देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हैजा : सतर्कता अपनाऊ


सधैंजसो नेपालमा वर्षायाममा फाट्टफुट्टरूपमा हैजाका बिरामीहरू देखा पर्ने गरेकै हो । तर, यसपालि लामो समयसम्म काठमाडौंको फोहोर नउठ्नाले त्यसबाट उत्पन्न कीटाणुका कारण हैजा देखिएको उपचारमा संलग्न चिकित्सकहरूले अनुमान लगाएका छन् । हैजा मानिसमा सबैभन्दा चाँडो सर्ने सरुवा रोगमध्येको एक हो । फोहोरबाट चुहिएर खानेपानीमा मिसिएका कारण देखिएको हैजालाई सरकारले समयमै नियन्त्रण गर्न सकेन भने, यसले महामारीको रूप लिन सक्छ । त्यसैले सरकारले जनमानसमा चेतना फैलाउने र आफ्ना संयन्त्रहरूलाई परिचालन गरी नियन्त्रण गर्नतर्फ लाग्नु पर्ने भइसकेको छ । किनभने अझैं वर्षा सकिएको छैन भने काठमाडौं उपत्यकाको फोहोरको स्थायी समाधान पनि भएको छैन ।

स्थानीयको अवरोधका कारण सिसडोलमा फोहोर व्यवस्थापन हुन नसक्दा त्यसको प्रभाव पानीका स्रोत हुँदै घरघरसम्म देखिन थालेको छ । वर्षात्को समय हुँदा यहाँको खानेपानीदेखि ढल एउटै पाइपबाट आउँदा आम मानिसका घरका धाराहरू स्वच्छ र स्वस्थ पनि छैनन् । फोहोर व्यवस्थापन नहुँदा चोकचोकमा जाम भएर बसेको अवस्थामा वर्षात्को समयमा पानी पर्दा ती फोहोरहरू रसाएर घरका धारामा आइपुग्छन् । काठमाडौं उपत्यकामा स्वस्थ खानेपानीको पनि अभाव भएका कारणले गर्दा पनि पछिल्लो समय हैजाका बिरामीहरू देखा पर्न थालेका छन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको मात्रै तथ्यांकलाई हेर्ने हो भने दिनदिनै हैजाका बिरामीहरूको संख्या बढ्दै गएको छ । त्यसले काठमाडौं उपत्यकामा महामारीको रूप लिनसक्ने देखिएको छ । अहिले टेकुमा मात्रै नभई अरू सरकारी अस्पतालहरूमा पनि हैजाका बिरामीहरू बढ्न थालेपछि यतातर्फ ध्यान दिन जरुरी पनि रहेको छ । हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियमको कारणले हुने सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ । तारन्तार दिसा र बमन भइरहने एक संक्रामक रोग भएकाले सरसफाइमा ध्यान दिन एकदमै जरुरी रहेको छ ।

बान्ता हुने तथा मांसपेशी बाउँडिनेजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँदा गम्भीर अवस्थामा पुर्‍याउन सक्छ । यो रोग प्रायः भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने भएकाले सरसफाइको अभाव, सफा पिउने पानीको अभाव तथा गरिबीले यसको जोखिमलाई बढाउने गरेको छ ।

काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यको चाप र स्वस्थ खानपानको अभावका कारण पनि पछिल्लो समय हैजाको प्रकोप बढ्न थालेको भन्दै चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गर्दै आएका छन् । संक्रमणको दर बढ्न सक्ने देखिएको छ । त्यसतर्फ हामी सबैले ध्यान दिनुको साथै सावधानी अपनाउनु पर्ने देखिन्छ । तपाईं हामीले त्यति धेरै ध्यान नदिएको पाइएको अवस्थामा भोलिका दिनमा सयौं र हजारौंको संख्यामा पुग्दा तपाईं हामी पनि जोगिन मुस्किल पर्छ ।

