स्थानीय तहको निर्वाचन– २०७९ सम्पन्न भयो । छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा नै सम्पन्न भयो । सरकार, निर्वाचन आयोग कर्मचारी, प्रहरी, राजनीतिक दललगायत सम्बद्ध सबैको साझा प्रयासबाट निर्वाचन सम्पन्न भयो । यी पंक्ति लेखुन्जेल एकाधबाहेक लगभग मतगणनासमेत समाप्त भइसकेको छ । निर्वाचित जनप्रतिनिधिहरूले आ–आफ्नो पालिका र वडाहरूमा पदभार ग्रहणसमेत गरिरहेका छन् । त्यसैगरी जिल्ला समन्वय समितिको निर्वाचन पनि पनि सम्पन्न हुँदैछ ।
स्थानीय तह निर्वाचनमा मुलुकभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यहरूमा आउँदो पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिहरूलाई बधाईसहित सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै विजयी जनप्रतिनिधिहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दा संविधान र कानुनको अधीनमा रहेर देश र जनताको हितमा काम गर्नेछन्, कुनै पनि प्रकारको व्यक्तिगत लाभ, भ्रष्टाचार, व्यभिचार र दुराचारको काम गर्ने छैनन्, पदीय जिम्मेवारी निर्वाह गरिरहँदा आफ्नो व्यक्तिगत एवं पार्टीको छविलाई माथि उठाउने गरी गर्नेछन् । राजनीति पेसा, व्यापार वा कुनै उद्यम होइन, यो पवित्र देश सेवा, समाजसेवा र जनसेवा हो भन्ने भावनालाई आत्मसात् गर्दै काम गरून् भन्ने कामना गर्दछु ।
स्थानीय तह प्रजातन्त्रको जग हो । यो निर्वाचनले निश्चय नै प्रजातन्त्रको जगलाई थप मजबुत बनाउने काम गरेको छ । त्यसैगरी स्थानीय तह विकास र समृद्धिको रथ हो । स्थानीय तहको सबलता र सफलतामा नै विकासको गति अगाडि बढ्न सक्छ ।
देशमा व्याप्त भ्रष्टाचार र कुशासनले सिंगो नेपाली राजनीतिप्रति जनतामा चरम निराशा छ । यो निर्वाचनमा कहीँ न कहीँ त्यो निराशाको भाव लौरो, बालेन, हर्क आदिको बिम्बमा अभिव्यक्त भएको छ । यसै कारण यो निर्वाचनमा काठमाडौं महानगरलगायत मुलुकका अन्य कतिपय पालिका र वडाहरूमा कांग्रेस, एमालेलगायतका ठूला दलहरूलाई पछि पार्दै, सबैलाई चकित पार्दै स्वतन्त्र उम्मेदवारहरूले विजय प्राप्त गरे । निश्चय नै यो घटना परम्परागत राजनीतिक दलहरूका लागि ठूलै राजनीतिक सबक पनि हो ।
प्रजातन्त्रमा जनताका प्रतिनिधिको रूपमा काम गर्ने संस्था अर्थात् राजनीतिक दल अनिवार्य सर्त हो । दलको उपस्थिति बिना प्रजातन्त्रको अभ्यासको कल्पना नै गर्न सकिँदैन । सबै ठाउँमा स्वतन्त्र उम्मेदवार जितेर बहुदलीय संसदीय प्रजातन्त्रको अभ्यास हुन सक्दैन । स्थानीय तहको निर्वाचनलाई भने दलविहीन बनाउन सकिन्छ । यसको बहस पनि उठेको छ । दुनियाँका प्रजातान्त्रिक देशहरूमा यसको उदाहरण पनि छ ।
देशमा व्याप्त भ्रष्टाचार र कुशासनले सिंगो नेपाली राजनीतिप्रति जनतामा चरम निराशा छ ।
यो स्थानीय तहको निर्वाचनले काठमाडौं महानगरलगायत कतिपय पालिकाहरूमा चल्तीका प्रमुख राजनीतिक दलहरूलाई हराएर स्वतन्त्र उम्मेदवारलाई जिताउनु भनेको वर्तमान राजनीति र नेतृत्वप्रतिको चरम निराशाको प्रतिफल हो । काठमाडौं महानगरमा बालेन्द्रले ल्याएको मत बालेन्द्रका लागि भन्दा पनि वर्तमान नेतृत्वप्रतिको चरम निराशाको अभिव्यक्ति हो । यो एक प्रकारको ‘नो भोट’ हो । यो राजनीतिक दलका लागि सावधान हो, बिहानीको घण्टी हो, यो राजनीतिक दल र तिनका नेताका लागि जनताको चेतावनी हो ।
