देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तनहुँकाे रिस्तीमा फेरि मतदान हुने

देशान्तर

तनहुँ, ३१ वैशाख

तनहुँको व्यास नगरपालिका–८ रिस्तीस्थित साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ । शुक्रबार भएको मतदानलाई रद्द गर्दै ४ जेठमा मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको व्यासका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ढुंगानाले जानकारी दिए ।

यो मतदान केन्द्रमा शुक्रबार निरीक्षणमा गएका स्वतन्त्र मेयर पदका उम्मेद्वार दिपकराज जोशीलाई कांग्रेस कार्यकर्ताले आक्रमण गरेर घाइते बनाएका छन् । उनको दमौली अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि पोखराको फिस्टेल हस्पिटल लगिएको थियो । पोखराबाट शनिबार विहान काठमाडौँस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ ।

रिस्तीको मतदान नभएसम्म व्यासको मतगणना सुरु नहुने ढुंगानाले बताए । ‘रिस्तीमा मतदान भएपछि एकैचोटी मतगणना थालिनेछ’, उनले भने । शनिबार साँझ नै नेपाली कांग्रेसले भने मतगणना सुरु गर्न माग राख्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दबाब दिएको थियो ।

नेपाली कांग्रेसका साधरण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी  समुहले जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा नेकपा एमालेसँग तालमेल गर्दै स्थानीय निर्वाचनमा होमिएको थियो । व्यासमा स्वतन्त्रको तर्फबाट मेयरमा उम्मेद्वारी दिएको दिपकराज जोशीपुत्र हुन् ।

नेकपा एमाले र गोविन्दराज जोशी समूहले रिस्तीमा पुनः मतदान गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएका थिए । नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल र गोविन्दराज जोशी समूहका तर्फबाट हरिशरण पण्डितले शुक्रबार प्रेस विज्ञप्ती सार्वजनिक गरी गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रकृया स्थगन गरी पुनः भयरहित वातावरणमा मतदान नभए मतगणनामा सहभागी नहुने चेतावनी दिएका थिए । रिस्ती गाविस भवन फेदीको मतदानस्थलको ‘क’ र ‘ख’ मा गरेर  एक हजार ५६६ मतदाता रहेकोमा ९२२ मत खसेको थियो ।