देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फामा पंकजले जिते गणेश थापा हावी

देशान्तर

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्व चयनका लागि भोलि (सोमबार) हुने चुनावमा अध्यक्षमा ३ जना उम्मेदवार रहे पनि मुख्यरूपमा हालका अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङबीच प्रतिस्पर्धा हुने देखिएको छ । ८४ जना मतदाता रहेको एन्फामा अध्यक्षका लागि तेस्रो उम्मेदवारराजीव पौडेल भने अत्यन्त कम मतदाताको रोजाइमा पर्ने देखिएको छ ।

एन्फाको राजनीतिमा लामोसमयदेखि सँगै रहेका वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने २१ सदस्यीय कार्यसमितिमा प्यानल नै बनाएर अघि बढेका छन् । विगतमा गणेश थापाविरुद्ध एक भएर मैदानमा रहेका शेर्पा र नेम्बाङबीच वर्तमान कार्यसमितिमा भने पानी बाराबारको अवस्था छ । गणेश थापाले गरेको अनियमितताविरुद्ध एकजुट रहेका दुई जना कार्यशैलीका कारण एक अर्काप्रति अहिले आक्रामक छन् । पछिल्लो कार्यकालमा शेर्पालाई अध्यक्ष निर्वाचित गराउनभूमिका खेलेका नेम्वाङले ६ महिनापछि नै साथ छोडेर आफ्नो गुट बनाउन लागि परेका थिए ।

कांग्रेसका तत्कालीन मन्त्री नरेन्द्रविक्रम नेम्बाङका छोरा पंकजले राजनीतिक शक्ति देखाएर फुटबलमा अघि बढ्दै गुट निर्माण गर्न सक्रिय भएका बेला कर्मा भने फुटबललाई चलायमान बनाउनका लागि लागिपरेका थिए ।

अहिले कर्मालाई पराजित गर्नपंकज गणेश थापालाई नै गुरु मानेर अघि बढेका छन् । पंकजका २१ मध्ये ११ जना उम्मेदवार थापा पक्षका छन् भने पंकज विजयी भएमा थापाकै दुईमध्ये एक छोरालाई एन्फामा प्रवेश गराएर रजगज गराउने सहमति भएको पनि बताइएको छ ।अध्यक्षका उम्मेदवार पंकजले आफू फुटबलको परिवर्तनका लागि उम्मेदवार बनेको बताउँदै थिति बसाउनका लागि पहल हुने बताएका छन् ।

उता कार्यसमितिमा पुनः दोहोरिने तयारीमा रहेका कर्माले आफूले अघिल्लो कार्यकालमा राम्रो काम गरेकाले प्रतिनिधिले भोट दिने दाबी गर्छन् । फुटबललाई चलायमान गराएको, आर्थिक नियमावली तयार गरेको लगायतका फेहरिस्तहरू सार्वजनिक गर्दै आफ्नो यो चुनावमा कसैसँग प्रतिस्पर्धा नहुने बताए ।