछि काम गर्न नसकेर पाण्डेले एन्फा छाडेका थिए भने त्यसपछि उनी एकसूत्रीय रूपमा कर्माको विरोध गर्दै पंकजलाई बोकेर हिँडेका थिए । पाण्डेले नै पंकज र प्रतिबन्धमा परेका गणेश थापालाई मिलाउन भूमिका खेलेको जानकारहरू बताउँछन् । पाण्डे जर्मन नागरिक हुन् । उनी अधिकांश समय उतै बस्ने र नेपाली फुटबललाई गिजोल्न भूमिका खेलेको आरोप लाग्ने गरेको छ ।

यसैगरी पंकजले सुन्दर नरसिंह जोशीलाई साफ फुटबलको उपाध्यक्षमा उम्मेदवार बनाउने तयारीमा छन् । निर्वाचनमा सहयोग गरेका गुन तिर्न जोशीलाई पंकजले साफको उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गर्दा पदाधिकारीहरूसँग सल्लाह नै नगरेको आरोप छ । विगतमा चेन्ज एन्फाको नारा लगाउने र पछि नेतृत्वमा आएका पकंज सुरुको दिनदेखि नै आफ्नै तरिकाले चल्न खोज्दा उनको टिममै समस्या पर्ने देखिएको छ । यसैगरी कतार विश्वकपका लागि अहिले एन्फामा २८० वटा विश्वकप फुटबल हेर्ने टिकट पनि आएको छ । उक्त टिकट आफू निकटलाई दिनका लागि पंकजले तयारी गरिरहँदा अरूले पनि दाबी गरेका छन् । यो टिकट एन्फाले सार्वजनिकरूपमा मूल्य निर्धारण गरेर बेच्नुपर्नेमा उनले आफूलाई चुनावमा सहयोग गरेकालाई खुसी पार्नका लागि बाँड्न लागेको बुझिएको छ ।

यसैगरी अब सहमहासचिव, राष्ट्रिय टिम म्यानेजर र एन्फाको सीईओको नियुक्ति गर्न बाँकी रहेको छ । सीईओमा गणेश थापाका छोरा गौरव थापालाई वचन दिएको बुझिएको छ । आर्थिक अनियमिताको आरोप लागेपछि निलम्बनमा परेका थापा अब छोरामार्फत एन्फामा आफ्नो पुरानो रजगज कायम गर्ने रणनीतिमा छन् ।