देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बैतडीमा विद्युतीय भुक्तानी सेवा सुरु

देशान्तर

काठमाडौं – बैतडीमा पहिलो पटक विद्युतीय भुक्तानी ‘क्यास लेस’सेवा सुरु भएको छ। ‘क्यास लेस’को अवधारणा अन्तर्गत दशरथचन्द नगरपालिकाले विद्युतीय भुक्तानी सुरु भएको हो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली मार्फत भुक्तानी प्रणालीको सुरुआत तथा विद्युतीय भुक्तानी गर्ने बैतडीको पहिलो पालिका बनेको नगरपालिकाका लेखापाल रामबहादुर चन्दले जानकारी दिए ।

यस्तै विद्युतीय भुक्तानी गर्ने सुदूरपश्चिमको सातौँ स्थानीय तहसमेत दशरथचन्द बनेको छ । उनले भने,“ विद्युतीय भुक्तानी प्रणाली सुरु भएपछि अब सेवाग्राहीलाई समेत सजिलो हुन्छ । चेकमार्फत कारोबार झन्जिटलो हुँदै आएकोमा अब त्यसो हुने छैन् ।”अब नगरपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधैँ भुक्तानी लिनेको खातामा जम्मा हुने जनाइएको छ ।

महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा दशरथचन्दले असारमै विद्युतीय भुक्तानी सुरु गरेको हो ।सुत्र प्रणालीका आधारमा विद्युतीय भुक्तानी गर्ने विषयमा कोष तथा लेखानियन्त्रण कार्यालयले जिल्लाका स्थानीय तहका लेखापाललाई तीन दिने तालिमसमेत दिएको थियो ।

विद्युतीय भुक्तानी सुरु भएसँगै उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य भएको लेखा अधिकृत उद्धवदेव भट्टले बताए । उनले भने,“विद्युतीय प्रणालीमार्फत हुने भुक्तानीले सेवा सहजताका साथै सुशासन कायम गर्न सहयोग मिल्छ । अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि नगरपालिका धाउनुपर्ने समस्याको समेत अन्त्य भएको छ । ”

विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने दशरथचन्द नगरपालिका प्रमुख पुस्करराज जोशीले बताए । छिटोछरितो, भरपर्दो र विश्वनीय लेखाङ्कन र प्रतिवेदनका लागि सुत्रको महत्वपूर्ण योगदान रहेको जोशीको भनाइ छ ।