सरकारले पनि हैजा नियन्त्रणका लागि तत्काल आवश्यक पहल र तयारी थाल्नुपर्ने देखिएको छ । काठमाडौं उत्यकामा नै यसको प्रकोप देखिँदासमेत सरकार विषयमा खास गम्भीर देखिएको छैन । प्रदूषित खानेबाट उपत्यकाका जनतालाई जोगाउँदै स्वस्थ खानेपानी पिउने व्यवस्था मिलाउनुको साथै यसबाट जोगिनका लागि जनचेतनामूलक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने देखिन्छ । पूर्वसावधानीका साथै आउन सक्ने आपत्कालीन अवस्थाको तयारीमा पनि सरकारले ध्यान दिनुपर्ने हुन्छ । अस्पतालहरूमा आवश्यक संख्यामा हैजाका बिरामी राख्ने वार्ड पनि निर्माण गर्नुपर्छ । हैजा सरुवा रोग पनि भएकाले यसको उपचारमा विशेष ध्यान दिन पनि जरुरी छ ।

समयमै हैजाको उपचार गर्न सकियो भने जोखिम भने कम नै हुन्छ । तर लापरबाहीले भने ज्यान जानेसम्मका घटना हुने भएकाले यसमा चनाखो हुन जरुरी छ । अहिले टेकु अस्पतालमा आईसीयूमै भर्ना भएर उपचार गराउने अवस्थामा हैजाका बिरामीहरू पुग्नुलाई निकै गम्भीर रूपमा लिन पनि जरुरी रहेको छ । सुरुमा काठमाडौंको बागबजार, बूढानीलकण्ठ र ललितपुरको सानेपाका बिरामीहरूले परीक्षण गर्दा हैजा पुष्टि भएको थियो ।

वषासँगै बागबजारसहितका क्षेत्रका घरका धाराबाट प्रदूषित पानी आएपछि त्यहााका बासिन्दा त्रसित भएका थिए भने काठमाडौं महानगरपालिकाले पनि अहिले जनचेतनाका कार्यक्रम सुरु गरेको छ । सरकारले हैजा नियन्त्रणका लागि भन्दै टोली पनि खटाइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका महामारी तथा रोकथाम नियन्त्रण फोकल पर्सन रामकृष्ण फुयाँलको संयोजकत्वमा गठन गरेको टोलीले अहिले टेकुमा उपचार गराइरहेका बिरामीको नमुना परीक्षण गरेको थियो । नमुना परीक्षण गर्दा पिउने पानीमा इकोली र कोलीफर्म भेटिए पनि अहिले सतर्कता अपनाउन जिल्ला स्वास्थ्य कार्यालयले सबैलाई आग्रह पनि गरेको छ ।

झन्डै ५० लाख जनसंख्या रहेको काठमाडौंमा यदि हैजाको प्रकोप बढ्दै जाने हो भने त्यसको प्रभाव अकल्पनीय हुन सक्छ । अहिलेबाटै हामीले सरसफाइमा ध्यान दिने र स्वस्थ खाने कुराहरू मात्रै खाने हो भने पनि हैजाबाट जोगिन सकिन्छ । अहिले काठमाडौंमा जथाभावी बिक्री वितरणका लागि ल्याएका जार र बोतलका पानीहरू पनि दूषित भएकाले यतातर्फ पनि समयमै ध्यान दिन जरुरी रहेको छ । कोरोना महामारीकालमा जसरी सरसफाइमा ध्यान दिए जसरी साबुनपानीले हात धुनेलगायतका काम गर्ने हो भने पनि केही हदसम्म यसबाट बच्न सकिने विशेषज्ञहरूले नै बताउने गरेकाले यतातर्फ पनि सबैले नियम पालना गर्न जरुरी रहेको छ ।

भिब्रियो कोलेरा नामक ब्याक्टेरियाका कारण फैलिएको हैजा होस् वा अन्य संक्रामक रोग, पूर्वसतर्कता अपनाउन सकियो भने जोगिन पनि सकिन्छ साथै चौलानी पानीजस्तो दिसा आउने, लगातार बान्ता हुने, थकाइ लाग्ने, मांसपेशी दुख्नेजस्ता लक्षण देखिनासाथ तुरुन्तै अस्पताल गएर जाँच पनि गराउन जरुरी छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार विश्वमा हरेक वर्ष हैजाका कारण डेढ लाख मानिसको मृत्यु हुने गरेको छ ।
अहिले काठमाडौंमा देखिएको हैजा फोहोरकै कारण हो । यसमा दुई मत छैन । तसर्थ हैजा नियन्त्रण गर्नका लागि स्थानीय तह, संघ र प्रदेशका सरकारले विशेष ध्यान दिनु आवश्यक छ ।