यो चेतावनीलाई दल र तीनका नेताले बेवास्ता गरे, जनभावनाअनुसार विचार, सिद्धान्त, कार्यक्रम र कार्यशैलीलाई सच्याउने, परिमार्जन गर्ने, अराजकता, भ्रष्टाचार र कुशासनको अन्त्य गर्दै देशको राजनीतिलाई लोकप्रिय बनाउनेतर्फ दल र तिनको नेतृत्व फेरि पनि चुक्यो भने जनताले यिनलाई माफी गर्ने छैनन् । यसले वर्तमान संविधान र राजनीतिक व्यवस्थाकै लागि खतराको स्थिति उत्पन्न हुन सक्छ । श्रीलंकाको जस्तो नियति नेपालले पनि भोग्नुपर्ने हुन सक्छ । अतः राजनीतिक दल, तिनका नेतृत्व र कार्यकर्ता सच्चिनु, सुध्रिनुको विकल्प छैन । यसको प्रारम्भ हालै निर्वाचित भएर आएका जनप्रतिनिधिहरूबाट हुनुपर्छ ।
सत्ता र प्रतिपक्षी दलका नेतामा चरम स्वेच्छाचारिता छ, मैले जे गरे पनि हुन्छ भन्ने दम्भ छ । त्यसैले ती दलहरूलाई खाइरहेको छ । दलहरूले आवश्यक परे राजनीतिक रोड नै करेक्सन गर्न तयार हुनुपर्छ, संविधानमा व्यापक संशोधन र सुधारको लागि पनि तयार रहनु पर्छ । यही पाराले देश चल्न अब सम्भव छैन ।
राष्ट्रिय राजनीतिका प्रमुख दलहरू र त्यसको नेतृत्व सच्चिन तयार हुनै पर्छ । तयार नभए राजनीतिको मैदान नै छोड्नु पर्ने अवस्था आउन सक्छ । धेरै बालेनहरूको उदय हुन सक्छ । जनभावनाको कदर गर्दै सच्चिन र सुध्रिन तयार भए राजनीति र नेतृत्वप्रति जनतामा बढ्दै गएको निराशा कम भई राजनीति र राजनीतिज्ञ, नेता कार्यकर्ताप्रति जनताको आकर्षण क्रमिकरूपमा बढ्न सक्छ । राजनीति लोकप्रिय बन्न सक्छ । राजनीति लोकप्रिय भए प्रजातन्त्र बलियो वन्नेछ । प्रजातन्त्र बलियो भए नेपाली राजनीतिमा लामो समयदेखि व्याप्त राजनीतिक अस्थिरता, अनिश्चितता र अन्योलताको अन्त्य भई राजनीतिक स्थायित्व प्राप्त हुनेछ र देशको अस्मिता र भविष्यप्रति केही आश्वस्त हुन सकिन्छ ।
प्रजातान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया र संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी निर्वाह गरेको दाबी गर्दै सत्तामा बसेर निर्वाचन गर्दासमेत पहिलो स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले नराम्रोसँग पराजय व्यहोरेको थियो । तर यो निर्वाचनमा भने सत्ताको नेतृत्व गरिहेको दल नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिका जितेर पहिलो स्थान प्राप्त गरेको छ । यो स्थान उसले एक्लैले प्राप्त गरेको मानिँदैन । उसले सत्तागठबन्धन दलहरूबीच चुनावी तालमेल गरेर नै यो स्थान प्राप्त गरेको हो । लगभग एक्लै चुनाव लडेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्थानीय तह निर्वाचनमा दोस्रो ठूलो दल बनेको छ भने माओवादी केन्द्र तेस्रो ठूलो दल बन्न पुगेको छ ।
