देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

स्वास्थ्य बिमा आफैं बिरामी

देशान्तर

काठमाडौं । स्वास्थ्य बिमा मानव स्वास्थ्यमा अचानक आइलाग्ने रोगहरूको कारणले अप्रत्याशित आर्थिक जोखिम न्यूनीकरण गर्ने एक मात्र बलियो आधार हो । स्वास्थ्य बिमालाई भविष्यमा हुन सक्ने आर्थिक जोखिम कम गर्न राज्यद्वारा पूर्ण स्वामित्वमा सञ्चालित सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने नतिजामुखी कार्यक्रमको रूपमा चिनिने पनि गरिएको छ ।

अहिले स्वास्थ्य बिमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै धमाधम बन्द हुने अवस्थामा पुगेको छ । देशका ठूला–ठूला अस्पतालहरूले आर्थिक अभावको कारण देखाउँदै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन नगर्ने जनाउँ दिइसकेका छन् । कसैले असार १५ गतेदेखि सञ्चालन गर्न नसकिने बताएका छन् भने कसैले साउन १ गतेसम्मको भाका दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बीएन्डसी अस्पताल बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य बिमा कार्यक्रमबापतको रकम बन्द गर्ने बताएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले सूचना जारी गर्दै सरकारको स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमबापतको रकम उपलब्ध नगराएकाले असार १५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्नुपरेको बताएका छन् । शिक्षण अस्पतालले २०७७ साल मंसिरदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।

यसैगरी नोबेल मेडिकल कलेजका व्यवस्थापक सदस्य भीमबहादुर चन्दले पनि मंसिरदेखि बिमितको उपचारमा गरेको रकम पाउन नसकेको बताए । उनले बोर्डबाट रकम भुक्तानी नपाउँदा कर्मचारीलाई तलब खुवाउन समस्यामा परेको बताए । उनका अनुसार बोर्डले नोबेललाई ५४ करोड ३८ लाख रुपैयाँ बिमितको उपचार गरेबापत दिन बाँकी छ । बीएन्डीसी अस्पतालले पनि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेबापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम सञ्चालन नगर्ने बताएको छ ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले ऐन, नियम र कार्यविधिअनुसार अस्पताललाई बिमाबापतको रकम उपलब्ध गराउँदै आएको बताए । ‘अस्पतालले माग्दैमा हामीले पैसा दिने होइन । नियम, कानुन र कार्यविधिअनुसार बिमितको उपचारबापतको रकम दिने हो,’ उनले भने, ‘अस्पतालले पठाएको प्रमाणमाथि हामीले रुजु गर्ने काम गरिरहेका छौं । नियमअनुसार रुजु भएका अस्पतालको रकम हामीले रोक्दैनौं ।’

उनले अस्पतालले नियमअनुसारको प्रमाण उपलब्ध नगराउँदा भुक्तानीमा समस्या परेको बताए । उनका अनुसार गत साउनयता ८ अर्ब १३ करोड अस्पताललाई उपलब्ध गराइसकेको छ । यस्तै जेठयता ६ अर्ब अस्पताललाई दिन बाँकी रहेको उनको भनाइ छ । बोर्डले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न ४५० अस्पतालसँग सम्झौता गरेको छ ।

सरकारले पाँच वर्षअघि सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित कैलाली जिल्लाबाट ‘स्वास्थ्य बिमा कार्यक्रम’ सुरु गरेको थियो । एउटा परिवारले ३५ सय रुपैयाँको स्वास्थ्य बिमा गरेपछि उक्त परिवारको पाँच जना सदस्यले अस्पतालमा एक लाखबराबरको उपचार सेवा लिन पाउने व्यवस्था छ । हाल देशभरका ७७ जिल्लामा ५७ लाख मानिस बिमा कार्यक्रममा सहभागी छन् ।