काठमाडौं । ऋषि खड्का, गायक तथा संगीतकार । उनले गाएका र संगीत दिएका दर्जनौ गीत हिट भएका छन् । चाहे लोकदोहोरी होस्, चाहे आधुनिक गीत । लोकलयमा बढी स्लो बिटका सिर्जनामा रमाउने खड्काले फास्ट बिटको गीत पनि ल्याएका छन् । जुन, संख्यात्मक हिसाबले कम छन् । ‘दाँते ओखर’यो भाका खड्काको सिर्जना हो । जुन अहिले लाइभ दोहोरीमा बढी गाइन्छ । ‘मन परेको भेना’लाई पनि उत्तिकै मन पराएको छ ।
प्युठानको माण्डवी गाउँपालिका—५ मा जन्मेका उनी २०६८ सालदेखि औपचारिक रूपमा संगीत क्षेत्रमा होमिएका हुन् । यद्यपि, उनीसँग गाउँघरमा विद्यालय तहमा होस् या समुदाय तहमा हुने दर्जनौ गायन प्रतियोगितामा प्रतिस्पर्धा गरेको र केहीमा पुरस्कृत भएको यादहरू ताजै छ । उनले पहिलो गीत ‘जान्छु परदेश’ गाए । यो गीत गाउँदा संसारकै खुसी बटुलेको गीत बजारमा आएन । उनले सम्झे, ‘पहिलो गीत गाउँदा जति आनन्द र खुसी त्यसपछि मिलेको छैन । तर त्यो गीत विविध कारणले बजारमा पठाउन सकिएन ।’ उनको बजारमा सार्वजनिक भएको पहिलो गीत ‘मेरो मुटु, मेरो धड्कन’ हो । सो गीतमा महिला गायनमा विष्णु माझीको स्वर रेकर्ड गराए ।
माझीलाई पहिलो गीत गाउन लगाउँदा २० हजार पारिश्रमिक दिएका थिए । ‘त्यसपछि थुप्रै गीतमा विष्णु दिदीसँग दुई लाख पारिश्रमिक हुँदासम्म सहकार्य गरे ।’ उनले भने । उनले गाएका दर्जनौं गीत हिट छन् । ‘अधुरो प्रेम’, ‘मेरो माया तिमीलाई अर्पण गरेको छु’, ‘ए नि बरै’, ‘राजारानी’, ‘सुन सबैले सुन’, ‘मायालु’, ‘फक्रिएको फूल’, ‘तिम्रो रूपैले मच्चायो धमाका’, ‘जहाजै चढेर’, ‘कुन मन्दिरमा धाउँ’, ‘पिपलुमा जल चढाउँ है’, ‘ती तिम्रा नजर रसाए’लगायतका गीतलाई दर्शक श्रोताले मन पराएका छन् ।
गायक तथा संगीतकार खड्का आधुनिक संगीतमा पनि उत्तिकै प्रखर मानिन्छन् । ‘कस्तो भाग्य’बोलको गीतबाट आधुनिक विधामा होमिएका उनी सफल मानिए । ‘ए जिन्दगी’, ‘पत्थरको मुटु’, ‘मायाको भिख’, ‘झुटो माया’, ‘कञ्चन’जस्ता गीतले दर्शक श्रोताको माया पाएका छन् । संगीतकार खड्काले भने, ‘लोक विधामा मात्रै खुम्चन मन लागेन । सकिन्छ भने गरौँ भन्ने भावले आधुनिक संगीत सुरु गरे । दर्शक श्रोताको माया र प्रतिक्रियाले अघि बढेको छु ।’
परदेशी भावनाको पहिलो रेकर्डिङ गरेका खड्कालाई परदेशी कथा फाप्यो । उनले ‘ए परदेशी’को पहिलो भागले सफलता पाएपछि अहिले सिक्वलको रूपमा भाग ७ सम्म गीत बजारमा ल्याए । गीतसंगीतको व्यापार र आम्दानीबाट संगीतकार खड्का सन्तुष्ट छन् । ‘प्रविधिको सदुपयोग गर्न सके कमाउन सकिने प्लेट फर्म थुप्रै छन् । राम्रो कमाउन सकिन्छ ।’ उनले थपे, ‘युट्युबको अलावा पनि टिकटक, सीआरबीटी, पीआरबीटीसहित विभिन्न विश्वबजारसम्म पुग्ने अडियो प्लेट फर्म छन् । गीत चल्दा लाखौँ हात पार्न सकिन्छ ।’ रोयल्टी संकलन समाजबाट राम्रै रकम हात पारेका उनले राम्रो काम सुरुवात भएको बताए । आम्दानीको स्रोत थपिनु वा संगीत क्षेत्रको व्यवस्थापनले संगीतमा संघर्ष गरिरहेका र नवप्रवेशीलाई आशा र प्रोत्साहन मिल्ने उनको भनाइ छ ।
काठमाडौँमा भोकै बसेकोदेखि सडकमा सुतेको कथा सुनाउने संगीतकार खड्काले पाँच वर्ष दोहोरी साँझमा काम गरे । दोहोरी साँझको भीडमा ४–५ साँझमा गीत गाएर परीक्षा दिएपछि पसपार्क क्षेत्रको कालिञ्चोक दोहोरी साँझमा काम पाए । दोहोरी साँझ किन छाड्नु भो भन्ने प्रश्नमा खड्काले भने, ‘मैले सिर्जनालाई प्राथमिकतामा राखे । दोहोरीमा काम गरेपछि दिउँसोसम्म सुत्नुपर्ने, आराम गर्नुपर्ने हुन्छ । त्यसले सिर्जना मरेजस्तो ठानेर सिर्जनाका लागि दोहोरी साँझ छाडे ।’ उनले दोहोरी साँझप्रति निकै सम्मान भाव रहेको बताए । ‘दोहोरी साँझ सिकाइको थलो हो । सोही प्लेटफर्मबाट सघर्ष गरेका कलाकारनै स्थापित बनेका छन् । मेरो आफ्नो कुरा गर्दा मादल, हार्मोनियम, गायन नै दोहोरी साँझबाटै सिक्ने अवसर पाएँ ।’ उनले थपे ।
संगीतकार खड्काले १२ वर्षको अवधिमा केही अवार्डहरू पनि हात पारेका छन् । उनले १२औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, नेसनल एपिक म्युजिक अवार्ड, नेसनल फेस्टिबल म्युजिक अवार्ड र एपिक नेपाल म्युजिक अवार्ड जितेका छन् । ‘अवार्डहरूको भीडमा किनबेच हुने अवार्ड प्रशस्त छन् ।’ उनले भने, ‘पाएका अवार्डहरू पैसा खर्च नगरी पाएको हुँ ।’ वास्तविक सिर्जनाले अवार्ड पाउँदा खुसी लाग्ने र सर्जकको उपलब्धि नै दर्शकको माया र सम्मान रहेको उनले बताए ।
प्रतिक्रिया