यो शास्त्रोक्त कथनलाई, नेपालको वर्तमान गठबन्धन सरकारले शब्द र भावना दुवैले उदाहरणीय रूपमा पालना गरेको छ । जीवित भए मात्र सबैथोक देख्न पाइने हो । मरेपछि त सिद्धिहाल्यो नि ! हुन पनि सबैथोक बाँचुञ्जेल मात्र चाहिने हो । मरेपछि डुमै राजा ! हाम्रो परम्परागत मान्यता यही हो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, त्यस्ता भौतिकवादी नेता हुन्, जो मरेर स्वर्ग देख्ने कुरामा विश्वास गर्दैनन् । जिउँदाले मात्र सबैथोक देख्न सक्छ भन्ने व्यवहारवादी विज्ञानमा उनको पूर्ण विश्वास रहेको छ ।
यो पनि ऐतिहासिक यथार्थ हो कि प्रधानमन्त्री शेरबहादुर देउवा, गठबन्धन सरकार निर्माण र सञ्चालनमा सिद्धहस्त मानिन्छन् । प्रजातन्त्रको पुनस्र्थापनापछि पहिलो पटक २०५२ सालमा उनको नेतृत्वमा पहिलो गठबन्धन सरकार उनकै नेतृत्वमा बनेको थियो । त्यो सरकार उनका अकुशलताले ढलेको थिएन, कांग्रेसकै अन्तरघातका कारण सत्ताबाट बाहिरिन पुगेको थियो । त्यसपछिको स्थानीय चुनावमा कति ठूलो मूल्य चुकाउनु परेको थियो, त्यो दोहो¥याएर स्मरण गराइरहन आवश्यक नपर्ला ।
त्यो सरकार, कांग्रेस, राप्रपा र सद्भावनाको गठबन्धन सरकार थियो । तर कांग्रेसभित्र कोइराला र देउवा गुट तथा राप्रपाभित्र सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको बेग्लाबेग्लै भातभान्छा थियो । २०५ को संख्या रहेको प्रतिनिधिसभामा कांग्रेस ८०, राप्रपा २० र सद्भावनाका ४ सांसद थिए । बहुमतका लागि १०३ चाहिन्थ्यो । गठबन्धनसित बहुमत त थियो तर १ मतको । प्रमुख प्रतिपक्षमा एमाले थियो, उसको ८८, नेमकिपाको ८ र अन्य ५ मिलाएर १०१ थियो । अत्यन्त कठिन सन्तुलन कायम गरेर सरकार जोगाउनु पर्ने थियो । त्यसबेला पनि सत्ता टिकाउने मूल मन्त्र थियो– जिवितं किम नदृश्यते । उनको अर्जुनदृष्टि त्यसैमा टिकेको थियो ।
नेता र सांसदको संख्यामध्ये कुनै एक असन्तुलित भयो कि सरकार ढलिहाल्छ । ऐया–आत्था भन्न पनि पाइन्न ।
त्यो सरकारमाथि दुई पटक अविश्वासको प्रस्ताव आयो । दुवै पटक असफल भयो । तर जब कांग्रेस सभापति गिरिजाप्रसादले प्रधानमन्त्रीलाई विश्वासको मत लिन लगाए र आफ्न दुई सांसद अनुपस्थित तुल्याएर गठबन्धन सरकार अल्पमतमा पारे तब त्यो सरकार ढल्यो । त्यसपछि त्यही भयो, जुन नहोस् भनेर देउवाले आफू अलोकप्रिय हुने मूल्यमा पनि गठबन्धन सरकार जोगाउन चाहने सबै प्रकारका सम्झौता गरेका थिए । अहिले पनि त्यही रिवाइन्ड भएको मात्र हो, नयाँ केही भएको छैन ।
गठबन्धन सरकार टिकाउन त्यसमा सामेल दलका सबै नेता तथा मन्त्रीलाई मात्र सन्तुलनमा राखेर पुग्दैन, संसद्को संख्या पनि जोगाउनै पर्छ । नेता र सांसदको संख्यामध्ये कुनै एक असन्तुलित भयो कि सरकार ढलिहाल्छ । ऐया–आत्था भन्न पनि पाइन्न । यति भनिसकेपछि अर्थमन्त्री जनार्दन शर्मा किन खोसिएनन्, त्यस पछाडिको कारण यस्तो छ भनिरहनै परेन । चोली के पिछे क्या है ? यो गीतले सोधेको प्रश्नको जवाफ सबैलाई थाहा छ, तैपनि गीत लगातार दोहोरिरहन्छ । देउवाले झेल्नु परेको समस्या पनि त्यही हो ।
