देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘परान बाँकी छ’काे चर्चा नसेलाउदै ‘बर्खामास’

देशान्तर

काठमाडौं । दोहोरी गीत ‘परान बाँकी छ’ को चर्चा नसेलाउँदै गायक तथा सर्जक विष्णु खत्रीले अर्को गीत ‘बर्खामास’ सार्वजनिक गरेका छन् । ‘परान बाँकी छ’ करोड क्लबको यात्रामा अघि बढिरहेकै बेला अर्को गीत सार्वजनिक गरेका हुन् । ‘बर्खायामको विषयमा बनेको गीत अहिले सार्वजनिक नगरे अर्को वर्ष पर्खनुपर्ने भयो ।’ उनले भने, ‘छोटो अवधिमा एकपछि अर्को सृजना ल्याउँदा सफलता कमाइरहेको अघिल्लो गीतलाई असर पर्ला कि भन्ने कोणबाट पनि नसोचेको होइन् तर डिजिटल प्लेटफर्ममा फरक नपर्ने सुझाव पाएकाले ‘बर्खामास’ ल्याए ।’ नयाँ गीतलाई पनि दर्शक श्रोताले मन पराएको खत्रीले बताए ।

‘परान बाँकी छ’मा बालकलाकार सुप्रिम मल्ल र पूजा देवकोटाको स्वर रेकर्ड गराएर स्टुडियो बनाएका खत्रीले ‘बर्खामास’मा शान्तिश्री परियारको साथमा आफैंले स्वर रेकर्ड गराएका छन् । गीतले बोलेको दृश्य कैदका लागि खत्रीले सुटिङ टिम बागलुङ लगेका थिए । तीन दिनको कामपछि भिडियोले पूर्णता पाएको दाबी गरे । यो समाचार तयार पार्दासम्म ‘परान बाँकी छ’ लाई युट्युबमा ४५ लाखभन्दा बढी दर्शकले हेरेका छन् भने ६९ हजार लाइक र ३५ सय बढी कमेन्ट बटुलेको छ । ट्रेन्डिङ नं १ सम्म पुगेको गीत अहिले ट्रेन्डिङ लिस्टबाट बाहिरिएको छ । तर दैनिक राम्रो भ्युज बटुलिरहेको छ ।

अहिले ‘बर्खामास’बोलको गीत ट्रेन्डिङमा उक्लिएको छ । यो समाचार तयार पार्दासम्म २ लाख ५० हजार भ्युज पाएको छ भने युट्युब ट्रेन्डिङको २४ नम्बरमा छ । विष्णु खत्रीको शब्द र भाकामा तयार भएको गीतलाई प्रिज्ममा रेकर्डिङ गरिएको हो । काजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा तुलवीर थापा र पूजन घिमिरेले स्क्रिन सेयर गरेका छन् । बाग्लुङको गल्कोट (हरिचौर)मा छायांकन गरिएको भिडियो राम केसीले खिचेका हुन् भने अमृत चौलागार्इंको सम्पादन रहेको छ ।

यसअघिको गीत ‘परान बाँकी छ’ को स्टुडियो भिडियो र गीतलाई दर्शक श्रोताले मन पराएपछि यस गीतका सर्जक तथा निर्माता विष्णु खत्रीले अफिसियल भिडियो बनाउने घोषणा गरेका छन् । उनले शनिबार सामाजिक सञ्जालमा लेख्दै ‘परान बाँकी छ’को अफिसियल भिडियो बनाउने निष्कर्षमा पुगेकाले त्यतिन्जेलसम्म लाइभ दोहोरीमा भाका प्रयोग नगर्न आग्रह गरेका छन् ।

क्यासेट, सीडी, सीआरबीटी–पीआरबीटी र युट्युबसम्म खत्रीका सिर्जना अब्बल मानिएका छन् । ‘घडी हातैमा’बाट गायन र सिर्जनाको यात्रा सुरु गरेका उनले ‘जम्मु काश्मीर’ गीतबाट सफलता मिल्दै गयो । उनी भन्छन्, ‘लाहुरेको पीडा समावेश गीत ‘जम्मु काश्मीर’गीत ल्याएपछि पछि फर्केर हेर्न परेन । त्यसपछि एकपछि अर्को गीतलाई मन पराइयो । मेरो गीत डिमान्ड हुन थाल्यो । अहिलेसम्म पनि सिर्जनामै तल्लीन छु ।’

मायापिरतीमा आधारित गीतबाहेक पनि खत्रीले ‘अन्तरजातीय बिहे’, ‘भरिया दाइ’, ‘किसानी दाइ’लगायतका महिला हिंसा र देश जनताका दुःख बोल्ने सृजना गरे । जुन गीतलाई श्रोता दर्शकले रुचाइदिए । बर्खायाम र दसंैंतिहारका गीत पनि उत्तिकै संख्यामा सार्वजनिक गरेका उनले शिक्षाले सिर्जनामा ठूलो भूमिका खेलेको बताए । डबल डिग्री गरेका उनी गीत लेखनमा शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन् ।