देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संगीतको टेको, सोताङका टेक

देशान्तर

काठमाडौं । गायक तथा संगीतकार टेक नाछिरिङ सोलुखुम्बुको सोताङमा जन्मेका हुन् । एसएलसी दिएर काठमाडौं छिरेका उनले डेढ दशक संगीत क्षेत्रमा बिताएका छन् ।

उनको ‘पर्खी बस्छु’, ‘मरेर लानु के छ र’, ‘जून जस्ती माया’, ‘म कसरी जिउन सक्छु’ दर्शकश्रोताले मन पराएका गीतहरू हुन् । उनले मातृ भाषा (नाछिरिङ)को गीत पनि गाएका छन् ।

२०६० सालमा एसएलसी दिएका टेकले संगीत क्षेत्रमा लाग्नकै लागि उच्च शिक्षाको लागि राजधानी रोजे । आरआर क्याम्पसमा संगीत विषय लिएरै अध्ययन गरेका उनले संगीतमै भविष्य खोज्न छाडेका छैनन् । उनी भन्छन्, ‘डेढ दशक बित्यो । उल्लेख्य प्रगति गर्न नसके पनि थाकेको छैन ।’ साधनाबाटै एक दिन स्थापित बन्छु भन्ने सपना उनीमा छ ।

गीतसंगीतबाटै टिकिरहेका टेकलाई लाग्छ कि, साधना गरेर, सिकेर, मेहनत गर्न सक्ने व्यक्तिलाई संगीतमा भविष्य छ । ‘गीत संगीतबाटै कमाएर जमाएर विलासी जीवन जिएका दर्जनौ उदाहरण पनि छन् ।’ उनी थप्छन्, ‘जुन घरको जग बलियो हुन्छ नि, त्यही घर वर्षौवर्ष भत्किदैन । भूकम्पै आए पनि लडाउन सक्दैन् ।’

भाइरल कन्टेट लिएर बजारमा आएकाहरूलाई दिगोपनाका लागि औपचारिक शिक्षा लिनका लागि आग्रह गर्छन्, टेक । यद्यपि, उनले भाइरस प्रतिभालाई पनि सम्मान गर्छन् । पहिलो गीत रेकर्ड गरेको विगतलाई सम्झँदै टेक भन्छन्, ‘क्याम्पस पढ्न थालेपछि तीन जना साथीहरू मिलेर पुर्वेली लोकगीत रेकर्ड गराएका थियौ । त्यो बेला गीत रेकर्डका लागि १५ हजार जति खर्चिएका थियौ ।’ यद्यपि, त्यो गीत राम्रोसँग बजारमा पठाउन सकिएन । तर त्यो बेलाको रमाइलो र सन्तुष्टि बेग्लै थियो । उनी भन्छन् ।

‘पर्खी बस्छु साँझपख तारासँगै खस्यौ भने
खस्दाखस्दै यो दिल भित्र माया बनि बस्यौ भने
कति खुसी हुन्थे होला कलेजीमै बस्यौ भने
सयौं जुनी मायाको यो अँगालोमा कस्यौँ भने
पर्खी बस्छु’

कुराकानीको क्रममा हार्मोनियमको साथ लिएर ‘पर्खी बस्छु’ गाएर सुनाए । यो गीत अञ्जु पन्तको स्वरमा रेकर्ड भएको छ । टेककै संगीतमा तयार भएको गीत बस्ती राई बगरले लेखेका हुन् । उनी रोजगारीको सिलसिलामा कोरियामा छन् ।

‘गीत संगीत नशा हो । यसैमा सन्तुष्टि छ । यही त होला मजा भनेको ।’ टेक भन्छन्, ‘मेहनत गरेर कमाएको नाम र दामले दिने खुसी बेग्लै छ ।’ साधनाबाट आउने संगीतकर्मीले गुणस्तरीय काम गर्न सक्ने र उस्को चर्चा सदाबहार बन्ने संगीतकार टेकको भनाइ छ ।

गीतसंगीतको अधिकांश लगानी बालुवामा पानी हालेजस्तै देखिन्छ । त्यसकारण पनि धेरै मानिस गीत संगीतमा लगानी गर्न तर्सिन्छन् । लगानी रकम मात्रै पनि फिर्ता हुने वातावरण न्यून छ । ‘खास गीत सुन्ने हो तर प्रविधिको जमानाले गर्दा हेर्ने बानीको विकास भयो । निर्माताले अडियो मात्र तयार पारेर पुग्ने अवस्था छैन । उस्ले भिडियो बनाउनै पर्छ । त्यस्ले गर्दा लगानीसमेत बढेको छ ।’ उनले भने । गीत चल्यो भन्यो मात्रै लगानी सुरक्षित रहन्छ । नत्र, जुवा खेलेसरी हुने उनको भनाइ छ ।

मायाको चिनो मनभरि थियो
फाल्यौ कि राख्यौ नीरमाया
रंगीन संसार सजाउछु भन्थ्यौ
खस्यो कि भुल्यौ नीरमाया

दुलर्भ जन्तरेको गीत लेखन र टेक नाछिरिङको संगीतमा तयार भएको गीत रेकर्डको काम बाँकी छ । यद्यपि, कुराकानीमै एक अन्तरा गाएर सुनाए । आगामी दिनमा लोक आधुनिक गीतहरू क्रमसँगै सार्वजनिक गर्दै जाने योजना सुनाए । टेक भन्छन्, ‘म लोक आधुनिक धारबाट संगीतमा संघर्षरत छु । भोलिका दिनमा लोक आधुनिक प्रमुख रूपमा सार्वजनिक हुनेछन् । यद्यपि, पुर्वेली लोकधारलाई पनि बिर्सने छैन ।’