संख्याको धरापभन्दा पनि नेताहरूको पासो यस्तो छ कि अलिकता चल्मलायो कि सरकार खुर्मुरिन्छ । प्रधानमन्त्री देउवालाई बजेट सेटिङमा बनेको कुरा मात्र होइन, कसले त्यस्तो सेटिङको नेटवर्क किन र कसरी तयार ग¥यो, त्यो पनि छर्लंग नभएको हुन सक्तैन । नेपालको राजकाज र सत्ता सञ्चालनका छिद्रहरूबाट हुने चुहावटको हेक्का पनि उनलाई भन्दा बढी कसलाई थाहा होला र ? तर त्योभन्दा बढी कसले, कहाँबाट, कसरी गठबन्धनको चुकुल खुस्काउन सक्छ, त्यसको ज्ञान र अनुभवले उनलाई ठोस कदम चाल्नबाट रोक्छ ! वास्तवमा त्यो उनको बाध्यता हो । बाध्य पार्ने वाक्य चाहिँ उही हो– जिवितं…….
संक्षेपमा भन्नुपर्दा उनीसँग ज्ञान, अध्ययन र अनुभव तीनैथरीको भण्डार छ । तिनको प्रयोगको कला र सीप पनि छ । तर ती सबै, कर्णलाई सुतपुत्र भनेर ब्रम्हास्त्रको सर्वोत्तम ज्ञान र सीपको प्रयोग नगरी नहुने बेला त्यो वाण विद्या र प्रयोग कला दुवै भुसुक्क बिर्सने श्राप द्रोणाचार्यले दिएको जस्तै देउवालाई पनि ज्ञान र सीपको प्रयोगभन्दा पहिले कुनै श्राप परेको छ कि भन्ने शंका धेरैलाई लाग्न सक्छ । त्यो अस्वाभाविक पनि होइन ।
जिवितं किम नदृश्यते श्लोकले उनलाई कठोर कदम चाल्नबाट रोक्छ
तर उही जिवितं किम नदृश्यते श्लोकले उनलाई कठोर कदम चाल्नबाट रोक्छ । त्यस्ता कदमको सम्भाव्य परिणाम झलझली उनका आँखा अगाडि नाच्न थाल्छ, तब उनी हतप्रभ हुन पुग्छन् । सबैलाई समेट्न र आफ्नो बनाउन खोज्दा सेटिङवालाहरूले सर्वनाश गरिसकेका हुन्छन् ।
उसबेला प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोगी दलका तर्फबाट सघाउने नेता थिए– सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र गजेन्द्रनारायण सिंह । अहिलेका सारथि हुन्– माओवादीका पुष्पकमल दाहाल प्रचण्ड, समाजवादी एमालेका माधव नेपाल, लोकतान्त्रिक समाजवादीका उपेन्द्र यादव । उहिलेका सहयोगीहरू कपटी र दोधारे त थिए तर नांगै हिँड्न चाहिँ लजाउँथे ।
अहिलेका सारथिहरू आफैंले हाँकेको गठबन्धन सरकारको प्रधानमन्त्री पदमा देउवालाई एक क्षण पनि टिकाइ राख्न चाहदैनन् । त्यो आसनमा आफैं विराजमान भएको हेर्न लालायित छन् । तर त्यस्तो स्वीकार्य स्थिति खडा गर्न पनि उनीहरू असमर्थ छन् । उनीहरूसँग न समय छ, न परिस्थितिको साथ । त्यसको अर्थ भयो, मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ, भन्ने गीत सम्झँदै उनीहरू देउवालाई टिकाउन बाध्य छन् । देउवा पनि उनीहरूको नखरा उठाउन र बुहार्तन झेल्न विवश छन्, किनभने जिवितं किम नदृश्यते श्लोक, उनको दिमागमा क्लिक गरिरहन्छ ।
प्रतिक्रिया