नेपाली कांग्रेसले निर्वाचनमा ठूलो दल भयौं भनेर धेरै उफ्रनु, फुर्कनुको औचित्य छैन । अन्य कुनै दलको बैसाखी वा सहारा बिना आफ्नै खुट्टा उचालेर यो नतिजा ल्याएको भए, खुसी हुनु, उफ्रनु र गौरव गर्नुको औचित्य हुन्थ्यो । सत्ता गठबन्धन गर्नसम्मको एउटा प्रसंग हो तर तिनैसँग निर्वाचनमा तालमेल गर्नुको कुनै सैद्धान्तिक एवं व्यावहारिक आधार छैन । कुनै विचार र सिद्धान्त नमिल्ने, हिजो आफ्नै हजारौं कार्यकर्ता मार्ने, घाइते, अंगभंग बनाउने र लाखौंलाई विस्थापित गराउने शत्रुसँग चुनाव तालमेल गरेर जित्नुको के पौरख ! तसर्थ यो चुनाव कांग्रेसले सिट संख्याको दृष्टिले पहिलो पार्टी बनेर चुनाव त जितेको छ तर पार्टी विचार र सिद्धान्तले पराजित भएको छ । यो वैचारिक पराजयको मूल्य कांग्रेसले भविष्यमा अनन्तकालसम्म तिर्दै जानु पर्नेछ ।
प्रजातन्त्रमा आवधिक निर्वाचन सामान्य नियमित प्रक्रिया हो । चुनावमा हारजित पनि सामान्य कुरा हो । नेपाली कांग्रेसजस्तो ऐतिहासिक प्रजातान्त्रिक दलले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्न हुँदैन थियो भन्ने मेरो मान्यता चुनाव अघि पनि यही थियो, चुनावको नतिजा आएर पार्टी पहिलो दल बने पछि पनि त्यही अडान छ । त्यसैले म पुनः दोहोर्याउँछु, म यो चुनावी तामेलको पक्षमा थिइनँ । माओवादी र समाजवादीसँग तालमेल भएको पालिकाको चुनावी सभाको मञ्चमा बस्न र रोस्टममा उभिएर भाषण गर्न मलाई निकै असहज महसुस भएको थियो । कांग्रेसको एक अनुशासित कार्यकर्ता हुनुको नाताले पार्टीले तालमेल गर्ने निर्णय ग¥यो, त्यसलाई स्वीकार गर्दै भारी मन लिएर निर्वाचन अभियानमा सक्रियतापूर्वक लागियो बस् ।
राष्ट्रिय राजनीतिका प्रमुख दलहरू र त्यसको नेतृत्व सच्चिन तयार हुनै पर्छ । तयार नभए राजनीतिको मैदान नै छोड्नु पर्ने अवस्था आउन सक्छ ।
यो स्थानीय तह निर्वाचनमा तालमेल गरेकै कारण चुनावमा नेपाली कांग्रेस एक नम्बरको पार्टी भयो भनेर गौरव गर्ने पार्टी नेतृत्व र कार्यकर्ता पंक्ति पनि ठूलै छ । तर म यसलाई स्वीकार गर्ने पक्षमा छैन । एकातर्फ सबै ठाउँमा केन्द्रमा सहमति भएजस्तो इमान्दार तालमेल भएन । केन्द्रले हस्तक्षेप गरेका पालिकामा बाहेक केहीलाई छोडेर अधिकांश ठाउँमा तालमेल हुन सकेन । चुनावी नतिजाको गहिरो अध्ययन र विश्लेषण हुन बाँकी नै छ । प्रारम्भिक अध्ययनले के देखाएको छ भने नेपाली कांग्रेस एक्लै निर्वाचन लडेको भए पनि पार्टी पहिलो पार्टी नै हुने थियो । लगभग दुई सयभन्दा बढी पालिका प्रमुख कांग्रेस तामेलबिना एक्लै लडेर जितेको छ । एक्लै लडेको ठाउँमा कार्यकर्तामा उच्च मनोबल र उत्साह थियो ।
माओवादी र एकीकृत समाजवादी लगायतसँगको औचित्यहीन तालमेलले हसिया हथौडा र कलमलगायतमा भोट माग्नु र हाल्नु पर्दा कार्यकर्ताको मन कुण्ठित भएको थियो । तालमेलका नाममा कांग्रेसले एक्लै सहजै जित्न सक्ने पालिका पनि माओवादी, समाजवादीलगायतलाई छोड्न पर्दा नेपाली कांग्रेसले जित्न सक्ने दर्जनौ पालिका गुमाएको छ । निश्चयः नै तालमेलले कांग्रेसले केही जित्न कठिन हुने पालिका पनि जितेको होला, केही सिट फाइदा भयो होला । तर नेपाली कांग्रेसका लागि हारजितभन्दा मूल्य र मान्यताको राजनीति ठूलो हो, सिद्धान्तको राजनीति महान हो । विचार र सिद्धान्त छोडेर केवल सत्ताका लागि केही पालिका जित्नको लागि मात्र गरिने राजनीति कांग्रेसको राजनीति होइन । यो राजनीतिले तत्कालको लागि केही सिट त हामी जितौंला तर दीर्घकालमा हामी पराजित नै हुनेछौं ।
प्रतिक्रिया